Main News

बेपत्ता नागरिकको कहिले हुन्छ खोजी ?

हिमालय टिभी
२०८१ भदौ १४ गते २०:२२
बेपत्ता नागरिकको  कहिले हुन्छ खोजी ?

काठमाडौं : बलपूर्वक वेपत्ता पारिएका व्यक्तिको १४औँ अन्तराष्ट्रिय दिवस आज मनाइदैछ । नेपालमा पनि माओवादी सशस्त्र द्वन्द्वका क्रममा नागरिक वेपत्ता भएका छन् । कति वेपत्ता भए ? यसको एकीन तथ्यांक त छैन, तर सरदर १४ सय नागरिक वेपत्ता रहेको अनुमान गरिएको छ ।

वेपत्ता भएका नागरिकको परिवारले आफन्तको लास कि स्वास भन्ने जाँगर पनि मारिसकेका छन् । कारण द्वन्द्वको अन्त्य भएको १८ वर्ष वितिसक्दा पनि वेपत्ता फेला परेका छैनन्, परिवारको चित्कार कसले पो सुन्ने ?
-करिब १४०० नागरिक वेपत्ता पारेको विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुको तथ्यांक

– राज्यको तथ्यांक केलाउँदा यो संख्या अझ कम
– वेपत्ता भएका अधिकांश तत्कालीन राज्य पक्षको कोपभाजवनमा
– मारिएका सहिद र बेपत्ता पारिएकाहरुको कुल संख्या १२ हजार ३१२
– ११ हजार २२० जनाको मृत्यु, १ हजार ९४ जना बेपत्ताको सूचीमा
– २०६५ पुस ९ गते सरकारद्वारा ६ हजार ३४४ जनालाई सहिद घोषणा
-२०७५ माघ १४ मा २ हजार ८०७ जनालाई सहिद घोषणा
– नेपाल प्रहरीका १,४४८, सेनाका १,०१८, सशस्त्र प्रहरीका ३१८ र विभागका २३ जनालाई सहिद घोषणा
-वेपत्ताको खोजविनका लागि कुनै पनि सरकारले चासो दिएन
– राज्यबाट वेपत्ता पारिएका १ हजार ९४ र तत्कालीन विद्रोहीबाट ३ सय बढी वेपत्ता पारिएको पीडीतको दाबी

एकराज भण्डारी, कुनैबेलाका चर्चित माओवादी नेता । अधिवक्ता समेत । उहाँले २२ वर्षअघि आफ्नो सन्तान गुमाउनुभयो । नत उहाँको छोरा मरेको खबर आयो नत कतै छ भन्ने नै प्रष्ट खबर आयो । लास पनि छैन, श्वास पनि छ भन्ने एकीन छैन, त्यही पीडामा भण्डारी हुनहुन्छ । एउटा प्रभावशाली व्यक्तिको यो हालत छ अब भन्नुहोस्, सामान्य नागरिक जो परिवार गुमाएर पीडामा रन्थनिएका छन्, उनीहरुको हालत के होला ? यो द्वन्द्वले करिब १४ सय नागरिक वेपत्ता पारेको विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले उल्लेख गरेका छन् । तर, राज्यको तथ्यांक मात्र केलाउँदा यो संख्या अझ घट्दो रहेछ ।

वेपत्ता पारिएका व्यक्तिको परिवारका पक्षमा लडाईं लड्दै आउनुभएका भण्डारीले राज्यसँगबाट उपलब्ध गराएको वेपत्ताको संख्या त १ हजार ९४ मात्र रहेछ । वेपत्ता भएका अधिकांश तत्कालीन राज्य पक्षको कोपभाजवनमा परेको तथ्यांकहरुले देखाउँछ । माओवादीको तुलनामा सेना वा प्रहरीको नियन्त्रणमा रहेकाहरु धेरै वेपत्ता छन् ।

तथ्यांकअनुसार राज्यबाट मारिएका सहिद र बेपत्ता पारिएकाहरुको कुल संख्या १२ हजार ३१२ छ । जसमध्ये ११ हजार २२० जनाको ज्यान गइसकेको छ । एक हजार ९४ जना अहिलेसम्म बेपत्ताको सूचीमा छन् । प्रचण्ड प्रधानमन्त्री हुँदा २०६५ पुस ९ गते सरकारले ६ हजार ३४४ जनालाई सहिद घोषणा गर्यो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ माघ १४ मा दुई हजार ८०७ जनालाई सहिद घोषणा गर्यो । नेपाल प्रहरीका एक हजार ४४८, सेनाका एक हजार १८, सशस्त्र प्रहरीका ३१८ र विभागका २३ जनालाई सहिद घोषणा गरियो । त्यतिबेला सहिद घोषणा भएका अधिकांश सुरक्षाकर्मी माओवादीद्वारा मारिएका थिए । फेरि गत वर्ष प्रचण्डले सेनाद्वारा मारिएका केही माओवादी लडाकुहरुलाई सहिद घोषणा गर्नुभयो ।

र वेपत्ताको खोजविनका लागि कुनै पनि सरकारले चासो दिएन । पीडितहरुले अहिले पनि आफन्तको खोजिको माग गरिरहेका छन् । राज्यबाट वेपत्ता पारिएका १०९४ र तत्कालीन विद्रोहीबाट तीन सय बढी वेपत्ता पारिएको पीडीतको दाबी छ । विभिन्न संस्थाका तथ्यांकले पनि यो संख्या बढी भएको अनुमान गरिएको छ ।

शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन सदनबाट कानुन पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरिसक्नुभएको छ । अब चार वर्षभित्र शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्नुपर्ने छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगमा पदाधिकारी चयन प्रक्रिया शुरु हुँदै छ । द्वन्द्वमा मारिएकाको परिवारको आत्मसम्मान र वेपत्ता नागरिकका परिवारलाई आश्वस्त पार्नेगरी यी दुई आयोगले काम गर्न सक्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *