Main News

सिन्धुलीमा ६ जिल्ला जोड्ने पुल एक दशकदेखि अलपत्र (भिडियो रिपोर्टसहित)

२०८० माघ १३ गते १६:१८
सिन्धुलीमा ६ जिल्ला जोड्ने पुल एक दशकदेखि अलपत्र (भिडियो रिपोर्टसहित)

१३ माघ २०८० सिन्धुली । सिन्धुलीमा ठूला सडकमार्गको सञ्जाल विस्तारसँगै पक्की पुल निर्माण हुने क्रम बढ्दै गएको छ । तर, ठेकेदारको लापरवाहीका कारण पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीमा ६ जिल्ला जोड्ने पक्की पुल भने एक दशकदेखि अलपत्र परेको छ ।

ठेकेदारसँग सम्झौता तोड्दै नयाँलाई निर्माणको जिम्मा दिएपनि अहिलेसम्म ठेकेदार सम्पर्कमा नआउँदा पुल निर्माण रोकिएको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. ६ मा रहेको सोखुखोलामा पक्की पुल निर्माणको काम अलपत्र परेको छ । ठेकेदार कम्पनीले पुल निर्माणको काम अलपत्र पार्दा पूर्वी पहाडी क्षेत्रका ६ जिल्लाका सेवाग्रहीले खेप्नु परेको छ ।

पुल निर्माणमा ढिलासुस्ती हुँदा सिन्धुली जिल्लाको पूर्वी पहाडी क्षेत्रका बासिन्दासहित ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, खोटाङ र उदयपुर जिल्लाबाट मध्यपहाडी राजमार्ग भएर राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु तथा सवारी साधनलाई समस्या पर्ने गरेको छ ।

पप्पु कन्ट्रक्सनले मेनेजिङ डाइरेक्टर रौनियारले १३ वर्षअघि १० करोड ४३ लाख रुपैयाँमा पुल निर्माणको जिम्मा लिएको थियो । पुल निर्माणका लागि ठेक्का लिए पनि ५० प्रतिशत काम भएको छैन । १३ वर्षदेखि अलपत्र पुलको भुक्तानी भने ४७ प्रतिशत लिइसकेको सडक विभागले उल्लेख गरेको छ ।

पुल नहुँदा वर्षाको समयमा यात्रु तथा सवारी साधनलाई बढी समस्या हुने गरेको छ । वर्षाको मौसममा सोखुखोलामा बाढी आउँदा दैनिकजसो सवारी साधन र यात्रु घण्टौँ जाममा पर्ने गरेका छन् । ज्यानकै जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता छ ।

पप्पुले काम नगरेपछि ठेक्का लिलाम गरियो । ६ करोड लागतमा दुई वर्षमा सक्ने गरी लोहनी–आत्रेय जेभीलाई जिम्मा दिइयो । निर्माणको जिम्मा पाएर पनि ठेकेदार सम्पर्कमा नै नआउने र फोन गर्दा नउठाउने गरेको कारण सिन्धुलीवासी आन्दोलित भएका छन् ।

बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र जिल्लाको सडक सञ्जालअन्तर्गत क्षेत्रीय र सहायक सडकमा समेत गरी विभिन्न नदी र खोलाहरूमा पक्की पुल निर्माण भए सिन्धुलीको व्यापार, कृषि तथा पर्यटनमा टेवा पुग्ने सिन्धुलीवासीको अपेक्षा छ । तर, ठेकेदारले काम नगर्ने र सरकारले ठकेदारलाई कारवाही नगर्दा सिन्धुलीवासीको सपना साकार हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *