Main News

जनार्दन शर्माले सुप्रिमो प्रचण्डमाथि खोलेको फायर

२०८१ भदौ ५ गते २०:०६
जनार्दन शर्माले सुप्रिमो प्रचण्डमाथि खोलेको फायर

काठमाडौं : संसदको तेस्रो दलमा खुम्चिएको माओवादी केन्द्र फेरि एकपटक विभाजनतर्फ उन्मुख हो ? यसको नेतृत्व जनार्दन शर्माले गर्नुहोला ? यी प्रश्न यसकारण उब्जिएका छन् कि अध्यक्ष प्रचण्डको पार्टी सत्तामै फायर खोल्ने पूर्वकमाण्डर जनार्दन शर्माको पार्टीभित्र पटक–पटकको विमती !

नेपालका अधिकांश दलका नेतृत्व झैं प्रचण्ड पनि कम्तिमा पार्टी सत्तामाथि धावा बोल्नेलाई पटकै रुचाउनुहुन्न । तर, पूर्वकमाण्डर जनार्दन शर्माले पार्टीका ‘स्थायी’ अध्यक्ष प्रचण्डको कुर्सी नै ताकेर फायर खोलिदिनुभएको छ । त्यहीभएर प्रचण्ड हरेक भाषणमा शर्माले पार्टी फुटाउनुहुन्न भन्दै बोल्ने गर्नुभएको छ । शर्मालाई यो कुरा मन परेको छैन । पार्टी ‘हेड्क्वाटर’ अमिलो बन्दा शर्मा एमालेका भीम रावल त बन्नुहुन्न ? कि पार्टी छोड्नुहोला वा फुटाउनु होला ? माओवादीवृत्तमा चर्चा चल्न थालेको छ ।
‘अब फुटाउँदैन भन्ने नै गल्ती भइसक्यो । कहिल्यै नफुटाउनेलाई ‘अब’ भन्ने कसरी आउँछ ? जनार्दन भनेको त पार्टी फुट्न नदिने व्यक्ति हो ।’

‘म त त्यसमा (विभाजन गर्ने कुरामा) छँदा पनि थिइनँ, हुँदा पनि होइन । मैले त पार्टी बनाउने बहस सुरु गरेको छु भन्नुभएको छ ।’

‘बैठकमा अभिव्यक्त भएका कतिपय कमरेडहरूका भनाइ सञ्चार माध्यममा सार्वजनिक हुँदा त्यसले पार्टीलाई गम्भीर क्षति पुर्याभउँछ । पार्टी कमिटीमा अन्तर–जनवादको पूर्ण स्वतन्त्रता छ र हुनेछ । तर, पार्टी कमिटीभित्रका हरेक कुरा सार्वजनिक गर्नु पार्टीको सामान्य मूल्य–मान्यताको समेत गम्भीर उल्लंघन हुन जान्छ ।’

‘…विभिन्न मानिसहरुले आएर सुनाउने गरेका थिए। त्यसले यदाकदा के हो भन्ने भएको थियो। स्थायी कमिटीको अन्त्यसम्म आउँदा पार्टी फुटाउने जनार्दन शर्माको कुनै नियत र उद्देश्य छैन भन्ने स्पष्ट पार्नुभएको छ। जनार्दन शर्माले पार्टी फुटाउन खोज्यो भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्दछु। पार्टी फुट्दैन, त्यो सुनिश्चित भएको छ। अब एकतावद्ध भएर जाने हो।’

वाकीटकीमा निर्देशन दिंदै गर्नुभएका यी महानुभाव अरु कोही होइन, माओवादीका तत्कालीन सैन्य कमाण्डर जनार्दन शर्मा प्रभाकर ! शान्तिप्रक्रियाको झण्डा समातेर माओवादी संसदीय राजनीतिमा आएपछि जनार्दन शर्मा अध्यक्ष प्रचण्डका लागि बलियो खम्बा हुनुभयो । त्यसबेला प्रचण्डसँग मोहन बैद्य, बाबुराम भट्टराईहरु टसलमा उत्रिएका थिए । बलियो साथ शर्माहरुकै थियो ।

कालान्तरमा माओवादीबाट मोहन बैद्य, सीपी गजुरेल, नेत्रविक्रम चन्द विप्लवहरु बाहिरिए । त्यसपछि बाहिरिने पालो बाबुराम भट्टराईहरुको आयो । अरु कारण केही होइन, पार्टी सत्ताको कुर्सी छाड्न नचाहने प्रचण्डको नियत । प्रचण्डका गुरु, समकक्षीहरुले पार्टी छाडिरहँदा जनार्दनश शर्माहरु तैनाथीका साथ प्रचण्डको आसपास नै घुमिरहेका थिए । अब पनि प्रचण्ड परिवार र आसेपासे वरिपरि नै झुम्मिरहँदा शर्मा घेरा बाहिर पुग्दै गर्नुभयो । यसको ‘एक्ट्रिम’ बन्यो, २०७८ को पुस ।

माओवादीको महाधिवेशनमा जनार्दन शर्माले महासचिव पद खोज्नुभएको थियो, प्रचण्ड वर्षमान पुनलाई दिनेभन्दै यी दुईनेतालाई जुधाउन थाल्नुभयो अनि भाग्य चम्कियो, देवप्रसाद गुरुङको । शर्माले उपमहासचिव अस्वीकार गर्नुभयो । प्रचण्डविरुद्धको पहिलो फायर यही थियो । त्यसकोे ८ महिनापछि एउटा कार्यक्रममा शर्माले अध्यक्ष प्रचण्डलाई चुनौति दिनुभयो । विभिन्न कार्यक्रममा लगातार फायर खोल्नुभएका जनार्दन शर्माले गएको स्थायी समिित बैठकमा १४ पृष्ठ लामो प्रतिवेदन पेश गर्नुभयो । त्यसको ‘मोटो’ थियो, प्रचण्डले पार्टी नेतृत्व छाड्नुपर्ने । यहीबाट सुरु हुन्छ, प्रचण्ड र प्रभाकर ‘दोहोरो भिडन्त’ ।

यो भिडन्त नभएर सामान्य छलफल मात्र भएको माओवादी नेताहरुले बताइरहँदा शर्मा आफैं भने अनलाइन खबर डटकमसँग जबरजस्त पार्टी फुटाउन लाग्यो भनेर नेतृत्वबाटै आरोप लगाउने गरेको गुनासो गर्नुहुन्छ । के माओवादीले प्रभाकरलाई कारवाही गर्नै लागेको हो त ? कि पार्टी फुटाओस् भन्ने लागेको हो ? माओवादी नेताहरु यसो होइन, पार्टीभित्रको सामान्य छलफल हो भन्छन् ।

शर्माको अनलाइन खबर डटकमको अन्तरवार्ताले अब शर्माले पार्टी फुटाउँदैन भन्नुले पहिले फुटाउन लागेको हो भन्ने अर्थ लाग्ने टिप्पणी छ । शर्माको यो टिप्पणी हेरौं ।

अध्यक्ष प्रचण्ड र महासचिव देवप्रसाद गुरुङले पठाएको सर्कुलरमा पनि पार्टीभित्रको विमित सञ्चारमाध्याममा सार्वजनिक हुनु पार्टीको सामान्य मूल्य–मान्यताको गम्भीर उलंघन भएको उल्लेख छ । सर्कुलरमा के छ ?

यो सर्कुलरले १४ पृष्ठ लामो जनार्दनश शर्माको फरक मत कसरी सञ्चारमाध्यामको हातमा पुग्यो ? अहिले यो प्रश्नले जनार्दनमाथि कारवाहीको बाटो राखिएको त होइन ? प्रश्न आएको छ । नेतृत्वसँग जोरी खोजेका पूर्व कमाण्डर प्रभाकरका लागि तीन वटा विकल्प रहने चर्चा सुरु भएको छ ।

पहिलो : एमालेका भीम रावल जस्तै फुर्सदिलो बन्ने
दोस्रो : माओवादी छाडेर अर्को पार्टीमा प्रवेश गर्ने
र, तेस्रो : पार्टी फुटाउने

यी तीन विकल्पमध्ये कुनलाई रोज्नुहोला शर्माले ? यो उहाँको निजी विवेकमा भर पर्छ । तर, उहाँको प्रस्तावपछि माओवादीमा भइरहेको मत विभाजन, अध्यक्ष प्रचण्डले सहजै स्वीकार नगरिरहेको अवस्था, सर्कुलर नै जारी गरेर पार्टीको मूल्य–मान्यतामाथि गम्भीर उल्लंघन भनिनुले शर्मालाई अब माओवादीभित्र बस्न सहज देखिँदैन्.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *