बिशेष

राष्ट्रियसभा गृहमन्त्रीको संयोग ! भद्दा मजाक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० पुष २३ गते १७:५०
राष्ट्रियसभा गृहमन्त्रीको संयोग ! भद्दा मजाक (भिडियो रिपोर्टसहित)

२३ पुस २०८० काठमाडौं । राष्ट्रियसभा पूर्व गृहमन्त्रीहरुका लागि संसद प्रवेश गर्ने थलो बनेको छ । प्रतिनिधिसभा निर्वाचनमा पराजित भए पनि जसरी संसद प्रवेश गर्ने माध्यम नै राष्ट्रियसभा बनिरहँदा यतिबेला गृहमन्त्रीका हक तेस्रो संयोगसमेत बनेको छ ।

पाँच–पाँच वर्षमा निर्वाचन हुने प्रणालीमा एकपटक जनताबाट अस्वीकृत हुनु भनेको ५ वर्षका लागि संसदको बाटो बन्द हुनु हो ।

आफू पराजित भएको कार्यकालमा कुनै पनि बाटोबाट संसदमा जान खोज्नुसमेत अनैतिक कार्य हो । तर, विडम्बना ह्याभीवेट भनिने नेताहरु संसद छिर्न राष्ट्रियसभाको बाटो तताइरहेका छन् । रोचक त के छ भने पछिल्लो समय राष्ट्रियसभा प्रवेश गरिरहेका नेताहरुको संयोग गृहमन्त्री बन्नु पनि रहेको छ । यतिबेला पूर्वगृहमन्त्री कृष्ण सिटौला समेत यसैगरी राष्ट्रियसभाको बाटो हुँदै संसद प्रवेश गर्दै हुनुहुन्छ ।

सिटौला ०७४ र ०७९ को निर्वाचनमा झापा ३ बाट राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित हुनु भएको थियो । उहाँलाई कांग्रेसले कोशी प्रदेशबाट राष्ट्रियसभाको उम्मेदवार बनाएको छ । कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई सघाएका सिटौलाले अहिले त्यसको उपहार पाउनु भएको छ ।

सिटौलालाई राष्ट्रियसभा अध्यक्ष नै बनाउने गरि ल्याउन लागिएको चर्चा छ । सिटौला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा गृहमन्त्री बन्नु भएको थियो । पार्टीको महामन्त्री भइसकेका र संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलका सिटौला पछिल्ला निर्वाचनमा लगातार पराजित भएपछि गुमनाम बन्ने बाटोमा हुनुहुन्थ्यो ।

नारायणकाजी श्रेष्ठ
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ०७४ को निर्वाचनमा प्रतिनिधिसभामा पराजित हुनुभयो । गोरखा २ मा तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईसँग पराजित श्रेष्ठ त्यसको २ वर्षपछि अर्थात् ०७६ माघ दोस्रो साता गण्डकी प्रदेशको अन्य कोटाबाट राष्ट्रियसभा सदस्य बन्नुभयो । हाल उहाँ उपप्रधानसहित गृहमन्त्री हुनुहुन्छ । श्रेष्ठ २०६४ को संविधानसभामा सरकारबाट मनोनित सदस्य हुँदै प्रवेश संसद प्रवेश गर्नु भएको थियो । उहाँ निरन्तर शक्ति र सत्तामा रहने नेतामा पर्नुहुन्छ ।

बामदेव गौतम
जनताबाट अस्वीकृत भए पनि संसद जान नपाउँदा छट्टपटिने अर्का पात्र हुनुहुन्छ, वामदेव गौतम । पूर्वगृहमन्त्री रहिसकेका गौतमलाई तत्कालीन नेकपाका उपाध्यक्ष रहेका बेला मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनित गर्नुभयो । उसो त उहाँले राष्ट्रियसभामा आफू जाने भएपछि राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने व्यवस्थाको वकालत पनि गर्नुभयो ।

०७४ को चुनावमा बर्दियामा कांग्रेसका सञ्जय गौतमसँग पराजित उहाँले संसद छिर्न के मात्रै गर्नुभएन रु काठमाडौं ७ मा रामवीर मानन्धरलाई राजीनामा गराएर उपनिर्वाचन गराउनेसम्म प्रयास गर्नुभयो । तर, उपनिर्वाचन हार्ने डरपछि उहाँलाई राष्ट्रियसभाको बाटो हुँदै संसदमा पुर्‍याइयो । तर राष्ट्रियसभामा पुगेपछि उहाँको भूमिका भने सुस्त देखिएको छ ।

यी संयोगले पार्टीमा प्रभाव पार्न सक्ने नेताहरु जुनै बाटोबाट भए पनि संसद जान मरिहत्ते गर्छन् भन्ने कुरालाई पनि पुष्टि गरेका छन् ।

राजनीतिमा नैतिकता महतवपूर्ण विषय हो । अझ संसदीय लोकतन्त्रमा त नैतिकताको ठूलो अर्थ हुन्छ, जनमतको कदर गरिन्छ । तर, जनताले ५ वर्षका लागि प्रतिनिधिसभामा अस्वीकृत गरेका व्यक्ति केही समयमै राष्ट्रियसभाको बाटो भएर संसद छिर्नु भद्धा मजाक हो भन्दा फरक पर्ला र ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्