बिशेष

भारतीय दूतावासले २० करोड आफूखुसी खर्च गर्न नपाउने प्रधानमन्त्री प्रचण्डको दाबी

हिमालय टिभी
२०८० पुष २० गते १३:२८
भारतीय दूतावासले २० करोड आफूखुसी खर्च गर्न नपाउने प्रधानमन्त्री प्रचण्डको दाबी

२० पुस २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई भारतले दिने भनेको २० करोड रुपैयाँसम्मको परियोजना आफूखुसी खर्च गर्न नपाउने प्रष्टीकरण दिनुभएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको आज विहान सिंहदरबारमा बसेको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले हिजो भएको सम्झौता अनुसार उताबाट प्राप्त हुने सहयोग भारतले आफूखुसी खर्च गर्न नपाउने बताउनुभयो ।

हिजो भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा भारतले नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै खर्च गर्न पाउने सम्झौता भएको थियो। जुन सम्झौताको कतिपयले बिरोध गरेका छन्। बैठकमा एमाले सांसद रघुजी पन्तले २० करोड रुपैयाँ भारतले आफूखुसी खर्च गर्न पाउने गरी भएको सम्झौता राष्ट्रिय स्वतन्त्रतालाई कमजोर पार्ने खालको भएको भन्दै विरोध गरेपछि प्रधानमन्त्रीले जवाफ दिनुभएको हो ।

एमाले सांसद पन्तले भारतीय विदेशमन्त्री नेपाल आउनासाथ चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको भन्दै भारतीय विदेशमन्त्री जयशंकर सिंहले प्रचण्डसँग विरोध जनाएको भनेर बैठकमा प्रधानमन्त्री प्रचण्डको धारणा मागेका माग्नु भएको थियो । त्यसक्रममा प्रधानमन्त्रीले भारतीय विदेशमन्त्रीले यस विषयमा आफूसँगको भेटमा कुनै कुरा नगरेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भारतसँग भएको विद्युत व्यापार सम्बन्धी सम्झौता राष्ट्रिय हितमा भएको पनि दाबी गर्नु भयो ।

राज्य व्यवस्था समितिले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा छलफलका लागि प्रधानमन्त्री प्रचण्डलाई बैठकमा बोलाएको हो। बैठकमा प्रधानमन्त्री प्रचण्डले विधेयकका सम्बन्धमा आफ्नो लिखित धारणा राख्नुभयो । समितिको अर्को बैठक यही पुष २२ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्