बिशेष

अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव

हिमालय टिभी
२०८० पुष ११ गते १३:१५
अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव

११ पुस २०८० काठमाडौं । अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाले सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले संघीयता विरोधी शक्तिहरुलाई निस्तेज पार्दै अध्यादेश ल्याएरै भएपनि संघीयता कार्यान्वयन गर्न सरकारलाई सुझाएको हो ।

संघीयता कार्यान्वयनमा सरकार दृढतापूर्वक उभिनु पर्ने निष्कर्ष पनि बैठकले निकालेको छ । बैठकमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि बढ्दो रुपमा प्रश्नहरू उठिरहेकोमा नेताहरूले चिन्ता व्यक्त गरेका थिए ।

यसलाई चिर्नका लागि विभिन्न सहरहरूमा सन्देशमूलक कार्यक्रम लैजाने समझदारी समेत भएको छ । संघीयता कार्यान्वयनका लागि आवश्यक कानूनहरु छिटो निर्माण गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी नेपालका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर विश्वकर्मालगायतका नेताहरु उपस्थिति थिए ।

गत असार ४ गते मोर्चा घोषणापछि असार २३ गते पहिलो बैठक बसेको थियो । मोर्चा गठन गरेर एकताको नयाँ प्रक्रिया सुरु गरिएको उद्घोष गरिए पनि पछिल्लो समय मोर्चाकै भविष्य संकटमा परेको विश्लेषण हुन थालेको छ । मोर्चाको बैठक बालुवाटारमा राखेपछि राप्रपाले आपत्ति जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्