बिशेष

राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई नसमेट्ने सत्ता गठबन्धन दलको निर्णय

हिमालय टिभी
२०८० पुष २१ गते १३:२४
राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई नसमेट्ने सत्ता गठबन्धन दलको निर्णय

२१ पुस २०८० काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटमा नेकपा एमालेलाई कुनै सिट नदिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको गठबन्धनको बैठकले एमालेलाई राष्ट्रिय सभामा सिट नदिने निर्णय गरेको हो । राष्ट्रियसभामा एमालेसँगको सहकार्य नहुने निष्कर्षमा पुगेपछि आपसमा सिट बाँडफाँडबारे टुंगोमा पुग्न आजै साँझ ४ बजे गठबन्धनको अर्को बैठक बस्ने बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जानकारी दिनुभयो ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गर्न एमालेको सहयोगको प्रतिबद्धता नआएपछि सत्ता गठबन्धनले आपसमै सीट बाँडफाँड गर्ने निर्णयमा पुगेका हुन् । यसअघि कांग्रेस र माओवादीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गराउन एमालेको सहयोग खोजेका थिए।

एमालेले रिक्त रहेका १९ वटै सिटमा उम्मेदवारी दिने भएको निर्णय गरिसकेको छ । नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि फागुन २० गते सकिँदैछ ।

सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ ।

निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्