कोशी प्रदेशका तीन मन्त्रीले पाए जिम्मेवारी

१७ मंसिर २०८० मोरङ । कोशी प्रदेशका तीन मन्त्रीको जिम्मेवारी पाएका छन् ।
मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसबाट मन्त्री भएका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिनु भएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीले आफैंसँग राख्नु भएको छ ।
एमालेका ३९ र कांग्रेसबाट विद्रोह गरेका ८ जना सांसदको समर्थनमा असोज २७ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त कार्कीले कात्तिक १ गते विश्वासको मत लिनुभएको थियो ।
आफूसँग सल्लाह नगरी मुख्यमन्त्री कार्कीले माओवादी र समाजवादीलाई सरकारमा सहभागी गराएको भन्दै एमालेले कात्तिक १८ गते सरकार छाडेको थियो । एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाए पनि समर्थन भने फिर्ता लिएको छैन ।
प्रतिक्रिया