प्रचण्डलाई सत्ता फुत्किएपछि आयो जनताको याद
काठमाडौं : नेताहरुलाई कहिलेकाँही अचानक कार्यकर्ताको माया लागेर आउँछ । चुनाव आउँदा हात जोड्दै गाउँ पस्ने नेताहरु सत्तामा पुगेपछि भुइँमा टेक्दैनन् । तर सत्ता गुमेपछि भने फेरि कार्यकर्ताको माया लाग्न थाल्छ । अनि फेरि प्रदेशतिर, जिल्लातिर फर्किन्छन् ।
चुनावको बेलाजस्तो गाउँमै र चौतारोमै भने पुग्दैनन् । अहिले कार्यकर्तालाई माया देखाउने पालो आएको छ, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको, उहाँको देश दौडाह चुनाव लागेको छनक दिने खालकै छ ।
२०७२ मा संविधान जारी भएपछि कुनै न कुनै गठबन्धनबाट निरन्तरजसो सत्तामा रहेको नेकपा माओवादी केन्द्रका नेताहरु अहिले बल्ल देशदौडाहमा निस्किएका छन् । असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत नपाएर सरकार ढलेपछि तत्कालीन प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले अहिले काठमाडौंमा कमै भेटिनुहुन्छ ।
पहिलेपहिले पनि सत्ता बाहिर हुँदा उहाँले मधेशसँग लभ परेको भन्दै कहिले वीरगंज पुग्नुहुन्थ्यो कहिले जनकपुर । सुदूरपश्चिमसँग लभ परेको भन्दै टीकापुर वा कञ्चनपुर । अहिले फेरि प्रचण्डले कार्यकर्तासँग लभ परेको जस्तो छनक देखाउनुभएको छ ।
त्यसो त सरकार ढल्नासाथ पहिलो प्रहरमा प्रचण्डले अघिल्लो वर्ष गठन गरिएको समाजवादी मोर्चा व्यूँताउने प्रयास गर्नुभएको थियो । साउन १ गते एकीकृत समाजवादी पार्टीको कार्यालय आलोकनगरमा बैठक पनि बस्यो तर, मोर्चाको संस्थापक खम्बा जसपा नेपाल सहभागी भएन ।
त्यसयता मोर्चा व्युँतिएको जस्तो त छ तर, उठ्ने छाँट देखाएको छैन । त्यसपछि प्रचण्ड पार्टीको बैठकबाट निर्णय गराएरै जनतामाझ पुग्नुभएको छ । बुधबार साँझ काठमाडौं फर्किनुअघिसम्म उहाँले सबैजसो प्रदेशका राजधानी चाहारीसक्नु भएको छ । पार्टी प्रदेश कमिटीका बैठकमा सहभागी हुन होस् वा सभा सम्मेलनका लागि किन नहोस् ।
यही बीचमा प्रचण्डले दुई तिहाईको बल देखाए देश बंगलादेश जस्तो बन्ने चेतावनीदेखि डेटिकेटेड र ट्रंकलाइनको विद्युत बक्यौता उठाउन हालको सरकारलाई चुनौती पनि दिइसक्नुभएको छ । यी प्रचण्डका तात्कालिक आक्रोशका अभिव्यक्ति हुन् भन्ने बुझिदिउँ ।
तर कार्यकर्ताको माया भने उदेकलाग्दो गरी लागेको छ । यो बीचमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा उपमहासचिव जनार्दन शर्माको चुनौती खेपेपछि प्रचण्डले पटकपटक अपानी जारी गरेर कार्यकर्ता सम्झिनुभएको छ । सत्ता नभएको बेला शक्तिसमेत क्षिण बन्ने अवस्था आएपछि अचानक कार्यकर्ताको माया लागेर आएको प्रष्टै छ । पछिल्ला दुईवटा संसदीय निर्वाचन गठबन्धनको आडमा लडेको माओवादीलाई अहिलेसम्मको परिदृष्यले आगामी निर्वाचन असहज देखिन्छ । कांग्रेससँग गठबन्धन गर्ने सम्भावना कमजोर बनिसकेको र एमालेसँगको सम्बन्ध पनि तिक्ततापूर्ण बन्दै गएको अवस्थाले अबको निर्वाचनमा माओवादीसँग सीमित साना दलहरुमात्र हुन सक्छन् ।
गठबन्धन गरेरै लडेका विगतका निर्वाचनबाट समेत माओवादीले राम्रो परिणमाम हात पार्न सकेको छैन । त्यसकारण पनि आगामी निर्वाचन चुनौतीपूर्ण हुनेछ । त्यसो त पछिल्लो समय सबैजसो पुराना दलहरुको ग्राफ ओरालो लागिरहेको छ । यस्तोमा २०८४ को आम निर्वाचनको माहोल बनाउन पनि जनतामाझ जानै पर्ने बाध्यताका कारण अहिले प्रचण्डसहित माओवादी नेताहरु देश दौडहमा होमिएका छन् । जे होस् सत्ता नरहँदा जनता सम्झिने भूमिका माओवादीले अहिले राम्रोसँग निभाएको छ ।
प्रतिक्रिया