बिशेष

राजतन्त्रको द्विविधा : ज्ञानेन्द्र नै अलमलमा, परालको लौरो टेकेर राजा बन्ने हुटहुटी ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० मंसिर ३ गते २०:४९
राजतन्त्रको द्विविधा : ज्ञानेन्द्र नै अलमलमा, परालको लौरो टेकेर राजा बन्ने हुटहुटी ! (भिडियो रिपोर्टसहित)

३ मंसिर २०८० काठमाडौं । पछिल्लो आम निर्वाचनबाट पाँचौ शक्ति बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘राजसंस्था’ र ‘हिन्दूराष्ट्र’ आफ्नो मुल मुद्दा बनाएको छ। तर, राप्रपा आफूले चाहेको राजसंस्थाको भूमिकाबारे प्रष्ट छैन।

राप्रपाका कतिपय नेताले धार्मिक तथा सांस्कृतिक राजा भनिरहेका छन् त केहीले सक्रिय । दुईसय चालीस वर्षीय राजतन्त्रका अन्तिम उत्तराधिकारी ज्ञानेन्द्र शाह स्वयम् राजतन्त्र फर्काउन खुलेर मैदानमा देखिनुभएको छैन । तर परालको लौरो टेकेर राजा बन्ने हुटहुटी पनि हराएको छैन ।

पूर्वराजा ज्ञानेन्द्र शाहको उमेर ढल्कँदो छ । तर उमेरसँगै उहाँमा फेरि एकपटक राजा बन्ने भुत सवार छ । ज्ञानेद्रसँगै राप्रपामा पनि त्यो हतारो जस्तो देखिन्छ तर राप्रपा राजसंस्था र धर्मको नाममा राजनीति जोगाइराख्न चाहन्छ । मंसिर ४ कै निर्वाचनले पनि राप्रपालाई राजसंस्था फर्काउने गरी जनमत दिएन ।

राप्रपाले जनतालाई कस्तो राजतन्त्र ल्याउन खोजेको हो भन्ने प्रष्ट्याउन पनि सकेको छैन । राप्रपाको एजेन्डा ‘राजतन्त्र’प्रति अधिकांश नागरिकले पत्याइहालेका पनि छैनन् । मंसिरमा सम्पन्न निर्वाचनले राजा फर्काउने गरी राप्रपाले मत नै पाएन । नेताहरु आफैं पनि सांस्कृतिक, धार्मिक वा सक्रिय राजतन्त्र कुन हुनेभन्नेमा प्रष्ट छैनन् ।

बेलाबेलामा तत्कालीन परिस्थितिबारे निराशापूर्ण सन्देश प्रवाह गर्ने गरेका पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो जन्मदिनमा, पृथ्वीनारायण शाहको जन्मजयन्तीमा र दशैँको छेकोमा शुभकामना सन्देश दिँदै दलहरुमाथि आक्रोश व्यक्त गर्दै आउनुभएको छ । देशमा राजसंस्थाको उन्मुलन भइसकेपछि सामान्य नागरिकसरह बसिरहेका ज्ञानेन्द्रले श्री ५ कै हैसियतमा सन्देश जारी गर्दै निराशा व्यक्त गर्ने गरेको भए पनि राजनीतिमै आएर आफ्नो ताकत देखाउने हिम्मत भने गर्नु सक्नु भएको छैन ।

जनताको सामान्य जनजीविकामा राजतन्त्र हुँदा र नहुँदाको अन्तर महसूस गराउन दलहरूले नसक्दा पूर्वराजा शाह हौसिँदै गएको प्रष्ट छ । उहाँकै नाममा राजनीतिक गरेका राप्रपालगायतका कतिपय दल र समूह राजसंस्था पुनर्स्थापनाको अभियानमा छन् । तर राजनीतिक दलमा आफ्नो कुनै संलग्नता नरहेको बताउने राजा बेलाबेला तत्कालीन व्यवस्थाप्रति निराशापूर्ण अभिव्यक्ति लिएर झुल्किनुहुन्छ ।

खोपीको देउताका रुपमा राखिएका राजाले कुनै दिन शिव स्वरुप धारण गरेर मुलुकभर फैलिएको अव्यवस्था र अस्तव्यस्तताको कालकुट विष पिउँछन् भन्ने कतिपयलाई लागिरहेको छ । यही बल र भरोसाका कारण बेलाबेलामा पूर्वराजा ज्ञानेन्द्र उही पूरानो श्री ५ को धङधङीसहित प्रस्तुत हुने गर्नुभएको छ ।

त्यसो त बेलाबेला राजनीतिक दलका नेता नै पूर्वराजाको सक्रियताप्रति सशंकित हुने गरेका छन् । त्यसैले निर्मल निवासको एउटा सानो सन्देशले सिंहदरबार थर्कमान हुने गर्छ । पूर्वराजाको सन्देश आएयता तिहारअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे शान्ति सम्झौता गर्ने दलहरूलाई बोलाएर व्यवस्था परिवर्तन गर्न खोज्नेविरुद्ध एक भएर लड्ने प्रतिबद्धता खोज्नुभएको थियो । ज्ञानेन्द्र शाह नेपाली राजनीतिमा असफल नाम हो ।

नागरिकका मौलिक अधिकार कटौति गरेर प्रणालीमाथि कु गरेको बैगुन पनि बिर्सिहाल्ने बेला भएको छैन । यद्यपि आफ्ना पछाडि ठूलै संख्या लागिरहेको छ र निकास दिने सुत्र आफूसँगै छ भन्ने ठानिरहेका ज्ञानेन्द्रलाई राजनीतिक बाटो खुलै पनि छ । यद्यपि बन्द कोठाभित्र बसेर दल र व्यवस्थाप्रति वितृष्णा सुनाइरहेका पूर्वराजाले त्यो हिम्मत गरेको र गर्नसक्ने छाँटकाँट चाँहि देखिँदैन । तर ज्ञानेन्द्रले यो बुझ्न जरुरी छ कि परालको लौरो टेकेर कहीँ पुगिदैन त्यसका लागि दल खोलेर अहिलेका दलहरूसँग भिड्नुको विकल्प छैन ।

न त उहाँमा राजसंस्था फर्काउने प्रष्टता पनि छैन । राजनीति नै गर्ने रहर भए चुनावी मैदान उत्रिने हिम्मत पनि छैन । भारत वा अन्य शक्ति केन्द्रको आश्वासनमा उहाँ उत्साहित त देखिनुभएको छ तर वास्तविक जनमत आफ्नो पक्षमा पार्न हिजो पनि र आज पनि उहाँ असफल नै हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्