बिशेष

एमालेमा गुटले हैरान, तल्लो तहसम्मै मौलायो गुट

चिन्तामा नेता

२०८१ मंसिर ३० गते २०:०९
एमालेमा गुटले हैरान, तल्लो तहसम्मै मौलायो गुट

काठमाडौ : नेकपा एमालेका केन्द्रदेखि प्रदेश, जिल्ला, महानगर, उपमहानगरका प्रमुख नेताहरुले पार्टीका पछिल्ला गतिविधिप्रति चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लोपटक पार्टी केन्द्रीय कार्यालयमा भएको एक कार्यशालामा सहभागी भएका नेताहरुले पार्टीको मुल नेतृत्वदेखि ग्रासरुट सम्मका विभिन्न समस्या खुलेर राखे । उनीहरुले पार्टीको तल्लो तहसम्मै गुटबन्दी मौलाएको र यसले एमालेको मिसन ८४ समेत प्रभावित हुने आशंका गरेका छन् ।

नेकपा एमालेका प्रदेश कमिटीका पदाधिकारीहरुले पार्टीमा गुटबन्दी सुरु भएको गुनासो सुनाए । एमालेको संगठन विभागले पार्टी केन्द्रीय कार्यालय च्यासलमा हालै आयोजना गरेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुईदिने कार्यशालामा सहभागी भएका नेताहरुले नेताहरुको कार्यशैली, जीवनशैली, अनुशासन, प्रदत्त जिम्मेवारी पुरा नगर्ने, पार्टी कामभन्दा अन्य काममा व्यस्त हुने जस्ता समस्या सुनाए । केन्द्रदेखि पालिका तहसम्मका ३ सय बढी नेता कार्यकर्ता सहभागी भएको कार्यशालामा आठ समूह बनाएर १० वटा प्रश्नावलीमा छलफल गरी निश्कर्ष बुझाएका छन् ।

प्रदेश र जिल्ला स्तरका नेताहरुले गरेको गुनासोले पार्टीमा गुटबन्दीसँगै तल्लो तहसम्मै निराशाको सञ्चार भएको देखाउँछ । त्यसमाथि पार्टीका नेताहरु विभिन्न प्रकरण र विवादमा मुछिनु, विवादित व्यक्तिबाट दान लिनु र त्यसको तथ्यपरक खण्डन नहुनुले पनि केन्द्रमा मात्रै नभएर स्थानीय स्तरमा पनि एमालेमा समस्या देखिन थालेको छ । कतिपय नेताले पार्टीभित्र शुद्धीकरणको आवाजसमेत उठाएका छन् ।

अर्को मुख्य समस्या भने निर्वाचित जनप्रतिनिधि र पार्टीबीच समन्वयको अभाव रहेको जिल्ला स्तरका नेताले गुनासो गरेका छन् । यसैका कारण उपनिर्वाचनमा एमालेले अपेक्षित नतिजा ल्याउन नसकेको प्रदेश र जिल्ला तहका नेताहरुको विश्लेषण छ ।
यस्तै एमाले नेता जनताबाट टाढा हुँदै जानु पनि अर्को मुख्य समस्याका रुपमा हेरिएको छ । केन्द्रका नेताहरु जिल्ला वा पालिकामा जाँदा व्यापक छलफल नगर्नुले पनि एमालेलाई समस्या भइहेको तल्लो तहका नेताहरु बताउँछन् । हुन न महासचिव शंकर पोखरेल नै अहिले भइरहेको पार्टी गतिविधिले एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन हुन्छ भनिरहनुभएको छ ।

यस्तै पार्टी नेतृत्वप्रति आलोचनात्मक चेत राख्दा कारबाहीको भागिदार हुनुपर्ने र जसका कारण पार्टीको आन्तरिक लोकतन्त्रमै समस्या भइरहेको नेताहरुको भनाइ छ । यी समस्या समाधान नभए आगामी निर्वाचनमा पार्टीले निरन्तर क्षति व्यहोर्ने चिन्ता एमाले नेतामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *