अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीको रमिता
काठमाडौं : अन्तर्राष्ट्रिय विमानस्थल देशको अन्तर्राष्ट्रिय सीमानासमेत हो । यहाँ अध्यागमन कार्यालय हुन्छ, भन्सार कार्यालय हुन्छ, विदेशबाट जहाज चढेर आइपुग्नेहरु यहीँ आएर नेपाल टेक्छन्, विदेश जानेहरु यहाँबाट प्रस्थान गरेपछि अर्को देश पुग्छन् । त्यसैले अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐनासमेत हो ।
तर यही विमानस्थलको रक्षार्थ खटिएको प्रहरीले यसको मर्म बुझ्न सकेन भने वा मर्म लत्याएर अराजक बन्न थाले कस्तो देखिएला देशको दृष्य ?
पहिलो दृष्य हो, अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट विदेशिँदै गरेका एक नेपाली युवकको । परिवार, आफन्तजनले विदाई गर्दा प्रेम र सम्मानले लगाइदिएको खादा थुत्न थुतुनु पसारेर बसेको चाँहि मेरो साथी, अर्थात् प्रहरी मेरो साथी । परिवारले प्रेमले खादा ओढाएर छिट्टै फर्किने कबुल गराएर पठाएको एउटा युवकलाई प्रहरीले कस्तो व्यवहार गरिरहेको छ ? एक पटक फेरि हेर्नुहोस् ।
प्रहरीले सुरुमा हप्काएर खादा उतार्न लगाउँछ, प्रहरीको आदेश नबुझेर अलमलमा परेका युवकको खादा खोस्न आँफै पुग्छ प्रहरी । परिवार, साथी भाइ र आफन्तहरुसहित देशै छोडेर हिँड्न लागेको एउटा युवकको मनमा प्रहरीको यस्तो व्यवहारले कस्तो असर गर्छ होला ? यसबारे प्रहरीलाई कुनै प्रवाह छैन । बरु यस्ता उपद्रव व्यवहार गरेर बस्ने प्रहरीको नेतृत्वसमेत प्रहरीले होइन नागरिकले नै व्यवहार सुधार्नुपर्ने दाबी गर्छ ।
हो, नागरिकले आफ्नो व्यवहार सुधार्नुपर्छ । तर विमानस्थलभित्र खादा निषेध गरेको कुरा कति नेपालीलाई थाहा छ ? के प्रहरीले खादा लगाउन पाइँदैन भनेर सार्वजनिक सूचना जारी गरेको छ ? यही विमानस्थल होइन ? सबैभन्दा बढी खादाको प्रयोग हुने नेपालकै सबैभन्दा ठूलो अड्डा ? विदेश जाँदा होस् वा विदेशबाट आउँदा परिवारका सदस्यले खादाले नै बिदाई र स्वागत गरिरहेका छन् । विदेशी पाहुना आउँदा होस् वा विशिष्टहरुको विदेश भ्रमण किन नहोस्, यहाँ खादाकै खातहरु देखिन्छन् । अनि आम नागरिकले यहाँ कमजोरहरुका लागि खादा निषेध भएको कसरी बुझ्ने ?
विगतमा माइकिङ गरेर खादा निषेध गरिएको जानकारी गराउने गरिएको प्रहरी दाबी छ । तर विगतको माइकिङले अहिले पहिलोपटक विदेश प्रस्थान गर्दै गरेको एउटा साधारण नेपालीले कसरी थाहा पाउँछ ? यो घटनामा प्रहरी सर्वथा असंवेदनशील देखिएको छ । प्रत्येक दिन यसरी नै खादा लगाएर मलिन अनुहार गर्दै विदेशिने युवाहरु र तीनको परिवारले तिरेको करबाट तलब खानेहरुको व्यवहार सुधार हुनुपर्छ ।
अर्को घटना पनि कम लज्जास्पद छैन ।
अन्तर्राष्ट्रिय विमानस्थलमा एक पर्यटकलाई प्रस्थान कक्षमा जान नदिन तैनाथ भएका यी प्रहरी जवानले सम्भवत अंग्रेजी बुझ्दैनन् ।
नेपाल पर्यटनमा आधारित उद्योगहरुको देश पनि हो । त्यसैले पर्यटकको सेवाका लागि भन्दै सरकारले विमानस्थलमा कम्तीमा १० कक्षा उत्र्तिर्णहरुलाई यहाँ परिचालन गरेको छ । ५ सय १५ जना सुरक्षाकर्मी खटिएको विमानस्थलमा उपल्लो तह अध्ययन गरेकै १५० जना प्रहरी अधिकारी छन् । जवानदेखि हल्दारसम्म थप ३ सय ५० जना छन् । के उनीहरु सबैले अंग्रेजी जाँदैनन् ? जान्दैनन् भने तालिम दिनुपर्छ कि, त्यो सम्भव छैन भने पनि राम्रो व्यवहार त सिकाउनुपर्ने होला नि, कि होइन ?
टिकट जाँच गर्न बसेका प्रहरी जवान आफूले टिकट जाँच गर्न नजानेको दोष टिकट बोकिरहेका विदेशीलाई थोपर्न खोज्दैछन् । विदेशीले नै बलजफ्ती गरेपछि फेरि भित्र छिर्न दिएका छन् । यसको अर्थ के हो ?
अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील ठाउँमा प्रहरीले गर्ने यस्तो व्यवहारले नेपालप्रतिको दृष्टिकोण कस्तो बन्ला ? यो विषयमा कसले सोचिदिनुपर्ने हो ? गृहमन्त्री ज्यूको ध्यान पुगेको छ कि छैन कुन्नि ?
प्रतिक्रिया