बिशेष

रुस–युक्रेन युद्धमा थप एक नेपालीको मृत्यु, उद्धारको पहल गर्न आयोगको आग्रह

हिमालय टिभी
२०८० पुष १ गते १७:३५
रुस–युक्रेन युद्धमा थप एक नेपालीको मृत्यु, उद्धारको पहल गर्न आयोगको आग्रह

१ पुस २०८० काठमाडौं । तीन महिनाअघि रुसी सेनामा भर्ना भएका कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको छ ।

परिवारले शुक्रबार शाहको मृत्यु भएको खबर पाएका हुन् । मृत्युको खबर पाएदेखि विक्षिप्त अवस्थामा रहेका आमाबुवा र श्रीमतीले आफन्तजनको सरसल्लाहमा आज कुसको शव बनाएर स्थानीय परम्परा अनुसार टीकापुरस्थित दौलतपुर घाटमा अन्तिम संस्कार गरेका छन् ।

मृतक शाहका भाई मंगल शाहले उनीसँगै कार्यरत सहकर्मीबाट शुक्रबार मृत्युको खबर पाएको जानकारी दिनुभयो । सात वर्ष नेपाल प्रहरीमा काम गरेका शाह तीन वर्षअघि प्रहरीबाट राजीनामा गरेर दुबई गएका थिए । दुबईमा उनी गार्डको काम गर्थे । त्यतैबाट शाह रुस पुगेका थिए ।

यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । केही नेपाली रूसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मृत्यु भएको र केही घाइते भएको भन्दै आयोगले उद्धार गर्न आग्रह गरेको हो ।

युद्धमा परी मृत्यु भएकाको शव नेपाल ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न, स्वदेश फर्कन चाहने नेपालीलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन पनि आयोगले सरकारको ध्यानाकर्षण गरेको छ ।

मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस प्रकारको गैरकानूनी बाटोबाट वैदेशिक रोजगारमा जाने स्थितिको अन्त्य गरी नागरिकको जिउधनको सुरक्षा गर्न आयोगले सरकारलाई आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्