त्रिविमा एमाले-माओवादीको लडाईं ?
काठमाडौं : त्रिभुवन विश्वविद्यालय, जसलाई कहिल्यै नडुब्ने ज्ञानको दीप मानिन्थ्यो, आज राजनीतिको भूमरीमा फसेको छ। शिक्षा, अनुसन्धान र प्राज्ञिक नेतृत्वको गहिरो मूलबाट सिँचित हुने अपेक्षा गरिएको यो संस्था अहिले मेरिटोक्रेसीको नाममा नाटक मञ्चन र ‘हाम्रो मान्छे’ खोज्ने राजनीतिक खेलको मैदान बनेको छ।
८ संकायका डिन र १८ क्याम्पस प्रमुख नियुक्त गर्न नसक्नुले मात्र होइन, उपकुलपति केशरजंग बराललाई लिएर एमाले र माओवादीबीचको खुला जुहारीले यो संस्था कता जाँदैछ भन्ने गम्भीर प्रश्न उठाएको छ। शिक्षा जस्तो पवित्र थलोमा दलहरूले आफ्ना एजेन्ट छिराउने होडबाजी गर्दा त्रिविको शैक्षिक गरिमा झन् कमजोर बन्दै गएको छ। यस्तो लाग्छ, देशको सबैभन्दा ठूलो शैक्षिक संस्था अब ज्ञानको केन्द्र नभएर राजनीतिक शक्तिको प्रदर्शनी स्थल बन्न पुगेको छ।
त्रिभुवन विश्वविद्यालय त्रिवि हाम्रो देशकै जेठो शैक्षिक संस्था हो। तर अहिले यो संस्था शिक्षाको केन्द्र कम, राजनीतिक द्वन्द्वको अखडा बढी भएको छ। यहाँ मेरिटोक्रेसीको नाममा दलहरूको औकात देखाउने प्रतियोगिता चलिरहेको छ।
एकातिर माओवादी केन्द्र, अर्कातिर एमाले। बीचमा त्रिवि!
त्रिविका ८ वटा संकाय डिन र १८ वटा क्याम्पस प्रमुख नियुक्ति हुन सकेको छैन। किन? किनभने उपकुलपति केशरजंग बराल आफ्नो ‘मेरिट’ देखाएर पहिलो नम्बरका सिफारिसलाई नियुक्ति गर्ने अडानमा छन्। तर, रेक्टर र रजिष्ट्रारजस्ता अन्य पदाधिकारीहरू भने दोस्रो वा तेस्रो नम्बरका ‘हाम्रा मान्छे’ नियुक्त गर्नुपर्ने भन्छन्। यो “मेरिट” र “हाम्रो मान्छे” को लफडामा विश्वविद्यालयको भित्री प्रणाली टुकुचामा बगिरहेको छ।
एमाले र माओवादीको जुहारी
एमाले महासचिव शंकर पोखरेलले उपकुलपति बराललाई ‘मेरिटोक्रेसीको नाममा भद्दा नाटक’ गरेको आरोप लगाउँदै फेसबुकमा लामो पोष्ट लेख्नुभयो । उता माओवादी केन्द्रका नेताहरूले पोखरेलको आरोपलाई खण्डन गर्दै ‘एमालेको औकात देखियो’ भन्ने स्टाइलमा जवाफ फर्काइरहेका छन् । एक पटक पोखरेलको स्ट्याटस पढौं ।
मेरिटोक्रेसी कि हाम्रा मान्छे ?
बरालको नियुक्ति माओवादीको पालामा भएको थियो। त्यतिबेला माओवादीले बराललाई ‘मेरिटको आधारमा नियुक्ति गरिएको’ भनेर खुब डंका पिट्यो। अहिले एमाले भने त्यो मेरिटोक्रेसी होइन, ‘हाम्रो मान्छे’ को खेल थियो भन्छ। अर्को गजब के छ भने, एमालेले पनि अहिले त्रिविका नियुक्तिमा आफ्ना मान्छे छिराउन दबाब दिइरहेको छ। त्यसैका लागि खासमा अहिले पोखरेल भिडिरहनुभएको छ ।
त्रिवि: शैक्षिक संस्था कि राजनीतिक रंगमञ्च
यो सबै लफडाले त्रिवि भत्किँदै गएको छ। विश्वविद्यालय प्राज्ञहरूको गणतन्त्र हो। यहाँ दलहरूको राजनीति होइन, बौद्धिक लडाइँ हुनुपर्ने हो । तर बौद्धिक लडाइँको सट्टा यहाँ अहिले राजनीतिक ‘खिचातानी’ चलेको छ। त्रिविको यो हालत हेर्दा दुख लाग्छ। ८ डिन र १८ क्याम्पस प्रमुख नियुक्त गर्न महिनौँ लाग्छ। अनि भन्नुहुन्छ, “मेरिटोक्रेसी!” कता हो कता, दलहरूले त्रिविलाई आफ्नो शक्ति प्रदर्शनको स्टेज बनाएका छन्।
त्रिवि जस्तो संस्था हाम्रो भविष्यका सितारा उत्पादन गर्ने थलो हो। तर अहिले यो संस्था शिक्षक उत्पादन गर्नभन्दा बढी दलहरूको राजनीतिक विचारधारा छिराउने अखडा बनेको छ। एमाले र माओवादी दुबैको राजनीतिक खेलले त्रिविलाई थप कमजोर बनाउँदै छ। राजनीतिक दलहरूले आफ्नो औकात देखाउन छोडेर शिक्षाको सम्मान गर्न सिक्नुपर्छ। नत्र यो संस्था सधैँ राजनीतिक खिचातानीमै डुब्नेछ। “मेरिट” होस् या “हाम्रो मान्छे,” अन्त्यमा नोक्सान देशकै भविष्यलाई हुन्छ।
प्रतिक्रिया