भूराजनीतिक दबाबमा टिकटक प्रतिबन्ध ! (भिडियो रिपोर्टसहित)
२ मंसिर २०८० काठमाडौं । सरकारले प्रतिबन्ध लगाएपछि आफ्ना असहमतिहरू व्यक्त गर्दै टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएर असन्तुष्टि जनाएको छ।
कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि दक्षिण एसिया प्रमुख फर्डोउस मोट्टाकिनले त्यही दिन नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई इमेलमार्फत पत्र लेखेर असन्तुष्टि पोखेका छन् । अश्लील सामग्री हटाउँछु भन्दाभन्दै किन बन्द गरेको भन्ने प्रश्न गरिरहँदा विदेश मामिलाका जानकार भने भूराजनीतिक दबाब देख्छन् ।
टिकटक सिंगापुर कार्यालयका प्रतिनिधिसँग कात्तिक १७ गते गृहमन्त्रीसहित सुरक्षा निकायका प्रतिनिधिले सरकारले चाहेको टिकटक भिडियो स्वतः हटाउन सक्ने सुविधा दिन माग गरेका थिए । छलफलमा नेपालमा टिकटकले साइवर अपराध बढाएको भन्दै नेपाललाई गैर कानूनी देखिएका सामग्री हटाउन सक्ने संरचनामा पहुँच दिन माग गरेका थिए।
साइबर अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकारीसहितको बैठकले कानून विपरीत देखिएका सामाग्री तत्काल हटाउन मिल्नेगरी नेपाललाई विशेष पहुँच दिनेबारे छलफल भएको थियो। तर सिंगापुरबाट आएका टिकटक प्रतिनिधिले भने गैर कानूनी गतिविधि रोक्न आफूहरू सकारात्मक रहेको र कुनै पनि देशका प्रतिनिधालाई स्वतः सामग्री हटाउने वा अन्य विवरणमा पहुँच दिन नसकिने जवाफ दिएका थिए।
टिकटकका प्रतिनिधिसँगको छलफलबारे गृहले सार्वजनिक विज्ञप्ति जारी गरेको थियो । टिकटकका प्रतिनिधिसँग सामाजिक सञ्जाललाई व्यवस्थित बनाउनेबारे छलफल भएको १० दिनमा सरकारले नेपालमा टिकटकै रोक्ने निर्णय गर्यो।
मन्त्रिपरिषद्बाट भएको निर्णयको आधार विशिष्ट व्यक्तिको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील सामग्रीलाई नै देखाइयो। तर टिकटक रोक लगाएपछि टिकटकले असन्तुष्टि जनाउँदै पत्र लेखेको छ । र पत्रमार्फत नेपालमा भएका र नेपालका सरकारी निकायसँग गरिएका समझदारीहरूको स्मरण गराउने सातवटा बुँदा पनि उल्लेख गरेको छ ।
के छ टिकटकको पत्रमा ?
गत जुन ७ मा नेपाल सरकारका लागि स्थानीय कानुनको उल्लङ्घन भएको कुनै पनि सामग्रीबारे रिपोर्ट गर्न सकोस् भनेर ‘ट्रस्ट एन्ड सेफ्टी इन्फोर्समेन्ट टुल (टीएईटी)’ को पहुँच दिएको
गत अगस्ट २९ मा नेपालमा डिजिटल सेवा करदाताको रूपमा दर्ता पनि भएको
सन् २०२२ को अक्टोबरदेखि गत जुनसम्ममा टिकटकको ‘कम्युनिटी गाइडलाइनहरू’ उल्लङ्घन गरेका २९ लाख ८० हजार भिडिओहरू नेपालमा आफ्नो प्लेटफर्मबाट हटाएको
टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय ‘आफूसँग’ नेपाल सरकारले निरन्तर संलग्न भएर काम गर्ने भनी गरेको सहकार्यको प्रस्ताव विपरीतको भएको
नेपाल सरकारसँग निरन्तर सहकार्य गर्न र आवश्यक प्रावधानहरू गरेर काम गर्न तत्पर रहेको
टिकटकमाथिको प्रतिबन्ध वाक् र अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तसँग मेल नखाने खालको भएको
तर खासमा सरकारलाई सामग्री हटाउने अनुमति नदिएको आक्रोशका रूपमा यो निर्णय आएको भेउ पाउन मुस्किल छैन । तर धेरैले यसलाई भूराजनीति कारणसँग पनि जोडेका छन् । चीनसँगको सम्बन्ध नबिग्रेपनि पछिल्लो समय प्रधानमन्त्रीको भ्रमण बिग्रिएको सम्बन्ध सुधारमा केन्द्रित थियो ।
सरकारले नेपालका विभिन्न आयोजनामा चीनको सहभागितालाई हटाएर भारतलाई सुम्पिएको छ । भारत र अमेरिका चीनसँग नेपालको सम्बन्ध सुमधुर नहोस् भन्ने सधैँ चाहन्छन् । र यो निर्णयले चीन सरकारमाथि दबाब बढेको समेत आकलन हुन थालेको छ । टिकटक प्रतिबन्धको निर्णय भारत अमेरिकाकै दवाव झेल्न नसकेपछि भएको टिप्पणी हुन थालेको छ ।
टिकटकसँग सहमति गरेरै ‘कम्युनिटी गाइडलाइनहरू’ उल्लङ्घन गरेका २९ लाख ८० हजार भिडिओहरू नेपालमा आफ्नो प्लेटफर्मबाट हटाइसक्दा पनि सरकारको चित्त के कुराले बुझेन ? किन हतारमा प्रतिबन्ध लगाइयो ? यसले स्वभाविक रूपमा सरकारमाथि शंकाको सुविधा दिएको छ । तर सकारले सामाजिक सद्भाव खलल पुगेको भनेर टिकटक मात्र रोक लगाइँदा भूराजनीतिक गन्धले बढी स्थान पाएको छ ।
प्रतिक्रिया