असन्तुष्टि व्यक्त गर्ने अराजक शैली
काठमाडौं : सोमवार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रमले सुदूरपश्चिमेली समुदायको गौरवलाई केही बेरका लागि ओझेलमा पारिदियो। नेपाली समाजको धार्मिक र सांस्कृतिक महत्त्वको दिनमा, केही अराजक युवाले नाराबाजी गर्दै कार्यक्रमलाई बाधा पुर्याकए ।
जसले गर्दा रमाइलो माहौललाई तनावपूर्ण बनायो। यद्यपि, प्रहरी प्रशासनको संवेदनशीलता र सजगताका कारण कुनै अप्रिय घटना भने भएन। तर यो घटना नेपाली समाजमा बढ्दो असन्तुष्टि र त्यसलाई व्यक्त गर्ने असभ्य शैलीको पराकाष्ठा बन्न पुगेको छ ।
सोमबार बिहान भृकुटीमण्डपस्थित प्रहरीको नयाँ भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको अभिव्यक्ति हो । ठीक तीन घण्टापछि प्रधानमन्त्रीको अभिव्यक्ति सार्थक सावित भयो । अनि टुँडिखेलमा यस्तो आवाज गुञ्जियो ।
प्रधानमन्त्रीले फरक कार्यक्रममा गरेको संकेत सोही दिन देखा पर्नु संयोग मान्न नसकिएला । तर यो किसिमको अराजकता पहिलोपटक भने होइन । देशभरिका विभिन्न सामाजिक, सांस्कृतिक, र खेलकुदका कार्यक्रमहरूमा यस्ता अराजक गतिविधिहरू दिनप्रतिदिन बढिरहेका छन्। चाहे त्रिवि क्रिकेट स्टेडियममा होस् वा दशरथ रंगशालामा, नेपाली युवाहरूको यो असभ्य प्रस्तुतिले देशकै इज्जतमा दाग लगाउने काम गरेको छ।
देशको वर्तमान राजनीतिक अवस्थाले युवाहरूलाई निराश बनाएको त सत्य हो। बेरोजगारी, विकासको अभाव, र नेताहरूको भ्रष्टाचारले जनताको असन्तुष्टि बढ्दै गएको छ। तर, असन्तुष्टिलाई व्यक्त गर्नका लागि पनि विधि र मर्यादा चाहिन्छ।
लोकतन्त्रको नाममा जहाँ पायो त्यहाँ अराजक शैलीमा प्रस्तुत हुनु न त सभ्य समाजको चिनारी हो न त यो कुनै समाधान हो। युवाहरूको असन्तुष्टिलाई बुझ्नुपर्छ, तर यसलाई व्यक्त गर्ने शैलीले समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ। तर, युवाहरूले अपनाएको यो असभ्य शैलीले समाजमा नकारात्मक सन्देश मात्र प्रवाह गरेको छ। जसको सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले खुलेरै विरोध गर्नुपर्योग ।
युवाहरूको यो असन्तुष्टि भनेको तात्कालिक घटना मात्र होइन। यसको जडमा लामो समयदेखि चल्दै आएको राजनीतिक अस्थिरता र नेताहरूको गैरजिम्मेवार व्यवहार छ। लोकतन्त्रका नाममा जुन छुट नेताहरूले आफूलाई दिए, त्यही छुटको नाममा अब युवाहरूले अराजकतामा रमाउन थालेका छन्। नेताहरूले आफू पदमा पुगेपछि जनताको अपेक्षालाई बेवास्ता गरेको, र देश विकासमा ठोस कदम चाल्न नसकेकोले यस्तो स्थिति उत्पन्न भएको समाजशास्त्रीको बूझाइ छ । तर, यसले गर्दा युवाहरूले असभ्यताको मार्ग अपनाउनु भनेको देशको लागि अभिषाप हो। देशका जिम्मेवार नागरिकका रूपमा, युवाहरूले असन्तुष्टि व्यक्त गर्नुपर्छ, तर त्यो मर्यादित र विधिसम्मत ढंगले गर्नुपर्ने जानकार बताउँछन् ।
अराजकता कुनै समाधान होइन। यसको दुश्परिणाम केवल अराजक व्यक्तिहरूले मात्र होइन, सम्पूर्ण समाजले भोग्नुपर्ने हुन्छ। यदि यस्तो असभ्य व्यवहारलाई समयमै रोकिएन भने, यसले नेपाली समाजको सामाजिक संरचना र राजनीतिक स्थिरतालाई गम्भीर संकटमा पार्न सक्छ। यो दस्तक भएको भन्दै मंगलबार संसदमा सांसदले यसबारेमा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।
तर अझै पनि मंगलबार भीडले किन भीम रावलविरुद्ध नारा लगाएन ? किन रावलले हात हल्लाएपछि भीड केही शान्त भयो ? किन बालेनको नारा लाग्यो ? किन प्रचण्डविरुद्ध नारा लागेन ? यो अनुत्तरित प्रश्न हुन् । तर सबैले बुझ्न के जरुरी छ भने असन्तुष्टिका लागि छुट्टै प्लेटफर्महरू छन्, र ती प्लेटफर्महरूको प्रयोग गरेर आफ्ना आवाजहरू उठाउनुपर्छ।
नेताहरूले पनि आफ्नो भूमिका पुनर्मूल्यांकन गर्नुपर्छ, र जनताको अपेक्षालाई प्राथमिकता दिनुपर्छ। तर यो घटना, नेताहरूका लागि एउटा चेतावनी हो । यदि समयमै सुधारिएन भने, यो अराजकताको चक्रले नेपाली समाजलाई गम्भीर संकटमा पार्न सक्छ।
प्रतिक्रिया