आईजीपी कुँवरमाथि होला त कारवाही ?
![आईजीपी कुँवरमाथि होला त कारवाही ?](https://www.himalayatv.com/wp-content/uploads/2023/03/Basanta-KUwar_IGP-Nepal.jpg)
काठमाडौं : सहकारी प्रकरणमा हिरासतमा रहनुभएका रास्वपा सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा पुर्यााउने क्रममा प्रहरी ज्यादतीको आरोप लागेको छ ।
मानवअधिकार आयोगलेसमेत प्रहरी प्रशासनमाथि प्रश्न उठाएको छ ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई सोधपुछका लागि बोलाउँदा प्रतिनिधि पठाएर झारो टारेको भन्दै आयोग रुष्ट मात्र छैन, महानिरीक्षक कुँवरलाई कारवाही गर्नुपर्ने बताइसकेको छ । चौतर्फी दबाबमा रहेको प्रहरी प्रधान कार्यालयले चितवन जिल्ला प्रहरी प्रमुख गौतम मिश्रलाई फिर्ता बोलाउने तयारी गरेको बुझिएको छ ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरमाथि गम्भीर आरोप छ, हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेमाथि अमानवीय व्यवहार गरेको । सहकारी रकम दुरुपयोगमा छानबिनका लागि प्रहरी हिरासतमा रहनुभएका रास्वपा सभापति रवि लामिछानेको बयान थियो, चितवनमा । कास्की प्रहरी हिरासतमा रहनुभएका लामिछानेलाई मंसिर १९ गते चितवनमा बयान लिएर प्रहरीले राति पोखरा पुर्यायो ।
यतिबेला प्रहरी महानिरीक्षक बसन्त कुँवरको ठाडो निर्देशनमा मादक पदार्थ सेवन गरेका प्रहरीले लछार–पछार गर्दै मध्यरात पोखरा पुर्याएको आरोप लाग्यो । यो विषयमा राष्ट्रिय मानवअधिकार आयोगसम्मको ध्यानाकर्षण भयो । त्यही भएर प्रहरी महानिरीक्षक कुँवरलाई आयोगले सोधपुछका लागि बोलायो तर, कुँवरले आफू नगएर प्रतिनिधि पठाइदिनुभयो । उहाँको यो व्यवहार र कमजोरी फेला पारेको आयोगले सरकारलाई कारवाही सिफारिस गर्ने भएको छ । अर्थात महानिरीक्षक बसन्त कुँवरविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगले कारवाही गर्नुपर्ने मत राखेको छ । संवैधानिक अंग मानवअधिकार आयोगको सिफारिस आउने सूचना पाएको गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले बलिको बोकाका रुपमा चितवन जिल्ला प्रहरी प्रमुख गौतम मिश्रलाई उभ्याउने तयारी गरेको छ । अर्थात एसपी गौतम मिश्र हेड्क्वाटर तानिनुहुनेभएको छ ।
आइजीपी बसन्त कुँवरले दिएको निर्देशनसम्बन्धी सूचना रास्वपा निकटस्थलाई पठाएको प्रहरीभित्र आरोप खेपेका मिश्रलाई हेड्क्वाटर तान्दा सर्प पनि मर्ने लठ्ठी पनि भाँच्चिने अवस्था आउने प्रहरी महानिरीक्षक कुँवर र गृहमन्त्री रमेश लेखकको निश्कर्ष छ । तर, राष्ट्रिय मानवअधिकार आयोग भने आइजिपी कुँवरकै निर्देशनमा मध्यराति लामिछानेलाई चितवनबाट पोखरा लगिएको आफ्नो प्रारम्भिक छानबिनमा खुलेको बताउँछ । त्यसैले पनि कुँवर कारबाहीको भागिदार देखिएको आयोगको ठहर छ ।
त्यही भएर सोमबार आयोगले कुँवरलाई सोधपुछको लागि बोलाएको थियो । आयोगले कुनै घटनाविशेषका सम्बन्धमा जानकारी दिन आइजिपीलाई नै बिरलै मात्र बोलाउने गर्छ । यो घटनामा राजनीतिक प्रतिशोधको विषयसमेत उठेपछि आइजिपी स्वयंलाई बोलाइएको थियो । तर कुंवर जानुभएन बरु डिआईजी दानबहादुर कार्की र एआईजी टेक बहादुर तमाङलाई पठाउनुभएको थियो । तर आयोगले आईजिपी कुँवरसँग नै प्रत्यक्ष उत्तर खोजेको छ ।
आयोगले मंसिर २० गते विमानमार्फत पोखरा लैजाने भनिएकोमा सुत्न लागेको अवस्थामा लामिछानेलाई जबर्जस्ती गाडीमा राखेर पोखरा लगिएपछि प्रहरीको शैलीमाथि नै प्रश्न उठाएको छ। आईतवार मात्र चितवन प्रहरीले कुनै अमानवीय व्यवहार नभएको भन्दै प्रेस बिज्ञप्ती निकालेको थियो । रातरात पोखरा पठाउन पर्ने अवस्था नरहेको प्रहरी अधिकारी नै भन्न थालेका छन् । प्रहरीले यो घटनालाई कम आँकेको थियो । अमानवीय व्यवहार कुनै पनि बहानामा छोपिने स्थिति नबनेपछि अवस्था पेचिलो बनेको छ।
रास्वपा सभापति लामिछानेलाई अहिले हेर्दा प्रहरीले सामान्य दूव्र्यवहार गरेको देखिन्छ । तर प्रहरी प्रमुखलाई कारबाही गर्नु त्यती जयाज नभएको अधिवक्ता बताउँछन।
लामिछाने सहकारी ठगी कसुरमा अनुसन्धानका लागि ५४ दिनदेखि प्रहरी हिरासतमा हुनुहुन्छ । लामिछानेलाई पाँच वटा सहकारीका रकम दुरुपयोग गरेको आरोपमा अनुसन्धान भईरहेको छ। कात्तिक २ काठमाण्डौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो। अहिले लामिछानेलाई थप अनुसन्धानको लागि पोखराबाट पर्सा लगिएको छ ।
प्रतिक्रिया