बीबीसी सय महिलाको सूचीमा नेपालकी रुक्शना कपाली (भिडियो रिपोर्टसहित)
६ मंसिर २०८० काठमाडौं । बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा नेपालकी रुक्शना कपाली पनि परेकी छन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रुपमा सक्रिय रुक्शना अभियन्ता हुन् । बीबीसीले हरेक वर्ष विभिन्न देशका एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आएको छ । यस वर्ष सन् २०२३ को सूचीमा रुक्शना पनि रहेकी छन् ।
उहाँ हुनुहुन्छ, रुक्शना कपाली । बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा परेपछि रुक्शनासँग हामीले भेट्यौ । हाम्रो स्टुडियोमा आएर उहाँले बीबीसीले दिएको सम्मानले खुसीसँगै थप जिम्मेवार बन्न प्रेरणा दिएको महसुस भएको बताउनुभयो ।
२४ बर्षीया रुक्शनाले १० बर्ष पहिले आफ्नो लैंगिकता र पहिचान उजागर पछि समान व्यवहारका लागि परिवारसँग लड्नु पर्यो । त्यो लडाइले किनारा पाएपछि रुक्शनाले विश्वविद्यालयमा पढ्ने, परीक्षा दिने अधिकार पाउनबाट पटक(पटक बन्चित हुनुपर्यो । एलएलबी तेस्रो वर्षमा अध्ययनरत रुक्शनाले सन् २०१८ पारलैङ्गिक महिला भएकै कारण त्रिभुवन विश्वविद्यालयले रजिष्ट्रेशन नदिएको सत्यसँग आमनेसामने हुनुपर्यो ।
२०२२ मा फेरि पूर्वाञ्चल विश्वविद्यालयले रजिष्ट्रेशनका साथै परीक्षा प्रवेश पत्र दिइएन । ५ वर्षे बिएएलएलबी प्रथम वर्ष अध्ययनरत् उहाँलाई परीक्षाको मुखैमा प्रवेश पत्रबाट इन्कार गरिएको थियो ।
विश्वविद्यालयले परीक्षाबाट वञ्चित गराउने भएपछि सामाजिक संजालमा #JusticeForTransPeople ह्यासट्याग आन्दोलन ट्रेन्डिङ भएको थियो । व्यापक दबाब पश्चात् रजिष्ट्रेशन नम्बर बिनाको परीक्षा प्रवेश पत्र दिइएको थियो । रुक्शनाको एसएलसी प्रमाणपत्र लैङ्गिक पहिचान अनुसार संशोधन हुन नसक्दा र एसएलसी प्रमाणपत्र संशोधन गर्ने कुनै कानूनी व्यवस्था नभएका कारण यो समस्या निम्तेको उल्लेख छ ।
कानूनको विद्यार्थी भएका कारण पनि आफु र आफु जस्ता नागरिकको अधिकार स्थापितका लागि आवाज उठाउन रुक्शना सधै निडर देखिनुहुन्छ । आज उहाँलाइ पारलैङ्गिक महिला अधिकारकर्मी तथा लेखकको परिचयले पनि चिन्न सकिन्छ ।
नेवाः समुदायमा सीमान्तकृत भनिने ‘जुगी’ जातिकी सदस्य र यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रुपमा कपाली सक्रिय हुनुहुन्छ । कपाली सो समुदायका मानिस बस्दै आएको घरमा बलपूर्वक निकालिने कार्यविरुद्ध संघर्ष गरिरहनु भएको छ । कपालीको यस्तै सक्रियताको पहिचान गरि यस बर्षको प्रभावशाली १०० महिलाको सूचीमा बिबिसीले समावेश गरेको हो । रुक्शनाले आफू हुर्कदै गर्दा शरिर र आत्माले महसुस गर्ने फरकपनाबारे जानकारी गराउने कोहि नपाएको उल्लेख गर्नुहुन्छ ।
बीबीसीले यस वर्ष जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने अग्रणी व्यक्ति, संस्कृति र शिक्षा, मनोरञ्जन र खेलकुद, राजनीति र वकालत, विज्ञान, स्वास्थ्य तथा प्रविधिअन्तर्गतबाट प्रभावशाली सय महिला छनोट गरेको हो।
एलजीबीटीक्यू प्लस समुदायलाई कानुनी र संवैधानिक अधिकार दिलाउन संघर्षरत रहेकी छिन् । सन् २०१३ देखि बीबीसीले एक सय महिलाको सूचि सार्वजनिक गर्दै आएको छ । सन् २०२० मा पशुपति आर्यघाटमा दागबत्ती दिंदै आएकी सपना रोका मगर पर्नुभएको थियो । सन् २०१९ मा महिला सशक्तिकरणसँगै पोषणको क्षेत्रमा काम गरेकी बोनिता शर्मा पर्नुभएको थियो ।
प्रतिक्रिया