बिशेष

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, बैंक र नीतिगत दर घट्यो

भूकम्प प्रभावितले घर बनाउन सस्तो ब्याजमा ऋण पाउने

हिमालय टिभी
२०८० मंसिर २२ गते १३:०४
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, बैंक र नीतिगत दर घट्यो

२२ मंसिर २०८० काठमाडौं । बैंक दर र नीतिगत दर घटाउँदै नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आज विहान मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्दै बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत र नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको हो । यस्तै निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३.० प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ । विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएको केन्द्रीय बैंकले जनाएको छ ।

५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाएर ६० प्रतिशत कायम गरेको छ । मौद्रिक नीतिको समिक्षामार्फत ५० प्रतिशतको अनुपातलाई बढाएर ६० प्रतिशत बनाइएको हो । भूकम्पमा परी क्षतिग्रस्त भएका घर परिवारले पुनर्निर्माणमा बैंकबाट सहुलियत ऋण पाउने व्यवस्था गरेको छ ।

पीडितलाईं बैंक तथा वित्तीय सस्थाले २५ लाख रुपैयाँसम्मको आवसीय घरकर्जा दिँदा आधारदरमा २ प्रतिशतमात्रै प्रिमियम थप गरेर ऋण दिनुपर्ने व्यवस्था गरेको हो । बैंक तथा वित्तीय सस्थाले साविकको कर्जा धितो अनुपातमा १० प्रतिशत वा सो भन्दा बढी बिन्दुसम्म थप गर्नसक्ने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरु उपरको कारबाहीलाई थप प्रभावकारी बनाउने भएको छ । त्यस्तो परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई कर्जा पुनःसंरचना र पुनर्तालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गर्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले समस्यामा परेका ऋणीहरुबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको १० प्रतिशत रकम असुल गरी कर्जा पुनःसंरचना गर्नसक्ने अवधि २०८० चैत मसान्तसम्म कायम गरी पुनःसंरचना गर्नसक्ने क्षेत्रहरुको बिस्तार गरिने समीक्षामा उल्लेख छ । गत वर्षको मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले हटाएको आन्तरिक रेमिट्यान्स कारोबार खुला गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्