समाज

आविष्कार केन्द्रले स्वास्थ्य उपकरण मर्मत गर्ला त ?

२०८१ भदौ ६ गते २०:२१
आविष्कार केन्द्रले स्वास्थ्य उपकरण मर्मत गर्ला त ?

काठमाडौं : स्वास्थ्य मन्त्रालयले बिग्रिएर थन्किएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिएपछि कतिपयले शंका व्यक्त गरेका छन् भने कतिपयले सरहाना गरेका छन् । विभिन्न घरेलु सामग्री निर्माण र मर्मतसम्भार गर्दै आएको केन्द्रसँग मन्त्रालयले बुधबार स्वास्थ्य सामग्री मर्मत सम्भारको जिम्मा दिएको थियो ।

संघ अन्तरगत रहेका १७ वटा अस्पतालमा बिग्रिएर थन्किएका स्वास्थ्य उपकरण बनाउने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई
– मेसिन मर्मत गर्ने विज्ञताको विषयमा समेत प्रश्न
-कवाडी बन्दै गएका सामग्री दिनु र नदिनुको औचित्य नै नभएको तर्क
– १९ हजार १ सय ७४ स्वास्थ्य उपकरणको सर्वेक्षण गर्दा १८ सय २३ उपकरण बिग्रिएका
– १३ सय ६६ उपकरण बनाउन मिल्ने अवस्थाका

राष्ट्रिय आविष्कार केन्द्रलाई स्वास्थ्य मन्त्रालयले, संघ अन्तरगत रहेका १७ वटा अस्पतालमा बिग्रिएर थन्किएका स्वास्थ्य उपकरण बनाउने सम्झौता गरेसँगै प्रशंसा मात्रै होइन, केन्द्रलाई दिएको भन्दै आलोचना समेत भैरहेको छ । कतिपयले अस्पतालका मेसिन मर्मत गर्ने विज्ञताको विषयमा समेत प्रश्न उठाएका छन् । कतिपयले भने कवाडी बन्दै गएका सामग्री दिनु र नदिनुको औचित्य नै नभएको तर्क गरेका छन् । तर मन्त्रालय भने राष्ट्रिय आविष्कार केन्द्र सक्षम भएकाले नै मर्मत सम्भारको जिम्मा दिएको बताउँछ।
राष्ट्रिय आविष्कार केन्द्रसँग सरकारले सम्झौता गरेसँगै अब केन्द्रले संघीय अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिनेछ । त्यसपश्चात मर्मत सम्भव भएका उपकरण केन्द्रका प्राविधिकहरुले मर्मत गर्नेछन्। मर्मत सम्भव नभएका उपकरणको विवरण पनि केन्द्रले मन्त्रालयलाई दिनेछ । यसो हुँदा बिग्रिएका उपकरण प्रयोग हुने र नागरिकलाई सहजसेवा दिन सकिने विश्वास स्वास्थ्य मन्त्रालयको छ ।

अस्पतालको स्वास्थ्य सामग्री मर्मत सम्भारको लागि बायो मेडिकल इन्जिनीयर चाहिन्छ । अहिले राष्ट्रिय आविष्कार केन्द्रसँग ९ जना बायो मेडिकल इन्जिनीयर छन् । अब आवश्यक बायो मेडिकल इन्जिनीयर थप गरेर राष्ट्रिय आविष्कार केन्द्रले काम अगाडि बढाउनेछ ।

आर्थिक वर्ष ८०/८१ मा एडिवीको सहयोगमा एक गैह्र सरकारी संस्थाले संघीय, प्रदेश र स्थानीय गरी ८० वटा अस्पतालका स्वास्थ्य उपकरणको सर्वेक्षण गरेको थियो । १९ हजार १ सय ७४ स्वास्थ्य उपकरणको सर्वेक्षण गर्दा १८ सय २३ उपकरण बिग्रिएका पाएको थियो भने त्यसमध्ये १३ सय ६६ उपकरण बनाउन मिल्ने अवस्थाका थिए । त्यसैले आविष्कार केन्द्रसँग लामो समयसम्म सम्झौता गरेर, सबै अस्पतालको विग्रिएको स्वास्थ्य सामग्री बनाउन जोड दिनुपर्ने जनस्वास्थ्य विज्ञको भनाई छ ।
बिग्रिएर थन्किएका उपकरणको मर्मत सम्भार गर्न सरकार अगाडि सर्नु प्रशंसनीय कार्य हो । तर राष्ट्रिय आविष्कार केन्द्रले यस क्षेत्रमा नागरिकको विश्वास जगाउने गरिसकेको अवस्था छैन । जसका कारण आशंका गर्ने ठाउँसमेत प्रशस्त छ । खैर, करोडौंको लगानीमा किनेका र मर्मतको अभावमा थन्किएका स्वास्थ्य सामग्रीको व्यवस्थापनमा पनि सरकारको नजर पुग्न आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *