मधेशका खाल्डा, बालबालिकाको काल बन्दै (भिडियोसहित)
काठमाडौं : मधेशमा तीन वर्षमा डुबेर पाँच सय बढीको मृत्यु / पछिल्लो दुई महिनामै ४९ को मृत्यु / बालबालिका सबैभन्दा बढी प्रभावित मधेशमा पानी जमेका खाल्डा र पोखरीहरू बर्सेनि दर्जनौँ बालबालिका र अन्य व्यक्तिको अकाल मृत्युको कारण बनिरहेका छन्। स्थानीय सरकारदेखि प्रहरीसम्मले जनचेतनाको अभाव, अभिभावकको लापरवाही, र असंगठित विकासलाई दोषी ठहराउँछन् । तर समाधानका प्रयास भने शून्यप्रायः देखिन्छन्। मधेशका पोखरी बालबालिकाका लागि किन बन्दैछन् मृत्युको फन्दा? र यो क्रम किन रोकिएन?
Voice over :
आर्थिक वर्ष अनुसारको मृत्यु तथ्याङ्क:
आर्थिक वर्ष २०७८/०७९
– कुल मृत्यु: २०६ जना
– बालबालिका: १०९ जना
– पुरुष: ७६ जना
– महिला: २१ जना
आर्थिक वर्ष २०७९/०८०
– कुल मृत्यु: १०५ जना
– बालबालिका: ६५ जना
आर्थिक वर्ष २०८०/०८१
– कुल मृत्यु: १८५ जना
– बालबालिका: १२४ जना
– पुरुष: ४३ जना
– महिला: १४ जना
आर्थिक वर्ष २०८१/८२ पौने दुई महिनामा
कुल मृत्यु : ४९ जना
बालबालिका: ३९ जना
– पुरुष: ८ जना
– महिला: २ जना
धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा गत बुधवार साँझ तीन बालकको पोखरीमा डुबेर ज्यान गयो। गत भदौ ८ मा सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा रहेको राम जानकी मठको पोखरीमा डुबेर ब्रम्हपुरी गाउँपालिका वडा नम्बर २ का ६ वर्षका अङ्कित साहको पोखरीमा डुबेर मृत्यु भयो ।
यस्ता घटना पछिल्ला केही वर्षदेखि मधेशमा दोहोरिएका छन् । पानी जमेका खाल्डा, पोखरी र तलाउमा डुबेर बर्सेनि दर्जनौँ व्यक्तिको ज्यान जाने गरेको छ । र यसबाट सबैभन्दा धेरै बालबालिकाको मृत्यु हुने गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार चालु आर्थिक वर्षको पौने दुई महिनामै आठ जिल्लामा गरी ४९ जनाको डुबेर ज्यान गएको छ। जसमध्ये ३९ जना बालबालिका छन्। यसरी ज्यान गुमाउनेमा दुईजना महिला र आठजना पुरुष रहेका छन्।
गत आर्थिक वर्षमा पनि मधेश प्रदेशका आठ जिल्लामा मात्र डुबेर १८५ जनाको ज्यान गएको थियो, जसमा १२४ जना बालबालिका थिए। तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा २०६ जना, २०७९/०८० मा १०५ जना, र २०८०/०८१ मा १ सय ८५ जनाको डुबेर मृत्यु भएको छ। यी घटनामा बालबालिकाको संख्या बढी रहेको देखिन्छ भने पुरुषहरूको संख्या पनि उल्लेख्य छ। वर्षेनि मृत्यु हुनेको संख्या बढेको भन्दै अहिले स्थानीयले आक्रोश पोखिरहेका छन् ।
पानीमा डुबेर हुने घटना जनचेतनाको कमी, अनियन्त्रित विकास, र अभिभावकको लापरवाहीका कारण भएकाे प्रहरी अधिकारीहरू बताउँछन्। मधेशका धेरै गाउँहरूमा पानीको सहज पहुँच भएका पोखरी, खाल्डा र तलाउ छन् जसमा बालबालिका नुहाउन वा खेल्न जाने गरेका छन्। यी स्थानहरूमा अभिभावकको निगरानी नहुनु, उचित पूर्वाधार र सुरक्षा उपायको कमी हुनु पनि ठूलो समस्या हो। खासगरी निर्माणका लागि खनेका खाल्डा, गिटीबालुवा निकालेर बनेका खाडल, र बाटो तथा कुलो निर्माणका लागि खनिएका खाल्डाहरूमा पानी जमेर बालबालिकाको डुबेर मृत्यु हुने गरेको पाइन्छ। कतिपय अवस्थामा ठेकेदारहरूले खाल्डा नपुरी त्यसै छाड्दा पनि यस्ता घटनाहरू हुने गरेका छन्। घटना भएको बेला प्राय: मेलमिलाप गरेर घटना सामसुम पार्ने गरिएको छ ।
मधेश प्रदेशमा डुबेर हुने मृत्युका घटना न्यूनीकरणका लागि पर्याप्त कदम नचालिएको भन्दै सरकार र स्थानीय तहको आलोचना हुँदै आएको छ। प्रदेश सरकारदेखि स्थानीय तहसम्मले यस प्रकारका घटनाको न्यूनीकरणमा खासै चासो नदिएको आरोप लागेको छ। प्रहरीद्वारा सञ्चालित ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत जनचेतना कार्यक्रमहरू भए पनि ती पर्याप्त छैनन्।
स्थानीय सरकार र प्रदेश सरकारका निकायहरूले यस्ता घटनाहरू कम गर्न प्रभावकारी कार्यक्रमहरू सञ्चालन नगरेको प्रहरीले जनाएको छ। यस्ता घटना न्यूनीकरणका लागि कुनै छलफल वा संयुक्त प्रयास नगरिएको तथ्य पनि औंल्याएका छन्।
डुबेर हुने मृत्युका घटनाहरू रोक्नका लागि तत्कालै ठोस कदमहरू चाल्न आवश्यक छ। जनचेतनामूलक कार्यक्रमहरू विस्तार गर्नुपर्छ जसमा विशेष गरी बालबालिकालाई लक्षित गरेर शिक्षा प्रदान गरियोस्। खाल्डा र पोखरीहरूमा चेतावनी बोर्ड राख्नुपर्ने, स्थानीय तहले खाल्डा पुर्ने कार्यमा चासो दिनुपर्ने, र पानी जम्नसक्ने क्षेत्रहरूको उचित व्यवस्थापन गर्नुपर्ने देखिन्छ। मधेशमा डुबेर हुने मृत्युका घटनाहरूलाई गम्भीरताका साथ लिन आवश्यक छ।
यो केवल एक व्यक्तिगत वा पारिवारिक दुःखको कुरा मात्र होइन, यो समग्र समाजको गम्भीर समस्या हो। समाज, सरकार र अभिभावकहरूले एकसाथ आआफ्नो भूमिका निर्वाह गरेर मात्र यी घटनाहरूको रोकथाम गर्न सकिनेछ। उचित योजना, समन्वय र जनचेतनाको विकासले मात्र मधेशको यो भयावह दृश्यलाई परिवर्तन गर्न सक्नेछ।
प्रतिक्रिया