बिशेष

प्रहरीले सार्वजनिक गर्‍यो रामबहादुर बम्जन, यस्ता छन् बम्जनमाथि आरोप

हिमालय टिभी
२०८० पुष २५ गते १४:३५
प्रहरीले सार्वजनिक गर्‍यो रामबहादुर बम्जन, यस्ता छन् बम्जनमाथि आरोप

२५ पुस २०८० काठमाडौं । लिटिल बुद्ध भनिने रामबहादुर बम्जनलाई यौनशोषण तथा हत्या आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । चार आनी बेपत्ता र एक जनाको हत्या गरेको अभियोगमा प्रहरीले बम्जनलाई मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

पक्राउ परेका बम्जनको साथबाट ३ करोड नगद र १७ देशको विदेशी मुद्रा समेत बरामद भएको छ । बम्जनलाई सीआइबीले सार्वजनिकपछि सर्लाही प्रहरी कार्यालयलाई जिम्मा लगाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको ‘अपरेशन ब्लु
खोजीः व्यक्ति बन्धक, बलात्कार र हत्याका आरोपी
नामः रामबहादुर बम्जन
उमेरः ३४ वर्ष

एक सातादेखि अपरेशन ब्लु नाममा सीआइबीको टोलीले यो नाम भएको व्यक्तिलाई काठमाडौँको बुढानीलकण्ठ क्षेत्रमा खोजी गरिरहेको थियो । साताभर यो क्षेत्रमा आएका नयाँ र शंकास्पद व्यक्तिलाई निगरानी गरिरहँदा वडा नम्बर ६ को टन गाउँमा सीआइबी पुग्यो । २४ गते बेलुका राति ११ बजेर १५ मिनेट जाँदा चार तल्ले घरमा प्रहरीले छापा मार्‍यो । त्यही समयमा एक व्यक्ति हाम फालेर भाग्न खोजे । उनी अरु कोही नभएर उही बम्जन थिए, जसका लागि सीआइबीले अपरेशन ब्लु नाम राखेको थियो ।

सेतो ज्याकेट । लामो कपाल । होचो कद । हातमा हतकडी । यो अपरेशनबाट पक्राउ परेका बम्जन कुनै बेला लिटिल बुद्ध भनेर चिनिन्थे । तर उनै बम्जन अहिले बलात्कार, हत्या र व्यक्ति बन्धक बनाएको आरोपमा पाँच वर्षपछि पक्राउ परेका हुन् ।

तपस्वी भनेर चिनिने बम्जनको साथबाट प्रहरीले तीन करोड रुपैयाँभन्दा बढी नगद पनि बरामद गरेको छ । ती पैसा नेपालका मात्र नभएर अन्य विभिन्न देशका थिए । प्रहरीका अनुसार बम्जनको घरबाट ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ बराबरको विभिन्न देशको पैसा बरामद भएको छ । त्यसमध्ये नेपाली रुपैयाँ ३ करोड ४ लाख जति थियो । त्यसपछि अमेरिकी डलर १७ लाख ९७ हजार १६४ रुपैयाँ, भारतीय रुपैयाँ १ लाख ७६ हजार र चिनिया युआन ५ लाख भन्दा बढीको छ ।

बम्जन चढ्ने गाडी र मोटरसाइकल पनि बरामद गरिएको छ । ती गाडी र मोटरसाइकल विभिन्न व्यक्तिका नाममा छन् । प्रहरीका अनुसार बमजन ५ करोडको ल्यान्ड क्रुजर चढ्ने तयारीमा थिए । त्यसका लागि धुम्बाराहीस्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिमा ३ करोड रुपैयाँ नगदै भुक्तानी गरी खरिद प्रकृयामा थियो ।

बम्जनविरुद्धका आरोपहरू
– २०६९ देखि २०७२ बीचमा चारजना अनुयायी हराएको निवेदन तीन जिल्लाका प्रहरी कार्यालयमा दर्ता
–हेटौँडास्थित प्रहरी कार्यालयमा फुलमाया रूम्बा बम्जनको आश्रमबाटै हराएको उजुरी
–नुवाकोटको मेघान गाउँपालिकाकी चिनीमायाँ तामाङ पनि २०६९ बाट हराएको उजुरी
–२०७२ सालमा मकवानपुरका सञ्चलाल वाइबा र बाराका सुरेश आलेमगर पनि बम्जनकै आश्रमबाट हराएको उजुरी
–२०७३ साउन २० मा आश्रममै आएकी आनीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कार गरेको आरोप
–बारा जिल्लामै केही स्थानीयहरूमाथि हातपात
–सन् २०१२ मा तीन महिना दुई जना विदेशी महिलालाई बन्धक बनाएको आरोप
–२०७७ असार १८ मा जिल्ला अदालत सर्लाहीमा जबरजस्तीकरणी मुद्दा दायर
–२०८० भदौ मा १८ वर्षीय गंगामाया तामाङद्वारा बम्जनले बलात्कार गरेको आरोप
–बेपत्ता भएका सबैको हत्या भएको आरोप

खासमा बम्जन सर्लाही अदालतबाट २०७६ माघमा पक्राउ पुर्जी जारी गरेपछि प्रहरीको खोजीमा थिए । २०७७ असार असार ४ मा पनि सीआइबी कार्यदलको टोली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले गोलीगठ्ठा, तालिमप्राप्त कुकुर र अत्याधुनिक मेसिनसहित बम्जनको सिन्धुलीस्थित आश्रममा छापा मारेको थियो । तर, उनी फेला परेनन् । आश्रममा शव गलाउन प्रयोग गरिने नुनका ढिकाहरू र शव पुर्ने खाल्डो भेटिएको थियो ।

पक्राउ गर्न नसकेपछि प्रहरीले २०७७ असार २१ मा उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सर्लाही जिल्ला वकिल कार्यालय हुँदै जिल्ला अदालत लगेको थियो । अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीले बम्जनविरुद्ध असारमा बालबालिकासम्बन्धी ऐन, २०७६ अनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरेको थियो ।

जसमा बम्जनसहित तीन जनालाई प्रतिवादी बनाइएको थियो । मुद्दा अगाडी बढेर हाजिर हुन दिइएको म्याद समेत सकिएको छ । बम्जन अदालत हाजिर नभए पनि मुद्दाको प्रक्रिया अनुसार १४ वर्ष र उनलाई सघाएको आरोप लागेका ज्ञानबहादुर बम्जन तथा जितबहादुर तामाङलाई त्यसको आधा सजायँको माग दाबी गरिएको थियो ।

मध्य तराईको बाराको एकान्त वनमा एक ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका बम्जनले सन् २००५ मा एकाएक चर्चा बटुलेका थिए । त्यतिबेला १६ वर्षीय बम्जनले बारास्थित एक जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए । उनको चर्चा अन्तर्राष्ट्रियस्तरसम्मै भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्