बिशेष

एमालेले सरकारलाई बुझायो ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र

हिमालय टिभी
२०८० माघ ९ गते १३:१६
एमालेले सरकारलाई बुझायो ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र

९ माघ २०८० काठमाडौं । नेकपा एमालेले सरकारलाई ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएको छ ।

गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ को क्रममा प्राप्त सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्र बुझाएपछि पत्रकारहरुसँग एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु जनताको नासो भनेर प्रधानमन्त्रीलाई बुझाएको र कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री प्रचण्डले सुझावहरु दराजमा थन्किन नपाउने र कार्यान्वयनका निम्ति पहल गर्ने आश्वासन दिएको जानकारी गराउनुभयो । प्रधानमन्त्री प्रचण्डले एमालेको अभियानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणमा महत्त्वपूर्ण सहयोग पुगेको बताउनु भएको थियो ।

ध्यानाकर्षण पत्रमा मध्यपहाडी राजमार्गको अनलाइनमेन्ट परिवर्तन गर्नुपर्ने, मध्य पहाडमा देखेका विकासका सम्भावना लगायतका विषयहरु उल्लेख छन् । यस्तै कृषि, उद्योग भवन निर्माण, खेलकुद, खानेपानी लगायतका विषय समेटिएका छन् ।

एमालेले मध्यपहाडमा विकास पूर्वाधार, पर्यटन, फलफूल खेतीलगायतका सम्भावना देखेको छ भने बसाइसराइ चुनौतीका रूपमा उल्लेख गरेको छ ।

त्यस्तै विकास निर्माण ठप्प भएको, व्यवसायहरू बन्द हुँदै गएको, बजेट विनियोजनमा पूर्वाग्रह राखेको, एमालेले सुरु गरेका योजनाहरू असफल पार्न लागेको, भूकम्पपछिको पुनर्निर्माणमा सरकार असक्षम भएको लगायतका विषय समेटिएको छ ।

यी विषय कार्यान्वयनको पहलका लागि एमालेले उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी तोकेको छ । ध्यानाकर्षण पत्र बुझाउन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्