बिशेष

राष्ट्रियसभा ताक्दै कांग्रेसका शीर्ष नेता (भिडियो रिपोर्टसहित)

२०८० मंसिर २५ गते १५:०३
राष्ट्रियसभा ताक्दै कांग्रेसका शीर्ष नेता (भिडियो रिपोर्टसहित)

२५ मंसिर २०८० काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ पराजित भएकाहरू उपनिर्वाचनमा सहभागी हुन निकै जोडबल गर्ने कुरा अनौठो भएन । तर अहिले त राष्ट्रियसभा सदस्य बन्न पनि यस्तै हठ राजनीतिक दलका नेतामा देखिएको छ ।

निर्वाचन आयोगले राष्ट्रियसभाको उम्मेदवार बन्न समानुपातिकको सूचीमा भएकाले नपाउने नियम ल्याएसँगै राजनीतिक दलका नेताहरू सूचीबाट नाम फिर्ता लिएर उम्मेदवार बन्ने दौडमा लागेका छन् । यसरी नाम फिर्ता लिनेमा चर्चित अनुहारकै संख्या उच्च छ ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्य अर्थात् २० जनाको पदावधि सकिँदैछ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । गोलाप्रथाबाट ६ वर्षको पदावधि पाएका २० जनाको कार्यकाल सकिँदै गर्दा निर्वाचन हुन लागेको हो । र यसरी जानेको पदावधि ६ वर्षको हुनेछ ।

माघ ११ का लागि तय गरिएको निर्वाचनमा भाग लिन पटकपटक सांसद भइसकेका व्यक्ति पनि दौडमा देखिएका छन् । यतिसम्मकी प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पराजित भएकाहरू पनि यो सूचीमा छन् । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक सूचीमा नाम रहेकाले उम्मेदवार बनाउने नपाउने व्यवस्था गरेपछि अहिले राष्ट्रिय सभामा पद ताक्दै समानुपातिक सूचीबाट नाम फिर्ता लिने क्रम बढेको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार हालसम्म २ सय ४७ जनाले नाम फिर्ता लिइसकेका छन् । कतिपयले त आसन्न राष्ट्रिय सभा निर्वाचन त कतिपयले राष्ट्रिय दल बन्न नसकेकाले नाम फिर्ता लिएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीले सबैको बन्द सूचीबाट नाम फिर्ता लिइसकेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३० को उपदफा ३ मा दुवै तहको समानुपातिकको बन्द सूचीमा रहेकाले राष्ट्रिय सभा निर्वाचनमा उमेदवारी बन्न नपाउने उल्लेख गरिएको छ । यही बाध्यकारी व्यवस्थाका कारण दल र नेताहरुले नाम फिर्ता लिइरहेका हुन् ।

समानुपातिक सूचीबाट नाम फिर्ता गराउनेहरू
गोपालमान श्रेष्ठ
केन्द्रीय सदस्य आनन्द ढुंगाना
केन्द्रीय सदस्य अब्दुल सतार
केन्द्रीय सदस्य बालकृष्ण पाण्डे

संवैधानिक परिषदमा कांग्रेसको पनि उपस्थिति रहने भएकाले राष्ट्रियसभा अध्यक्ष नै पाउने गरी कांग्रेसका नेताहरू दौडधुपमा छन् । गोपालमान श्रेष्ठ त्यसैले आफ्नो नाम हटाउन पुग्नुभएको छ । तर कांग्रेसभित्र कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने तयारी चलेको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरुबीच राष्ट्रियसभा निर्वाचनमा पनि तालमेल हुने भएकाले कांग्रेसमा उम्मेदवार धेरै देखिएका हुन् । शीर्ष तहका केही नेता देखि विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरु कांग्रेसबाट राष्ट्रिय सभाको सदस्य हुन आकांक्षी देखिएका हुन् । कलाकार निर शाह, सभापति शेरबहादुर देउवाका पूर्व परराष्ट्र सल्लाहकार अरुण सुवेदी, उद्योगी अनिल रुङटा पनि कांग्रेसबाट राष्ट्रिय सभाका आकांक्षी देखिएका छन् । ६ वर्षे कार्यकाल कारण पनि धेरै आकांक्षी देखिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्