रिवन काट्न र लालपुर्जा बाड्न व्यस्त प्रधानमन्त्री ओली
काठमाडौं : नेपालको राजनीतिक अस्थिरता, आर्थिक संकट, र नागरिकको असन्तोषको बीचमा गत असार ३० गते प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले जिम्मेवारी सम्हाल्नुभयो ।
उहाँले संसदमार्फत् सार्वजनिक गरेको ८ बुँदे समझदारीले ठूलो आशा जगाएको थियो। यसै समझदारीका माध्यमबाट उहाँले संविधान संशोधन, आर्थिक विकास, र स्थिरताको एजेन्डालाई प्राथमिकतामा राख्ने वाचा गर्नुभयो। तर, पछिल्ला दिनमा उहाँको कार्यशैली र प्राथमिकताले ती एजेन्डा हराउँदै गएको अनुभूति हुन थालेको छ ।
चीन भ्रमणका क्रममा बीआरआई बेल्ट एन्ड रोड इनिसिएटिभ फ्रेमवर्कमा हस्ताक्षर गरेर स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले भ्रमणलाई उपलब्धिमूलक भनेपनि कार्यान्वयन योजना सार्वजनिक नगर्नु एउटा ठूलो कमजोरी मानिएको छ। फ्रेमवर्कमा परेका दश परियोजनाबारे ठोस योजना सार्वजनिक गर्नुभन्दा उहाँ बाल्यकालका स्मृतिहरू सुनाउने र रिवन काट्ने कार्यक्रममा व्यस्त हुनुभएको छ। उहाँको कार्यतालिका हेर्दा देखिन्छ, मंसिर २० देखि २७ सम्मका १४ कार्यक्रममा सहभागी हुँदा अधिकांश कार्यक्रम उद्घाटन र सामान्य समारोहमै सीमित थिए।
विद्यालय भवन उद्घाटन, जग्गाधनी पुर्जा वितरण, र ताजपुरिया समाजको स्थापना दिवसजस्ता कार्यक्रममा प्रधानमन्त्रीको उपस्थिति अपरिहार्य थियो भन्ने देखिँदैन। सबैभन्दा पहिला प्रधानमन्त्री ओली चीनबाट फर्किएको एक साता कसरी बित्यो त्यो हेरौं ।
मंसिर २० गतेदेखि २७ गतेसम्म प्रधानमन्त्री सहभागी कार्यक्रम हेरौं ।
मंसिर २० गते- चीनबाट स्वदेश फिर्ता
मंसिर २१ गते- राष्ट्रपतिको उपचारबारे बुझ्न त्रिवि शिक्षण अस्पतालमा
मंसिर २३ गते- गृह जिल्ला झापा प्रस्थान
मंसिर २३ गते- मेचिनगर-४ आमडाँडीमा मानव सेवा आश्रमको भवन शिलन्यास र कार्यालय उद्घाटन
मंसिर ३२ गते- दमक-३ स्थित दकम व्यापारिक कम्प्लेक्सको उद्घाटन
मंसिर २४ गते- दमक-३ स्थित बेलडाँडी खानेपानी आयोजनाको उद्घाटन
मंसिर २४ गते- झापाको गौरादह- ४ र ५ मा जग्गाधनी पुर्जा वितरण
मंसिर २४ गते- गौरादहमा ताजपुरिया समाज कल्याण परिषद्को २९ औं स्थापना दिवसमा सहभागी
मंसिर २४ गते- एमाले झापा जिल्ला कमिटीको कार्यक्रममा सहभागी, भ्रष्टाचारविरुद्ध सडकमा आउन कार्यकर्तालाई आह्वान
मंसिर २५ गते- झापाबाट काठमाडौं फिर्ता
मंसिर २५ गते- एमाले सचिवालय बैठकमा सहभागी
मंसिर २६ गते- राष्ट्रिय सूचना आयोगका पदाधिकारीको सपथ
मंसिर २६ गते- तेह्रथुमको आठराई गाउँपालिका-४ मा भवन उद्घाटन
मंसिर २६ गते- आठराई-४ स्थित प्रणामी विद्यालय उद्घाटन र अनुगमन
मंसिर २७ गते- त्रिवि साधारण सभामा सहभागी
मंसिर २७ गते- एक कार्यक्रमका लागि ललितपुरको गोदावरीमा
मंसिर २७ गते- साँझ मन्त्रिपरिषद् बैठकमा सहभागी
मुलुकको शक्तिशाली सरकारका कार्यकारी प्रधानमन्त्रीको एक साता रिवन काट्ने र चीसो मौसममा विभिन्न जिल्ला पुगेर पारिलो घाम ताप्नेबाहेक कुन चाँही उपलब्धिमुलक छन् त ? विद्यालय भवन उद्घाटन र जग्गाधनी पुर्जा बाँड्न प्रधानमन्त्री नै जानुपर्ने हो ? र प्रधानमन्त्री सामान्य कार्यक्रमकै लागि जिल्ला जिल्ला घुम्ने शैलीमा सुधार नआए स्थिरताको भाषण दिने कांग्रेस-एमाले गठबन्धन मुलुकको विकास र समृद्धिका लागि बाधक नबन्ला भन्न सकिन्न ।
प्रतिक्रिया