Main News

बीपी प्रतिष्ठान : आन्दोलनमाथि आन्दोलन (भिडियो रिपोर्टसहित)

२०८० माघ २ गते १६:१२
बीपी प्रतिष्ठान : आन्दोलनमाथि आन्दोलन (भिडियो रिपोर्टसहित)

२ माघ २०८० सुनसरी । बढुवा प्रक्रिया सुचारु गर्नु पर्ने मागसहित धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी अस्पतालको सेवा ठप्प पार्दै आन्दोलित भएका छन् ।

चिकित्सक तथा कर्मचारी आन्दोलित भएसँगै बिरामी भने मार्कामा परेका छन् । चिकित्सकसहित कर्मचारी आन्दोलित भएको बिरोधमा विद्यार्थीले अर्को आन्दोलन सुरु गरेका छन् ।

बढुवा प्रक्रिया सुचारु गर्न माग राख्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक, चिकित्सक तथा कर्मचारीले अस्पताल सेवा ठप्प पार्दै संयुक्त आन्दोलन सुरु गरेका छन् ।

६ महिनादेखि निरन्तर आन्दोलनमा होमिएका उनीहरुले प्रतिष्ठानको आकस्मिक कक्ष, ल्याब, एक्सरे बाहेकका सम्पूर्ण कक्ष बन्द गर्दै निर्देशक जगतनारायण प्रसादलाई चाबी बुझाएका छन् । उनीहरुले माग पूरा नहुन्जेल निमित्त उपकुलपतिको कार्यकक्ष अगाडि धर्ना दिने चेतावनी दिएका छन् ।

विगतमा भएको बढुवा प्रक्रिया सुरु गर्ने सहमति पदाधिकारीहरुले पालना नगरेको कारण काम छाडेर आन्दोलनमा उत्रनुपरेको आन्दोलनरत कर्मचारीको भनाइ छ । प्रतिष्ठानका चार जना पदाधिकारीमध्ये तीन जना बढुवा प्रक्रियामा सकारात्मक देखिएको तर कार्यवाहक उपकुलपतिले प्रक्रिया बढाउन आनाकानी गरेको कारण आफूहरु आन्दोलित भएको उनीहरुको दाबी छ ।

शिक्षक कर्मचारीहरुको आन्दोलनले आफूहरुको अध्ययनसमेत प्रभावित भएको भन्दै विद्यार्थी समेत आन्दोलित बनेका छन् । प्रतिष्ठानमा बेला बेला हुने आन्दोलनले आफ्नो शैक्षिक क्यालेन्डर सरेको भन्दै उनीहरुले उपकुलपति कार्यलय अगाडि भुइमा बसेर सांकेतिक अध्ययन गरेका छन् ।

गत वर्ष पुस २० गते प्रतिष्ठानले सुरू गरेको आन्तरिक वढुवा भदौ ७ गते लोकसेवा आयोगले रोकिदिएको थियो । आयोगले नयाँ नियमावली स्वीकृत गरेर मात्र बढुवा प्रक्रिया सुरू गर्न निर्देशन दिएको छ । तर प्रतिष्ठानका शिक्षक कर्मचारीहरूले भने पुरानै नियमावली अनुसार सुरू भएको आन्तरिक बढुवा सुचारू गर्न दबाब दिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *