बिशेष

प्रहरीले किन चलाइरहेको छ लगातार गोली ? प्रहरीको गोलीबाट ५ वर्षमा ९० को मृत्यु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० मंसिर ३ गते ७:३१
प्रहरीले किन चलाइरहेको छ लगातार गोली ? प्रहरीको गोलीबाट ५ वर्षमा ९० को मृत्यु (भिडियो रिपोर्टसहित)

३ मंसिर २०८० काठमाडौं । पछिल्लो समय प्रहरीले कसैलाई नियन्त्रणमा लिनुपरे सिधै गोली चलाउने गरेको छ । केहीलाई भाग्न खोजेको भन्दै वा कुनै बाहनामा प्रहरीले लगातार गोली चलाइरहेको छ र यसबाट कयौँको मृत्यु र कयौँ घाइते भइरहेका छन् ।

कानूनले प्रहरीलाई कुनै पनि अपराधीमाथि वा आरोपीमाथि गोली चलाउने अधिकार दिएको छैन । गोली चलाउनै पर्ने अवस्था आइलाग्दा पनि अनुमति लिनुपर्छ । तर अहिले प्रहरीले किन लगातार चलाइरहेको छ गोली ?

घटना १
सर्लाहीको लालबन्दी नगरपालिका–२ का ३२ वर्षीय शक्तिकपुर पासवान र ३३ वर्षीय अजय पासवानलाई कार्तिक २९ गते प्रहरी गोली हानी घाइते बनायो । लुटपाटमा संलग्न भएको भन्दै पक्राउ गर्नका लागि प्रहरीले गोली चलाउँदा दुवै जनाको घुँडाभन्दा माथि गोली लागेको छ र उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।

घटना २
जेठ २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकै विकास भगत नामका व्यक्तिलाई लागुऔषध कारोबारी रहेको आरोपमा प्रहरीले गोली चलायो । कम्मरमा गोली लागेका भगतको गम्भीर घाइते अवस्थामा अझै उपचार चलिरहेको छ । प्रहरीले उनलाई गोली चलाएर पक्राउ गरे पनि लागूऔषध कारोबारको गुह्य कुरो पत्ता लगाउन सकेको छैन ।

यी प्रतिनिधि घटना मात्रै हुन् । पछिलो पाँच वर्षमा मात्रै प्रहरीले ३ सय ५६ जनामाथि गोली चलाएको छ । तीमध्ये ९० जनाको उपचारका क्रममा मृत्यु नै भएको छ । मृत्यु हुनेमध्ये १० जना त न फरार आरोपी हुन् न त कुनै पनि अपराधमा संलग्न । बिना कारण प्रहरीको गोली लागेका ३५ जना घाइते भएका छन् । पछिल्ला पाँच वर्षको तथ्यांकले प्रहरीले गोली प्रहार गरी सफायामा ध्यान केन्द्रित गरेको देखाएको छ ।

कुनै बेला प्रहरीको गोलीले गुण्डाराज धर्मराएको पनि थियो । दिनेश अधिकारी चरी, कुमार घैँटे लगायत गुण्डानाइकेलाई प्रहरीले इन्काउन्टरका नाममा मारेको थियो । ती केही फरक घटना भए पनि अहिले जथाभावी चलाइरहेको गोलीले कयौँ आम मानिस पीडित बनेका छन् । यसले प्रहरीले चर्चाका लागिसमेत गोली चलाइरहेको र नागरिकको ज्यूधन मासिरहेको देखाउँछ ।

स्गानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा १ को ९क० मा कुनै सभा जुलुस वा भिडले हिंसात्मक वा ध्वंसात्मक प्रवृत्ति लिई त्यसको कुनै काम कारबाहीबाट शान्ति भंग हुने सम्भावना देखिएमा प्रहरीद्वारा रोक्न लगाउने र प्रहरीले नियन्त्रण गर्न नसकेकोमा सम्बन्धित ठाउँमा प्रमुख जिल्ला अधिकारी तुरून्तै आफैं गई वा आफू मातहतका अधिकृतलाई पठाई सकेसम्म सम्झाई शान्ति कायम गराउने र नसकेमा प्रहरीको मद्दतले लाठी चार्ज, अश्रुग्यास, पानीको फोहरा र हवाई फायरसमेत आवश्यकता र परिस्थिति अनुसार जो गर्नु पर्ने बल प्रयोग गरी शान्ति कायम गर्ने गराउने उल्लेख छ ।

यदि शान्ति कायम गर्न नसकिने देखिएमा र गोली चलाउनुपर्ने आवश्यकता परेमा भिडलाई हट्दैनौ भने गोली चलाइनेछ भनी स्पष्टसँग बुझ्ने गरी चेतावनी दिने र त्यति गर्दा पनि भिड हटेन र गोली चलाउनुपर्ने नै भयो भने घुँडामुनि गोली चलाउन सकिने उल्लेख छ । तर प्रहरीका पछिल्ला गोली प्रहारका घटना हेर्ने हो भने सामान्य अवस्थामै गोली चलाउने र नागरिकको ज्यान जोखिममा पार्ने गरेको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्