अयोध्यामा राममन्दिरको प्राणप्रतिष्ठा, किन भयो मोदीको विरोध ? कसरी अन्त्य भयो वर्षौको विवाद ? (भिडियो रिपोर्टसहित)
८ माघ २०८० काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राममन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुख्य यजमान बनेर पूजा गर्नुभएको थियो ।
राममन्दिरको प्राण प्रतिष्ठा धार्मिक(आध्यात्मिक विषय भए पनि यसलाई राजनीतिक रंग दिइएको छ । शंकराचार्यहरूले प्राण प्रतिष्ठाको विरोध गर्दै उक्त कार्यक्रममा सहभागी जनाएनन् भने कांग्रेस आइ पनि अनुपस्थित रह्यो । १९९० सालमा बाबरी मस्जिद हटाएर राम मन्दिर बनाउने घोषणासहित उदाएको भारतीय जनता पार्टीले अहिले मन्दिरमा प्राणप्रतिष्ठा गरेर यसलाई चुनावको मुख्य अस्त्र बनाउँदै राजनीतिकरण गर्दिएको छ ।
४ सय ९१ वर्षपछि सोमबार भारतको उत्तरप्रदेशस्थित अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गरिएको छ । मुस्लिम र हिन्दु दुवै धर्मको दाबीका कारण सधैँ विवादित बनेको यो भूमि २०१९ मा सर्वोच्च अदालतले राम मन्दिर बनाउन अनुमति दिएसँगै अन्त्य भएको थियो । सन् २०२० मा विवादित स्थलमा भव्य राम मन्दिर निर्माणको आधारशीला राख्ने साइत अनुसार सोमबार प्राण प्रतिष्ठा गरियो । जसको यजमान थिए, नरेन्द्र मोदी ।
बाबरी मस्जिद र राम मन्दिर विवादमा कहिले के भयो ?
– अहिले बनाइएको राम मन्दिर भएको स्थान, सन् १५२८ मा तीन गुम्बज भएको बाबरी मस्जिद तर सधैँ विवाद
– हिन्दू विश्वासअनुसार मुगल साम्राज्यका जर्नेल मिर वाँकीले सन् १५२८ तिर यहाँको परम्परागत राम जन्मभूमि मन्दिर भत्काएर बाबरको नाममा बाबरी मस्जिद बनाए
– बाबरी मस्जिद भएको स्थान नै राम जन्मभूमि भएको दाबीले हिन्दू र मुस्लिम समुदायबीच लामो विवाद
– मस्जिद भत्काएर पुनस् राम मन्दिर बनाउन सन् १८५० मा पहिलो दङ्गा
– सन् १९५९ मा अंग्रेज शासकले बीचमा पर्खाल लगाएर एकातिर राम मन्दिर र अर्कोतिर बाबरी मस्जिदको क्षेत्र छुट्याइयो
– सन् १८८५ मा राम मन्दिरका महन्त रघुवीर दासबाट फैजापुर जिल्ला अदालतमा सोही स्थानमा राम मन्दिर बनाउन पाउनुपर्ने भन्दै मुद्दा दर्ता, अदालतबाट दरपिठ
– स्वतन्त्रतापछि सन् १९४९ मा गोरखनाथ मठका सन्त दिग्विजय नाथले आयोजना गरेको सभामा हिन्दू भक्तजनले जबरजस्ती बाबरी मस्जिदमा प्रवेश गरी तोडफोड
– सन् १९९० को सेप्टेम्बर(अक्टोबरमा भारतीय जनता पार्टीका नेता लालकृष्ण अड्वानीले ‘अयोध्या रथ यात्रा’ दङ्गामा परिणत
– सन् १९९२ को डिसेम्बर ६ मा अर्को ठूलो दङ्गा, उत्तेजित समूहबाट बाबरी मस्जिद ध्वंस, २ हजार मानिसको मृत्यु
हिन्दूहरू भारत उत्तर प्रदेशको फैजापुर जिल्लास्थित अयोध्यानगरलाई रामायण महाकाव्यमा उल्लेखित राजा दशरथको दरबार भएको स्थान मान्दछन् । सरयू नदीको किनारामा दशरथको दरबार थियो भन्ने वाल्मिकी रामायणको भाष्यलाई त्यसको प्रमाण मान्ने गरिन्छ । त्यहाँ सरयू नामको नदी छ ।
१६औं शताब्दीमा मुगल भारतीय उपमहादेशमा आए । मुगल तुर्कमेनिस्तानको ‘तैमुरलेङ’ वंशको एक इस्लाम धर्मावलम्बी हाँगो थियो । मुगल नायक बाबरले पानीपत र दिल्लीको युद्धमा स्थानीय रजौटालाई हराएर सत्ता कब्जा गरेका थिए । यो विवाद सन् २०१९, नोभेम्बर ९ को सर्वोच्च अदालतको फैसलापछि कानूनीरूपमा निरूपण भएको मानियो ।
अयोध्यामा राममन्दिर बनाउन कहिले के भयो ?
सन् २००३ सेप्टेम्बरः बाबरी मस्जिद ध्वस्त पार्न उक्साएको आरोपमा सात हिन्दू नेताविरुद्ध मुद्दा चलाउन एक अदालतको आदेश। तर त्यतिखेरका उपप्रधानमन्त्री आडवाणीविरुद्ध कुनै अभियोग लगाइएन
सन् २००४ अक्टोबरः आडवाणीले आफ्नो पार्टीभित्र अयोध्यामा मन्दिर बनाउने अविचलित सङ्कल्प रहेको र त्यहाँ मन्दिर निर्माण अवश्यम्भावी रहेको भनाइ
सन् २०१०ः इलाहावाद उच्च अदालतद्वारा विवादित जमिनलाई बराबर तीन भागमा बाँडेर मुस्लिम समुदाय, हिन्दू समुदाय र हिन्दू सन्न्यासीहरूको एउटा सम्प्रदाय निर्मोही अखडालाई दिनुपर्ने आदेश
सन् २०११ः सर्वोच्च अदालतद्वारा उच्च अदालतको फैसला स्थगन
सन् २०१४ः प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको पूर्ण बहुमत सहित सत्तारोहण
सन् २०१९ः मोदीको नेतृत्वमा भारतीय जनता पार्टी पुनस् विजयी
सन् २०१९ नोभेम्बरः भारतको सर्वोच्च अदालतद्वारा विवादित स्थलमा राम मन्दिर निर्माण गर्न बाटो खुला
सन् २०२० अगस्ट ५ः विवादित स्थलमा भव्य राम मन्दिर निर्माणको आधारशीला राख्ने साइत तय
मन्दिरको निर्माणको लागत १८ सय करोड भारतीय रुपैयाँ रहेको बताइन्छ । निर्माण सामग्री, यान्त्रिक सामग्री, श्रमिक तथा अन्य प्रशासनिक गरी १८ सय करोड भारु खर्च हुने प्रक्षेपण छ । प्राण प्रतिष्ठा भएपनि लोकसभा चुनावको मुखमा रामको मूर्तिको प्राणप्रतिष्ठा गरेर बहुमत ल्याउने दाउ अनुसार भाजपाले संविधानको उल्लंघन गर्दै धार्मिक कार्यक्रमलाई राज्यको उत्सव बनाएको आरोप लागेको छ ।
प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले मन्दिरको निर्माण सम्पन्न अघि नै गर्न लागिएको प्राणप्रतिष्ठालाई चुनावी फाइदा लिने तरिकाको रुपमा हेरेका छन् । हिन्दु शास्त्रले शंकराचार्यलाई हिन्दु धर्म गुरुहरुको सर्वोच्च पदमा राखेपनि प्राण प्रतिष्ठामा प्रधानमन्त्री सहभागी भएपछि उनीहरू पनि विरोधमा छन् । ४ सय ९१ वर्षपछि अयोध्यामा राममन्दिर बनेपनि यो धार्मिक भन्दा पनि बढी राजनीतिक प्रेरित भएको कतिपयको बुझाइ छ ।
प्रतिक्रिया