बिशेष

रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वेदश फिर्ता गर्न नेपालको आग्रह

हिमालय टिभी
२०८० माघ ६ गते १३:१७
रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वेदश फिर्ता गर्न नेपालको आग्रह

६ माघ २०८० काठमाडौं । नेपालले रुसी सेनामा भर्ना भएका आफ्ना नागरिकलाई स्वेदश फिर्ता गरिदिन आग्रह गरेको छ ।

युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री एनपी साउदले रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गरिदिन आग्रह गर्नुभएको हो ।

परराष्ट्रमन्त्री साउदले रुसलाई नेपाली नागरिक भर्ना नगर्न समेत आग्रह गर्नु भयो । परराष्ट्रमन्त्री साउदले केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि आग्रह गर्नुभयो ।

रुसमा मृत्यु भएका व्यक्तिका परिवार धेरै पीडामा रहेको भन्दै मन्त्री साउदले आफन्तको शव प्राप्त गरी आफनो संस्कृतिअनुसार अन्त्येष्टि गर्ने परिवारको चाहनालाई सम्मान गर्नु मानवीय दायित्व भएको उल्लेख गर्नुभयो ।

जवाफमा रुसी उपविदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गर्ने बताउनु भएको थियो । रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या ११ पुगेको छ । चार नेपालीलाई युद्धका क्रममा युक्रेनी सेनाले नियन्त्रणमा लिई युद्धबन्दी बनाएको छ ।

रुसी सेनामा नेपालीहरुको संख्या एकिन हुन सकेको छैन् । रुसले युक्रेनमाथि आक्रमण गरेयता नेपालीलाई पनि आफ्नो सेनामा भर्ती गर्न सुरु गरेको हो । रुसले नेपाल सरकारलाई कुनै जानकारी नै नदिई नेपालीलाई आफ्नो सेनामा भर्ती गर्न थालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्