Main News

जाडो सुरु भएसँगै तराई क्षेत्रका वृद्धवृद्धा र बालबालिका समस्यामा (भिडियो रिपोर्टसहित)

२०८० मंसिर २७ गते १७:१६
जाडो सुरु भएसँगै तराई क्षेत्रका  वृद्धवृद्धा र बालबालिका समस्यामा (भिडियो रिपोर्टसहित)

२७ मंसिर २०८० महोत्तरी । जाडो सुरु भएसँगै तराई क्षेत्रमा बसोबास गर्ने विपन्न नागरिकको अवस्था दयनीय बन्छ । जाडो छल्न शरिरमा एकसरो न्यानो कपडाको अभाव छ । बाँसले बारेको र फुसले छाएको घरको चिराचिराबाट चिसो सिरेटो पस्छ ।

यो समय वृद्धवृद्धा र बालबालिकाका लागि कष्टकर बन्ने गरेको छ । घरमात्र होइन, विद्यालयको अवस्था पनि उस्तै छ । जीर्ण भवनमा चारैतिरबाट आउने शितका कारण विद्यालय पनि बसिसक्नु छैन ।

सोमवार बिहान जलेश्वरसंगै महोत्तरीका धेरै ठाउँ शितलहरले ढाकिए । मौसम परिवर्तन भएको छ । तर, विद्यार्थीको पोषाक फेरिएको छैन । अर्थात् उनीहरु गर्मी महिनामा लगाउने त्यही आकाशे निलो रंगको सर्ट लगाएर विद्यालय पुग्छन् । कतिपयको खुट्टामा त चप्पल पनि छैन ।

अनि त्यही जिर्ण विद्यालय भवन र त्यही चिसो भुइँ । अभावले जेलिएका महोत्तरीका सामुदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश बालबालिकासमेत अभावमै छन् ।

भौतिक पूर्वाधारको दुरावस्थाले महोत्तरीका अधिकांश सामुदायिक विद्यालयहरु धरासायी अवस्थामा छन् । शिक्षक पाल्ने थलोको रुपमा रहेका प्रावि र निमावि स्तरका अधिकांश विद्यालय तथा केही माध्यमिक तहको विद्यालयका संरचनासमेत दयनिय अवस्थामा छन् ।

श्री हिरा सोनावती आधारभूत विद्यालयमा २५० भन्दा वढी बालबालिका अध्ययनरत छन् । जाडोयाम सुरु भएसँगै विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थालेको छ । एक त विद्यालय भवन नै जिर्ण छ । त्यसमाथि सबै बालबालिका अट्ने ठाउँ समेत छैन ।यो विद्यालयमा अध्ययनरत बालबालिकाहरु अधिकांश विद्यालय वरिपरीकै दलित बस्तीका हुन् ।

महोत्तरीकै सोनमा गाउँपालिका वडा नं। ३ खखनाको उतरवारी टोलमा रहेको शहिद कमरेड रा।रा।सि।भा।रा।वि। आधारभुत विद्यालयमै समेत भौतिक संरचना उस्तै छ । विद्यालयको भवन र कक्षाकोठा त परै जाओस्, खानेपानी र शौचालयसमेत छैन ।

यी दुई विद्यालय उदाहरण मात्र हुन् । महोत्तरीका अधिकांश सामुदायिक विद्यालयको अवस्था यस्तै छ । कतै डेस्क बेन्च त कतै झ्यालल ढोका छैनन् । कुनै कुनै विद्यालयमा सहयोगी संस्थाहरुले बनाइदिएका भवन छन् । तर, अन्य पूर्वाधारको अभावका कारण कक्षा संचालन गर्न समस्या छ ।

महोत्तरीका १५ स्थानीय तहमा सामुदायिक तथा धार्मिक विद्यालयको बालबिकासमा मात्र १२ हजार २७९ बालबालिका छन् । कक्षा १ देखि १२ सम्म १ लाख ६० हजार २०५ छात्रछात्रा अध्ययनरत छन् । तीमध्ये बालविकासका सबै तथा कक्षा १ देखि ८ सम्मका १ लाख २८ हजार ९४७ बालबालिका चिसोको उच्च जोखिममा छन् । बालबिकासको २ हजार ८०६ तथा कक्षा १ देखि ८ सम्मका २७ हजार ३०९ छात्रछात्रा दलित छन् ।

महोत्तरीका अधिकांश विद्यालयमा कष्टपूर्ण अवस्था हुँदा स्थानीय तहले यो समस्या साधानका लागि खासै पहल गरेको देखिँदैन । शिक्षा संयोजकहरु आवश्यक बजेट अभावको कारण देखाउँदै जिम्मेवारीबाट पन्छिन खोज्छन् भने जनप्रतिनिधि शिक्षामा ठूलो लगानी गरेका छौं भनेर ठूलो कुरा गर्दछन् । तर, यो अवस्था देखाउँदा नाजवाफ हुन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *