राष्ट्रियसभा निर्वाचन आचारसंहिता होला त कार्यान्वयन ? (भिडियो रिपोर्टसहित)

१ माघ २०८० काठमाडौं । माघ ११ गते हुने १९ जना राष्ट्रिय सभा सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनमा होमिएका छन् । सबै दल राष्ट्रिय सभाको परिणाम आफ्नो पक्षमा पार्न लागिरहँदा निर्वाचन आयोगले भने आचारसंहिता लागू गरेको छ ।
आचारसंहिता कार्यान्वयन नगर्नेलाई कारवाही गर्ने सधैँ चेतावनी मात्र दिँदै आएको आयोगले यो पटक पनि यसलाई दोहोर्याएको छ । के छ आयोगले लागू गरेको आचारसंहितामा ?
निर्वाचन आयोगले जारी गरेको आचार संहिता माघ २ गतेदेखि १२ गतेसम्म लागू हुनेछ । अर्थात् मंगलबारदेखि राष्ट्रिय सभा सदस्य निर्वाचनको भोलीपल्टसम्म लागू हुने आयोगले जानकारी दिनेको छ । फागुन २० गतेदेखि कार्यकाल सकिँदै गरेका २० जना सदस्य मध्ये १९ जनाको ठाउँमा निर्वाचन हुन लागेको हो ।
के छ आयोगले जारी गरेको आचारसंहितामा ?
–कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नपाइने
–निर्वाचनसँग सम्बन्धी सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन नहुने
–कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचार प्रसार गर्न वा गराउन नहुने
–राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्रि वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नपाइने
–निषेधित समय र स्थानमा अवारोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रसारप्रसार गर्न वा गराउन नहुने
–सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नपाइने
–मतदाताको गोप्यता भंग गर्न नहुने
–मतदाता र मतदानमा खटिएका कर्मचारीसँग वादविवाद गर्न वा उनीहरुलाई हतोत्साही गर्ने कुनै पनि कार्य गर्न नहुने
–निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने
–संघीय र प्रदेश सरकारका मन्त्री वा स्थानीय तहका पदाधिकारीले प्रचारप्रसारमा जाँदा सरकारी स्रोत साधनको प्रयोग गर्न नहुने
आयोगका अनुसार माघ ८ गते राति १२ बजेदेखि ४८ घण्टा मौन अवधि सुरु हुनेछ । यो अवधिमा कुनै प्रकारका प्रचारप्रसार गर्न पाइने छैन । आयोगले निर्वाचन आयोग ऐन, २०७३ र निर्वाचन आचारसंहिता २०७९ बमोजिम दश दिनका लागि आचार संहिता लागू गरेको हो ।
यस्तै आयोगले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारले साढे ३ लाख खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ । उक्त खर्च बैंकमार्फत् गर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया