बिशेष

एनपीएलमा सुदूरपश्चिमले बनायो एक खेल अगावै क्वालिफायरमा स्थान

हिमालय टिभी
२०८१ मंसिर ३० गते १७:५६
एनपीएलमा सुदूरपश्चिमले बनायो एक खेल अगावै क्वालिफायरमा स्थान

काठमाडौं : सुदूरपश्चिम रोयल्सले एक खेल बाँकी छँदै नेपाल प्रिमियर लिग क्रिकेटको क्वालिफायरमा स्थान बनाएको छ ।

आज भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गर्दै समग्रमा १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९ दशलमव ४ ओभरमा अलआउट हुँदै १ सय ४८ रनमा समेटियो । उसका लागि आन्द्रे गौसले ३६ रन बनाउँदा रेमन रिफरले ३३ रन बनाए ।

त्यस्तै, किरन ठगुन्नाले ३२ रन बनाउँदा दिनेश खरेलले १५ रन जोडे। सुदूरपश्चिमका स्कट कुग्लिङ्गले ५ विकेट लिए । यस्तै हरमित सिंहले २ तथा साइफ जाइबले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । उसका लागि आरिफ शेखले सर्वाधिक ४२ रनको अविजित इनिङ्स खेले ।

७० रन जोड्दा ४ विकेट गुमाएको सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले पाँचौं विकेटका लागि ४१ रनको साझेदारी गर्दै टिमलाई समालेका थिए । ऐरी १६ बलमा २० रन बनाएर आउट भए । त्यसअघि विनोद भण्डारीले १४ रन बनाउँदा ब्रान्डन म्याकमुलनले २३ रन बनाएका थिए । त्यस्तै, रहमित सिंह १३ रनमा आउट भए । पोखराका लागि कुशल भुर्तेलले २ विकेट लिँदा रेमन रेइफर, सागर ढकाल र माइकल लिस्कले समान १–१ विकेट लिए ।

आजै भएको पहिले खेलमा काठमाडौं गुर्खाजले विराटनगर किङ्सविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । जितसँगै काठमाडौंले प्लेअफ सम्भावनालाई जिवितै राखेको छ । र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा काठमाडौंले प्लेअफबाट यसअघि नै बाहिरिसकेको विराटनगरविरुद्ध एक विकेटको जित हासिल गर्यो ।

विराटनगरले प्रस्तुत गरेको ११८ रनको लक्ष्य काठमाडौंले १८ दशलमव १ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । जितसँगै काठमाडौं सात खेलबाट आठ अंक जोड्दै अंकतालिकाको पाँचौं स्थानमा छ । शीर्ष चारभित्र रहेका सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सको समान १० अंक छ भने चितवन राइनोज र कर्णाली याक्सको समान आठ अंक छ ।

चितवनले नेट रनरेटका आधारमा प्लेअफमा स्थान बनाइसकेको छ । एक खेल खेल्न बाँकी रहेको कर्णाली पनि नेट रनरेटमा काठमाडौंभन्दा अगाडि छ । यस्तोमा काठमाडौंको प्लेअफ यात्रा कर्णालीको अन्तिम खेलले निर्धारण गर्नेछ । लिग चरणको अन्तिम खेलमा कर्णालीले भोलि बिहान सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार एलिमिनेटर खेल सुरु हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *