बिशेष

एमालेका मन्त्री– कामभन्दा फुर्ती धेरै

हिमालय टिभी
२०८१ पुष ५ गते २०:०६
एमालेका मन्त्री– कामभन्दा फुर्ती धेरै

काठमाडौं : नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पार्टीबाट सहभागी मन्त्रीहरूको कामको समीक्षा गर्ने भएको छ । केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा केन्द्रीय विभागका प्रमुख र सचिवहरुको बुधबार बसेको संयुक्त बैठकले पुस १५ गते भित्र सबै विभागलाई विभागीय कामको रिपोर्ट तयार गर्न निर्देशन दिएको हो ।

नेपाली कांग्रेससँगको सहकार्यमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएको ५ महिना पूरा भयो । असार १७ गते भएको सात बुँदे सहमतिको जगमा ओली असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभयो ।

३१ गते प्रधानमन्त्रीसहित सबै मन्त्रीले शपथ लिएर कार्यभार सम्हाले । यो बीचमा प्रधानमन्त्रीले मन्त्रीहरुसँग र मन्त्रीले सचिवहरुसँग कार्यसम्पादन सम्झौता गरे, तर प्रधानमन्त्री मन्त्रीको कामसँग, मन्त्रीहरु सचिवको कामसँग सन्तुष्ट हुन सकेको देखिएन । अहिले त मन्त्रिपरिषद् हेरफेरको चर्चा चल्न थालिसकेको छ । प्रधानमन्त्री ओलीको निर्देशन र अपेक्षाअनुसार मन्त्रीहरूले काम गर्न नसकेको निष्कर्षमा पुगेको एमालेले मन्त्रीको कामको समीक्षा गर्न थालेको छ । महासचिव शंकर पोखरेलले बुधबार मन्त्रीहरूको विभागीय जिम्मेवारीबारे समीक्षा गरेर पुस १५ भित्र प्रतिवेदन बुझाउन निर्देशन दिनुभयो । सरकारमा सहभागी एमाले मन्त्रीको नाम र कामबारे चर्चा गरौं-

केपी शर्मा ओली
प्रधानमन्त्री

समृद्धि र स्थायित्वका लागि कांग्रेस-एमाले गठबन्धन सरकार बनेको दाबी गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कामले पाँच महिनामा नागरिक निराश छन । असोजमा देश र नागरिक बाढी पहिरोले आक्रान्त भइरहेका बेला अमेरिका भ्रमणमा रहेका ओलीले स्वदेश फर्किएर त्रिभुवन विमानस्थलमा दिएको अभिव्यक्तिले दु:खित बनायो । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनु, चीन भ्रमण गर्नु नै प्रधानमन्त्रीको अहिलेसम्मको उपलब्धि देखियो । भारत भ्रमणको तारतम्य मिलाउनु र गठबन्धन टिकाउनमै ओलीले बढी समय खर्चनु पर्योै । यसले सात बुँदे सहमतिमा उल्लेख भएको स्थायित्व, समृद्धि, सुशासन र संविधान संशोधनको काममा ध्यानै दिन पाउनु भएन । काम नगरे पनि प्रधानमन्त्री ओलीले सपना चाहीँ देखाउनुहुन्छ है भन्ने पनि यो पटक त गलत सावित भइसकेको छ ।

विष्णुप्रसाद पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री

अर्थतन्त्र सुधारलाई आफ्नो पहिलो प्राथमिकता भएको दाबी गर्ने पटक पटक मन्त्री भएका एमाले उपाध्यक्ष अर्थमन्त्री पौडेल यही काममा असफल हुनुभयो । बजेट खर्चमा कुनै सुधार भएको छैन भने राजस्व संकलन पनि कमजोर छ । पौडेलले कोरोना बीमा, निर्माण व्यवसाय लगायत सामान्य नागरिक र व्यवसायीलाई दिनुपर्ने दायित्व समेत पूरा गर्नु भएको छैन। आफूले कार्यभार सम्हालेको केही समय बढेको शेयर बजार देखेर हौसिएका पौडेल अहिले बजारमा सुस्तता छाउँदा बजार सुधारको कुनै योजना ल्याउन समेत सक्नु भएको छैन । यतिसम्म कि नियामक निकाय नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डमा आफ्नै टिउनिङ मिल्ने व्यक्ति हुँदा समेत देखिने गरी सुधारका काम थाल्न उदासिन देखिनुहुन्छ। बजेट कार्यान्वयनमा पनि असफल साबित भएका पौडेलको कामबाट प्रधानमन्त्री समेत असन्तुष्ट हुनुहुन्छ ।

पृथ्वी सुब्बा गुरुङ
सञ्चाीर तथा सूचना प्रविधिमन्त्री

पटक पटक मन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीको रुपमा काम गरेका सञ्चाबर तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङबाट एमाले निकै आश गरेको थियो । तर काम चाहीँ सरकारको प्रवक्ताको रुपमा मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउनेमै सीमित देखिएको छ । अतिरिक्त काम भनेको विवादित अभिव्यक्ति दिनु देखियो । प्रहरी महानिरीक्षकको जीब्रो थुत्ने अभिव्यक्ति त्यसकै उदाहरण हो ।

बलराम अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री

बलराम अधिकारी यो सरकारमा पनि दोहोरिनु भयो । यो पाँच महिने कार्यकाल हेर्ने हो भने अधिकारीको उपलब्धी नै सरकारमा दोहोरिनु भएको छ । हैन भने सहकारी समस्या समाधानमा कहीं न कहीं मन्त्रीको उपस्थिति देखिन्थ्यो ।

दामोदर भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी त गुमनाम जस्तै हुनुहुन्छ । उद्योग धन्दा विगत ३ वर्षदेखि ४० प्रतिशत क्षमतामा चलेका छन् । साना तथा मझौता २० प्रतिशत उद्योग बन्द भइसके तर कसरी औद्योगिक व्यवसायिक वातावरण सुधार्ने भन्नेमा कुनै स्पष्ट योजना ल्याउन सक्नु भएको छैन । उल्टै भारतीय व्यापारी पोस्ने र नेपाली डेरी उद्योग सक्ने गरी कृषि मन्त्रालयको सहमति बेगर दूग्ध आयात खोल्न लबिङ गरिरहनु भएको छ।

देवेन्द्र दाहाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री

ओली सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको काम पनि जागिर खानेभन्दा अरु देखिएको छैन । मन्त्री भएपछि सहजीकरण गर्नुपर्नेमा अहिलेको बजेटले कुनै पनि काम गर्न नसकिने भन्दै टकटकिने गर्नुभएको छ । आफूलाई अब्बल दाबी गर्ने दाहालले आयोजना छनोट र विधि परिवर्तन नगरेसम्म काम नहुने निचोड सुनाउनु भएको छ । समयमै सडक आयोजना सम्पन्न नहुनुमा ठेकेदारकै कमजोरी देख्नुहुन्छ ।

विद्या भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

शैक्षिक पृष्ठभूमिबाटै आएको मन्त्रिपरिषद्को नयाँ अनुहार भनेर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईबाट धेरै आशा गरिएको थियो । तर भट्टराईले पनि आफूलाई काममा खरो उतार्न सक्नुभएन । शिक्षा विधेयकमा मन्त्रीको काम देखिएन । आफू सहकुलपति रहेको त्रिविमा एकपछि अर्को विवाद सतहमा आयो ।

मानवीर राई
रक्षामन्त्री

राजकुमार गुप्ता
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

रक्षामन्त्री मानवीर राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता एमालेबाटै सरकारमा सहभागी हुनुहुन्छ भन्ने त धेरैलाई थाहै छैन । तर मन्त्रीहरु प्रधामन्त्रीसँग भएको कार्यसम्पादन सम्झौता अनुसार काम गरिरहेको र पूरा गर्नुपर्ने सवै जिम्मेवारी पूरा गरिरहेको दाबी गर्छन ।

प्रधानमन्त्री, मन्त्री हुनु जागिर खानु र झण्डावाल गाडीमा हुँइकिनु मात्रै हैन । कार्यकर्तालाई लाभको पद दिलाउनु मात्रै पनि हैन, नागरिकको समस्या सुन्नु र समाधान निकाल्नु हो । अब प्रधानमन्त्री र मन्त्रीहरुले यसतर्फ पाइला चाल्ने आश गरौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *