फेरिएको विप्लव नेकपाको बाटो
![फेरिएको विप्लव नेकपाको बाटो](https://www.himalayatv.com/wp-content/uploads/2021/06/biplov.jpg)
काठमाडौं : नेपालमा राजनीतिक दल नामका उद्योग धेरै खुलेका छन । उद्योग चलाउन दलका बैठकहरु बस्छन । अनि दल नामको उद्योगबाट कुरा उत्पादन हुन्छन । तर पछिल्लो समय दल नामको उद्योगबाट कुरा मात्रै हैन, साँच्चिकै उत्पादन हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले ।
हालै कपिलबस्तुमा पार्टीको बैठक बस्यो । बैठककाे कहीं कतै चर्चा सुनिएन । तर जब डेढ सय जना केन्द्रीय सदस्य एउटै पहिरन अर्थात् ‘ड्रेसकोड’मा देखिए, त्यसपछि बैठकको चर्चा भयो । अनि नेकपाको फेरिएको रुप र व्यवहारको खोजी शुरु भयो ।
७ वर्ष अघि फर्कने हो भने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी हिंसाको पर्याय नै बनेको थियो । संघीय राजधानी काठमाडौं उपत्यकामै बम पड्काएर राजनीतिमा आफ्नो उपस्थिति देखाउन खोजेको थियो । एक पटक हेरौं
चन्द नेतृत्वले गरेको हिंसात्मक गतिविधि
२०७५ साल फागुन १० गते:
-ललितपुरको नक्खुस्थित एनसेलको मुख्यालय अगाडि बम विष्फोट
लमजुङका सिंहप्रसाद गुरुङको मृत्यु, दुई जना घाइते
-२० भन्दा बढी जिल्लामा रहेका एनसेलका बेसस्टेसनहरूमा विस्फोट र आगजनी
२०७४ साल मंसिर १२ :
-दाङको तुलसीपुरमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने चुनावी सभालाई लक्षित गरी बम विस्फोट म्यादी प्रहरी विनोद चौधरीको मृत्यु, आठ जना घाइते
२०७४ साल मंसिर १३ :
-उदयपुर क्षेत्र नम्बर २ का नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्कीमाथि बम प्रहार कार्कीसहित सात जना गम्भीर घाइते
२०७४ साल मंसिर १४ :
-सुनसरीको इटहरीमा कांग्रेसको सभा नजिक बम विस्फोट
१४ महिने शिशुसहित चार जना घाइते
२०७४ साल असार १२:
-कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पताल अगाडि चन्द समूहका कार्यकर्ता चन्दर सिंहले बोकेको बम विस्फोट, उपचारका क्रममा चन्दको मृत्यु
नख्खुमा बम विष्फोट भएको ५ दिनपछि २०७५ फागुन १५ गते चन्द स्वयम्ले विज्ञप्ति जारी गरी एनसेलमाथि भएको आक्रमणको जिम्मेवारी लिनुभयो । निहत्था नागरिक मारिएकोमा एकशब्द नखर्चेका चन्दले बमकाण्डको छानबिनका क्रममा प्रहरीले नियन्त्रणमा लिएका आफ्ना कार्यकर्तालाई रिहा नगरे आन्दोलन गर्ने धम्की समेत दिनु भएको थियो ।
उच्छृङ्खल गतिविधि गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले नेकपाको गतिविधिमाथि २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगायो । २०७७ साल फागुन २१ गते सरकारसँग तीन बुँदे सहमति भएपछि प्रतिबन्ध फुकुवा भयो ।
हिंसा, विद्रोह, क्रान्तिबाट मात्रै समाज रुपान्तरण हुने विश्वास राख्ने चन्दको नीति ७ वर्षमा निकै फेरिएको छ । पार्टीले यसअघिका बैठकले उत्पादनसँग जोडिने निर्णय गर्योा र महासचिव चन्दसहितका नेताहरु अहिले उत्पादनमूलक काममा खटिएका छन । नेता कार्यकर्ता कुनै न कुनै श्रम गर्छन । त्यसको उदाहरण हो – मंसिर २७ गते कपिलबस्तुमा भएको बैठकमा एउटै ड्रेसकोडमा देखिनु । एउटै ड्रेसकोडको चर्चा हुनुका पछाडि पार्टीले सञ्चालन गरेको गार्मेन्ट पनि हो । सरकारले प्रतिबन्धित गरेकै बेला काठमाडौंको मनमैँजुमा गार्मेन्ट सञ्चालन गरेको नेकपाले अहिले त्यसैलाई विकसित गरी पार्टी मुख्यालय कपिलवस्तुमै २५ जना दक्ष जनशक्तिसहित गार्मेन्ट सञ्चालनमा ल्याएको छ । केन्द्रीय समितिमा डेढ सय जनाले लगाएका कोट पाइन्ट र सर्ट प्रतिसेट ६ हजार रुपैयाँमा तयार भएको नेताहरुले बताएका छन । बजारबाट कपडा किनेर सिलाएको नेकपाले स्वदेशमै कपडा उत्पादन गरेर कसरी बजारीकरण गर्न सकिन्छ भनेर छलफल समेत चलाएको छ । कपडामा मात्रै हैन, परिचयमा पनि एकरुपता ल्याउन भन्दै नेकपा नेता कार्यकर्ताले नामका पछाडि सी लेख्ने गरेका छन ।
बैठकले पार्टीको संगठनात्मक जीवन, नेता/कार्यकर्ताको दैनिक जीवन सञ्चालन, उत्पादनका कार्यहरूमा जुट्न ‘नयाँ आर्थिक मार्ग’को कार्यक्रम तय गरेको छ । नयाँ आर्थिक मार्गमा श्रम र उत्पादनका लागि केन्द्रीय नेतृत्वदेखि जिल्ला, सबै जनवर्गीय संगठनलाई उत्पादनमा जोड्ने निर्णय गरिएको छ ।
‘युद्धकाल’मा सहकारी निर्माणको नेतृत्व गरेका चन्दले अहिले पनि देशभरी कार्यक्षेत्र भएको सहकारी सञ्चालन गरिरहनु भएको छ । जनकम्युन सञ्चालन गरिरहेको नेकपाले देशभरबाट २५ सय क्वीन्टल धान उत्पादन गरी संकलन गरेको छ ।
बैठकले वामपन्थी, राष्ट्रवादी, देशभक्त र लोकतन्त्रवादीबीच ध्रुवीकरणका लागि पहल लिने प्रस्ताव पारित गरेको छ । २०८४ मा हुने निर्वाचनमा भाग लिने तयारी स्वरुप निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय पनि भएको छ । यसरी नेकपाले आफूलाई परिवर्तन गरेको छ ।
प्रतिक्रिया