उद्योगको लाइन जोड्ने प्राधिकरणको निर्णय
२७ पुस २०८० काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल नबुझाएको भन्दै लाइन काटिएका उद्योगहरुको लाइन जडान गर्ने भएको छ ।
डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएबापत महसुल बक्यौता नतिरेको भन्दै काटिएको लाइन प्राधिकरणको सञ्चालक समितिको आज बिहान बसेको बैठकले जडान गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले लाइन जोड्न निर्देशन दिएको थियो। तर त्यसको भोलिपल्ट बसेको प्राधिकरणको सञ्चालक समितिले भने पत्र नआएको भन्दै लाइन जोड्ने निर्णय गर्न अस्वीकार गरेको थियो।
प्राधिकरणले पुस ६ गते यता २४ उद्योगको लाइन काटेको थियो। तीमध्ये एउटा उद्योगको भने किस्ता तिरेपछि यसअघि नै जडान गरिएको थियो।
प्राधिकरण बोर्डको निर्णयसँगै अब बाँकी रहेका २३ उद्योगको पनि लाइन जोडिने छ । प्राधिकरणले प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा पुस ६ गते लाइन काटेको थियो ।
सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल बक्यौता विवाद छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। उद्योगीहरुको २२ अर्ब रुपैयाँ भन्दा बढी महसुल तिर्न बाँकी छ ।
प्रतिक्रिया