रास्वपामा मुकुल ढकाल, राजनीतिमा फुलेको बेलुन, सिन्काले फुट्यो
काठमाडौं : पार्टीको लोगो, नाम र संगठन संरचना समेत आफैंले बनाएको दाबी गर्ने मुकुल ढकाल समीक्षा प्रतिवेदनसँगै पार्टीबाट बहिर्गमनमा पर्नुभयो ।
सभापति रवि लामिछानेको कार्यशैलिमाथि प्रश्न उठाउँदै समीक्षा प्रतिवेदन पेश गरेका ढकाल महामन्त्री पदबाट निलम्बनमा पर्नुभएको थियो । त्यस निर्णयविरुद्ध निर्वाचन आयोग पुगेका ढकाललाई मंगलबारबाट त साधारण सदस्यसमेत नरहने गरी हटाइयो ।
लामिछानेकै जोडबलमा चिकित्सक पेशा छाडेर राजनीतिमा होमिनुभएका ढकाल उहाँसँगकै टसलले राजनीतिबाट हात धुनुपरेको छ । कालिकोटको रास्कोट अस्पतालदेखि रास्वपा महामन्त्रीहुँदै साधारण सदस्यबाट निकालिएका ढकालको राजनीतिक उदयदेखि पतनसम्मको श्रृंखला हेरौं ।
विवेकशील साझा पृष्ठभुमि हुँदै रास्वपाको महामन्त्री तथा प्रवक्तासम्म बन्न सफल मुकुल ढकाल मोरङको विराटनगर महानगरपालिका-३ का स्थायी बासिन्दा हुनुहुन्छ । पेशाले चिकित्सक ढकाल कालिकोटको रास्कोट अस्पतालका निर्देशक हुँदा तत्कालीन सञ्चारकर्मी हालका पार्टी सभापति रवि लामिछानेसँग चिनजान भएको थियो ।
२०७९ असार ७ गते राष्ट्रियसभा गृह भृकुटीमण्डपबाट राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेर निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिँदा २१ जना केन्द्रीय सदस्य थिए । लामिछानेले असार ९ गते प्रवक्ताको जिम्मेवारी दिएसँगै राजनीतिक वृत्तमा ढकालको चर्चा परिचर्चा शुरु भएको थियो ।
त्यसै वर्षको मंसिरमा पार्टी चुनावमा होमियो । तनहुँ र चितवनको उपचुनावसम्मको परिणामका आधारमा दल संसदको चौथो ठूलो हैसियत बन्यो । सभापति लामिछानेका सबैभन्दा निकट रहेर काम गरेका ढकालकाे इलाम उपचुनावपछि खटपट सुरुभयो ।
त्यहाँ एक लामिछाने र दुई ढकाल गुट । सत्ता र शक्तिको अभ्यासमा आफुलाई अभ्यस्त बनाइसकेका अनि राजनीतिमा जे पनि गर्न पछि नपर्ने लामिछानेको निशानामा ढकाल पर्नेक्रम शुरु भयो । २०८१ जेठ ६ गते सभापति लामिछानेकै जोडबलमा समीक्षा यात्रामा निस्किएका ढकालले महिना दिनसम्म ३८ जिल्लाका विभिन्न स्थानमा पुगेर पार्टीको धरातलीय अवस्थाको सुक्ष्म अध्ययन गर्नुभयो ।
अनि तयार भयो प्रतिवेदन । तर उक्त प्रतिवेदनसँगै लामिछाने-ढकाल विवाद चरम उत्कर्षमा पुग्यो ।
रास्वपाको नाम, झण्डा, लोगो र चुनाव चिन्हको परिकल्पनाकार अनि चुनावी सफलताको रणनीतिकार दाबी गर्ने ढकालमाथि लामिछाने पक्ष नांगो आक्रमणमा उत्रियो । लामिछानेका मनोनित उपसभापति स्वर्णिम वाग्लेले सार्वजनिक रुपमै ढकाललाई गजेडीको आरोप लगाउन भ्याउनुभयो भने अर्का उपसभापति डीपी अर्यालले ढकाल मनोरोगी भएको सम्म भन्न भ्याउनुभयो ।
अनि ढकालले पनि लामिछाने ठग र फटाह भएको आफुले प्रमाणित गर्नसक्ने धम्की दिन थाल्नुभयो । यही बीचमा ढकाललाई रास्वपाले कारबाही गर्दै महामन्त्रीबाट निलम्बन, पदमुक्त गर्दै पार्टीको साधारण सदस्यबाटसमेत हटाइसकेको छ भने ढकाल आफु लामिछाने क्लबबाट हटाइएपनि रास्वपाको महामन्त्री कायमै रहेको दाबी गर्दै आइरहनुभएको छ ।
एकाएक राजनीतिको केन्द्रमा आएर एकाएक बदनाम र अवसानको बाटोमा पुगेका ढकालको विगत कस्तो छ त ?
-२०७५ असोजमा रवि लामिछानेसँग ढकालको चिनजान र निकट सम्बन्ध
-२०७५ पुस २९ मा कालिकोटको रास्कोट अस्पताल निर्माण घोषणा, ढकाल निर्देशक
-२०७७ चैत ३१ गते रास्कोट अस्पताल सञ्चालनमा, ढकालकै भरमा लामिछानेको सक्रियता
-२०७९ असार ७ गते रास्वपा घोषणा, ढकाल केन्द्रीय सदस्य
-२०७९ असार ९ गते ढकाललाई प्रवक्ताको जिम्मेवारी
-२०७९ भदौ ७ गते ढकाललाई महामन्त्रीको जिम्मेवारी
– २०८१ जेठ ६ गते सभापतिबाट दही खाएर समीक्षा यात्रामा महामन्त्री ढकाल
-२०८१ जेठ ६ देखि असार ६ सम्म ढकालबाट ३८ जिल्ला भ्रमण र पार्टीबारे समीक्षा
– २०८१ असार १३ गते तत्कालीन उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका सभापतिलाई गृहमन्त्रालयमा प्रतिवेदन पेश
– २०८१ असार १३ गते गृहमन्त्रालयमा बसेको बैठकमा प्रतिवेदन सच्याउन ढकाललाई चेतावनी
– २०८१ असार १४ मा महामन्त्री ढकाललाई प्रष्टीकरण सोध्ने निर्णय
– २०८१ असार १९ गते केन्द्रीय समिति बैठकमा ढकालबाट मुखमा कालो टेप लगाएर विरोध
-२०८१ असार २० गते महामन्त्री तथा प्रवक्ता ढकाल निलम्बित
– २०८१ असार २० गते कार्यवाहक महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रवक्तामा मनिष झा तोकिए
– २०८१ असार २६ गते ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट बर्खास्त
– २०८१ असार २६ मा पत्रकार सम्मेलन गर्दै रवि क्लबको कारबाही नमान्ने ढकालको चेतावनी
– २०८१ साउन १३ मा आफैं आधिकारिक महामन्त्री रहेको दाबीसहित ढकालबाट निर्वाचन आयोगमा निवेदन
– २०८१ साउन १३ गते ढकाललाई पदबाट हटाएको पत्र
– २०८१ साउन ३० गते साधारण सदस्यबाट किन नहटाउने भन्दै ढकाललाई पुन स्पष्टीकरण माग
-२०८१ भदौ ११ गते रास्वपाले ढकाललाई साधारण सदस्यबाट समेत हटायो
प्रतिक्रिया