बिशेष

राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

हिमालय टिभी
२०८० पुष २३ गते ८:५६
राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

२३ पुस २०८० काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त हुन लागेको १९ पदमा हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदैछ ।

सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ । निर्वाचन आयोगले यही पुस ४ गते नै मतदाता नामावली स्वीकृत गरेको थियो ।

निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । प्रदेशसभा सदस्य ५ सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २ हजार ४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ ।

प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ हुनेछ । निर्वाचनमा प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ रहने आयोगले जनाएको छ ।

मतदाताको अन्तिम नामावली हिजै प्रकाशन भएको छ । उम्मेदवारीउपर यही पुस २४ गते दाबी विरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते उपलब्ध गराउने कार्यक्रम छ । सात प्रदेशमा एक–एक मतदानस्थल र दुई दुई वटा मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते विहान ९ बजेदेखि दिउँसो तीन बजेसम्म हुनेछ । माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्