बिशेष

प्रचण्डको एक वर्ष : अलमल र निराशाजनक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० पुष १० गते १३:३३
प्रचण्डको एक वर्ष : अलमल र निराशाजनक (भिडियो रिपोर्टसहित)

१० पुस २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक वर्षे कार्यकालको उपलब्धि निराशाजनक देखिएको छ ।

गत वर्षको पुस १० गते प्रधानमन्त्री नियुक्त भएपछि पटकपटक मन्त्रिपरिषद विस्तार र फेरबदल गर्नुभएका प्रचण्ड आफ्नै प्रतिबद्धता र बाचामा टिक्न नसक्दा एक वर्षे कार्यकाल सम्झिनलायक बन्न सकेन । उहाँको एक वर्षे कार्यकाल नियालीरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मात्र होइन सत्ता साझेदार दलहरुसमेत असन्तुष्ट देखिएका छन् ।

तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक कार्यकालको वर्षगाँठ मनाउँदै हुनुहुन्छ । तर एक वर्षलाई प्रधानमन्त्री प्रचण्डले सम्झनलायक कुनै उपलब्धि छोडिदिन सक्नु भएन । यो वर्षको एक तिहाई कार्यकाल सत्ता गठबन्धन र समीकरणको जोड घटाउमा वितेको छ भने बाँकी दुई तिहाई कार्यकाल चाँहि काण्डहरुको बचाउमा बितेको छ ।

२०७९ मंसिर ४ गते भएको निर्वाचन नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीलागयतका दलसँगको गठबन्धनबाट जितेका प्रचण्डले पुस १० गते नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा लगायतसँग मिलेर प्रधानमन्त्री पद फुत्काउनु भयो । राष्ट्रपति निर्वाचनसँगै पुरानै गठबन्धन ब्युँत्याएका उहाँ वैशाख १० गतेको उपनिर्वाचनसम्म नै सत्ता समीकरणकै झमेला परिरहनु भयो ।

आफैले निम्त्याएको यो झमेलापछिका दिनहरु विभिन्न काण्ड र प्रकरणमा वितेका छन् । सुशासन र समृद्धिको प्रतिबद्धता बिर्सिएर बहकाउमा बितेको समयले एक वर्ष पूरा गर्दा आफैले गरेको एक वर्षे मूल्यांकनले नै उहाँलाई असफल सावित गरिदिएको छ ।

प्रधानमन्त्री कार्यालयकै अनुसार आर्थिक वर्ष २०८०–८१ का लागि विभिन्न २७ निकायका कार्ययोजनामा कुल १ हजार ६ सय क्रियाकलाप तथा ३ हजार ४ सय २१ कार्य समावेश छन् । तीमध्ये २०८० मसान्तसम्म ३ दशमलव ८८ प्रतिशत क्रियाकलाप मात्र सम्पन्न भएका छन् ।

तीमध्ये पनि लक्ष्य प्राप्ति भने ८ दशमलब १३ प्रतिशत मात्र छ । आफैले गरेको मूल्यांकनमा सर्वथा असफल देखिएको सरकारलाई मुख्य प्रतिपक्षी दल नेकपा एमालेले सतप्रतिशत असफल ठहर गरेको छ ।

यो बीचमा कुनै ठूलै अवरोध वा राजनीतिक अस्थिरता झेल्नु परेको छैन । तर गठबन्धनमा आबद्ध दलका इच्छा पूरा गर्दागर्दै काम गर्ने समय नै यो सरकारले पाएन । कांग्रेस सभापति शेरबहादुर देउवाले इच्छ्याएका व्यक्तिको सेटलमेन्ट, ललिता निवास प्रकरणमा मुछिएका माधव नेपाल र बाबुराम भट्टराईको बचाउ, अदालतले जन्मकैदको सजाय सुनाएका रेशम चौधरी वा गुण्डा नाइके रिगल ढकालको रिहाईमै रमाइरहनु भयो प्रचण्ड ।

नागरिकमा निराशा छ । बेरोजगारी दर बढेको छ, युवा(विद्यार्थीको पलायन बढेको छ । यही वर्ष ठूला काण्डहरु बाहिरिएका छन् र जसमा संलग्नहरुको कारबाहीको माग आम रुपमा भइरहेको छ । सुशासनको पक्षमा उहाँलाई समर्थन प्राप्त नभएको होइन तर कार्यशैली उल्टो दिशामा छ ।

जसले निराशालाई थप चरम दिशातर्फ बढाइरहेको छ र यसको साइड इफेक्ट देखिन थालेको छ । यहीबीचमा धार्मिक समूह, अराजक समूह, पश्चगामी र प्रतिगामी शक्ति सलबलाउन थालेको उहाँले नै पटकपटक स्वीकारी सक्नु भएको छ । तर खै त यस्ता शक्तिहरु सलबलाउनुको कारण खोजेको ? खै त सुधारका प्रयासहरु गरेको ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्