भारतका लागि नेपाल किन महत्वपूर्ण ?
काठमाडौं : दक्षिण एसियामा भारत एक्लिदै हो ? भारतीय सञ्चारमाध्यामलाई नै आधार बनाउँने हो भने अब भारत एक्लिदैछ । अर्थात नरेन्द्र मोदी तेस्रोपटक भारतको सत्ताको बागडोर सम्हाल्दै गर्दा छिमेकमा प्रतिकुलका सरकारहरु बनेका छन् ।
छिमेक पहिलो नीति बोकेका मोदी छिमेकमै सम्बन्ध कमजोर बन्दा आलोचित बन्नुभएको छ । नेपाल मामिलामा पनि भारत ‘रिजिड’ नै देखिन्छ । नेपालले अघि सारेका सीमा समस्या, इपीजी प्रतिवेदन, हवाइ रुट जस्ता विषयमा भारत सुनेनसुनेझैं गरेर बस्दा यहाँ ‘एन्टि इण्डियन’ मानसिकता बढ्दै गएको छ ।
आफ्ना वरिपरिका मुलुकसँग क्रमिकरुपमा सम्बन्ध विग्रदै जाँदा भारत नेपालसँग सम्बन्ध सुधार गर्नुपर्ने मनस्थितिमा पुगेको हो त ? नेपालका परराष्ट्रमन्त्री हुन् वा अरुकोही उच्चपदस्थ अधिकारी, भारतले खासै वास्ता गर्दैन थियो । यसपटक केही भिन्नता आएको देखिन्छ । परराष्ट्रमन्त्री आरजु राणा देउवा पाँच दिने भारत भ्रमणका लागि दिल्लीमा रहँदा भारतले न्यायो आतिथ्य दियो ।
परराष्ट्रमन्त्री राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशमन्त्रालयका नर्थ डिभिजन हेर्ने सहसचिव अनुराग श्रीवास्तवले स्वागत गर्नुभयो । त्यसपछि सोमबार भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नुभएकी परराष्ट्रमन्त्री राणाले साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्नुभयो । शिष्टाचार भेटवार्तामा मोदीले विदेशमन्त्री जयशंकरलाई मात्र होइन, आफ्ना सुरक्षा सल्लाहकार अजित डोभलसहित उच्चअधिकारीहरुलाई राखेर परराष्ट्रमन्त्री राणासँग छलफल गर्नुभएको थियो ।
छलफलमा नेपाल–भारत सम्बन्धका बहुआयामिक विविधतामा केन्द्रित रह्यो । मोदीलाई नेपाल भ्रमणको निम्तादिनेदेखि पारवहन, ट्रान्जिट, ऊर्जा, कनेक्टिभिटी, लगानी, हवाई रुट, खाद्यान्न, पञ्चेश्वर बहुउद्देश्य परियोजना, खेलकुद, सीमा क्षेत्रका पूर्वाधार विकास लगायतमा छलफल भएको दुबैदेशका परराष्ट्रमन्त्रालयहरुले जानकारी दिएका छन् ।
यसअघि प्रदीप ज्ञवालीबाहेकका परराष्ट्रमन्त्रीका भ्रमणलाई औपचारिकतामा मात्र सिमित राख्ने भारतले यसपटक उच्चस्वागत गरेर नेपाललाई खुशी पार्न चाहेको जानकारहरु बताउँछन् ।
भारतका लागि नेपाल किन महत्वपूर्ण ?
मोदीको तेस्रो ‘इनिङ्स’सम्ममा भारत वरिपरिका मुलुकहरुमा उसको सम्बन्ध तितो बनेको छ । पाकिस्तानसँग स्वतन्त्रताबाटै शत्रुत्वको व्यवहारमा रहेको भारतसँग माल्दिभ्स्को सत्ता पनि आफ्नो अनुकुलमा छैन । गएको निर्वाचनमा भारत अनुकुलकाे इब्राहिम मोहम्मद सोलिहको दल पराजित बन्यो । भारत छोडो आन्दोलन नै चलाएका मोहम्मद मुइज्जुले सत्ता सम्हाल्नुभयो र पहिलो निर्णय नै प्राविधिकरुपमा रहेका भारतीय सेना फिर्ता पठाउने निर्णय गर्नुभयो ।
मुइज्जुलाई चीन निकट नेताका रुपमा हेर्नेगरिन्छ । त्यसअघि श्रीलंकामा पनि चीनले विकास निर्माणका काम तीब्र पारेको थियो । त्यहाँ पनि भारत प्रतिकुल सत्ता कायम रहेको छ । बंगलादेश पनि भारतको प्रतिकुलकै सरकार बनेको छ । शेख हसिना वाजेद बंगलादेशबाट लखेटिएपछि अन्तरिम सरकार सम्हाल्न पुगेका मोहम्मद युनुस पश्चिमा र केही चीनसँग लचक नेताका रुपमा हुनुहुन्छ ।
हसिना सरकारविरोधी प्रदर्शन हुँदा बंगलादेशमा भारतविरोधी आवाज उठेको थियो । बंगलादेशभन्दा अघि नै सेनाले कू गरेपछि म्यानमार पनि भारतको पक्षमा देखिएको छैन । अब बाँकी नेपाल र भुटान रहेका छन् । भुटान पनि भारतको थिचोमिचोबाट आजित बनेको छ । त्यसैले उसले चीनसँग केही सीमा समस्या समाधानका लागि छलफलहरु तीव्र पार्दै सम्बन्ध विस्तार गर्न लागिपरेको छ ।
संस्कृति र धर्म तथा जनता–जनताबीचको बलियो सम्बन्ध रहेको नेपालमा पनि भारतविरोधी ‘सेन्टिमेन्ट’ व्याप्त छ । त्यसैले सबैतिर आफ्ना विरोधीबाट घेरिएको भारतलाई नेपालसँग सौहार्दसम्बन्ध राख्नुपर्ने बाध्यता छ । उ नेपाललाई तत्कालका लागि चिढ्याउन चाहदैन । त्यसैले नेपालमा विशेष प्याकेज घोषणा गर्नेदेखि लचक बन्न खोज्दै छ ।
यही मेसोमा नेपालले भारतबाट भएका आफ्ना समस्या प्रष्टसँग राख्नुपर्छ, नकि उच्चस्तरीय भ्रमणहरुमा प्राथमिकता दियो भनेर हर्ष गर्दै उठाउनै पर्ने मुद्दा विर्सन हुँदैन । भारतले ‘कमिटमेन्ट’ गरेका सहयोग, अनुदान छिटोभन्दा छिटो पुरा गराउन पहल गर्दै अड्किएका पञ्चेश्वर परियोजना, माथिल्लो कर्णाली जलविद्युत आयोजना पुरा गर्न दबाब दिनैपर्छ । अन्तर्राष्ट्रिय महासन्धि अनुसार हवाईरुट लिन पनि नेपालले हिच्किचाउनुहुँदैन ।
कालापानी, लिपुलेक जस्ता भारतले अतिक्रमण गरेका भूभाग फिर्ता गराउन होस् अथवा नेपाल–भारत प्रबुद्ध समूह इपीजीको प्रतिवेदनमा छलफलका लागि भारतलाई तयार पार्नुपनि कांग्रेस–एमाले नेतृत्वका लागि परीक्षा हुनेछ । आगामी दिनमा नेपालका मुद्दामा निकाश खाेजेमात्र भारतले पनि नेपाललाई महत्व दिएको ठहरिनेछ ।
प्रतिक्रिया