Main News

जलवायु परिवर्तनले पारेका असरबारे नेपालले विश्वको ध्यान तान्न सक्ला ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० मंसिर ३ गते ७:३८
जलवायु परिवर्तनले पारेका असरबारे नेपालले विश्वको ध्यान तान्न सक्ला ? (भिडियो रिपोर्टसहित)

३ मंसिर २०८० काठमाडौं । जलवायु परिवर्तनको असरले नेपालको तापमान मात्र होइन, दैनिक जीवनलाई पनि विस्तारै प्रभावित पार्दैछ । हिउँ पग्लिएर हिमालहरु नाङ्गो बन्न थालेका छन् भने तालहरु फुट्न थालेका छन् ।

हिमालका आधार शिविरहरुमा तापक्रम बढ्ने क्रममा छन् । जलवायु परिवर्तनको असरले विश्व नै प्रभावित छ । मंसिर १४ देखि २६ गतेसम्म युनाइटेड अरब इमिरेट्सको दुबईमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन कोप २८ हुँदैछ । यो सम्मेलनमा नेपालले आफूलाई परेका असरहरुबारे विश्व ध्यान तान्न सक्ला कि नसक्ला ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्वको सर्वोच्च शिखर सगरमाथाको फेद कालापत्थरमा उभिएर जलवायु परिवर्तनको असरबाट नेपालले भोग्नुपरेका असरबारे बोल्दै हुनुहुन्थ्यो । उहाँ बोल्दै गर्दा त्यहाँको तापक्रम औषतमा माइनस ४ डिग्री रहेको थियो । यो तापमान विस्तारै बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघको एउटा प्रतिवेदनले वार्षिक शून्य दशमलव शून्य ५६ सेल्सियसले बढ्दैछ । यो क्रम आगामी वर्षमा थप बढ्ने चेतावनी दिइएको छ ।

कार्वनउत्सर्जनमा कमी नआए मध्यम काल अर्थात सन् २०१६ देखि सन् २०४५ सम्ममा औसतमा तापक्रम शून्य दशमलव ९ देखि १ दशमलव १ डिग्रीसम्म बढ्ने अनुमान गरिएको छ । हिमाली भेगमा थप बढ्ने चिन्ता रहेको छ । वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापनले तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सीयसमा सीमित गर्न सके पनि नेपालका हिमाली क्षेत्रमा त्यसको प्रभाव १ दशमलव ८ डिग्री सेल्सीयसले बढ्ने अवस्था आउने चेतावनी दिएको छ ।

जलवायु परिवर्तनका असरले नेपालको हकमा वर्षाको प्रवृत्तिमा व्यापक फेरबदल ल्याउनेछ । हिमताल विस्फोटन, अनपेक्षित विपद् लगायतका असरले खाद्य उत्पादन, जलस्रोत व्यवस्थापन तथा जनजीविकामा प्रभाव पर्नेछ । हिमालहरु कालापत्थरमा परिणत हुने खतरा पनि उत्तिकैछ । त्यसैले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सगरमाथाको फेदीलाई आफ्नो गन्तव्य बनाउँदै गत कात्तिक १३ गते विश्वका ठूला राष्ट्रहरुलाई पागलपन बन्द गर्न चेतावनी दिनुभयो । कार्वनउत्सर्जन कम नगरे विश्वले आफ्नो पहिचान गुमाउने उहाँको चिन्ता थियो ।

कोप २८ सम्मेलनको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघीय महासचिवको भ्रमणबाट नेपालले विश्वलाई आफ्ना समस्या सुनाउन पाएको छ । के अब बढ्दो समस्या समाधानका लागि यो सम्मेलन नेपाल जस्ता प्रभावित मुलुकका लागि फलदायी बन्नला रु प्रधानमन्त्री प्रचण्ड कालापत्थरमा पुगेर दीप प्रज्वलन गर्दै अब जलवायुको असर समाधानका लागि विश्वसामु अनुनय विनय गर्ने होइन, अधिकार माग्ने बताउँनुहुन्छ ।

कालापत्थरमा १४ वर्षअघि मन्त्रिपरिषद् बैठक पनि राखिएको थियो । २०६६ मंसिर १९ गते बसेको मन्त्रिपरिषद् बैठकले १० बुँदे घोषणापत्र जारी गरेको थियो । त्यसमा जलवायु परिवर्तनले पर्वतीय देशमा परेका असरबारे विश्वको ध्यानाकर्षण गराउनेदेखि विश्व समुदायबाट क्षतिपूर्ति भराउनेसम्मका एजेण्डा थिए । अहिले पनि नेपाल त्यही एजेण्डाका आधारमा अघि बढेको छ । प्रधानमन्त्रीले भनेझैं के नेपालले आफ्ना एजेण्डामा विश्वको ध्यान तान्न सक्ला रु के–के राख्दैछ, एजेण्डा रु

–जलवायु वित्त
–अनुकूलन
–जलवायुजन्य हानि र नोक्सानीका लागि कोषको व्यवस्थापन
–हिमाल र पर्वतीय मुद्दा
–उत्सर्जन कटौती र समावेशीता

यी एजेण्डामा एकमत बनाउन र समस्याको थप पहिचानका लागि सरकारले मंसिर ५ गते राष्ट्रिय जलवायु सम्मेलन आयोजना गर्दैछ । यसपटकको कोप २८ मा नेपालले इजिप्टमा भएको कोप २७ मा कोषको स्थापना गर्ने एजेण्डालाई कार्यान्वयनमा ल्याउन नेपालले आफ्नो तर्फबाट दबाब पनि दिनेछ । नेपालको हिमाली क्षेत्रमा मनसुन र प्राकृतिक असर मात्र होइन, दैनिक जीवनमा पनि प्रभाव पर्न थालेको छ । कतिसम्म भने प्रजननमा पनि समस्या आउन थालेको कतिपय प्रतिवेदनहरुले देखाएका छन् । यसपटक विश्वलाई नेपालले आफ्ना चुनौति प्रष्टसँग राख्न सक्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *