बिशेष

टिकटकमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्चमा दश वटा मुद्दा दायर

हिमालय टिभी
२०८० मंसिर १ गते १६:५५
टिकटकमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्चमा दश वटा मुद्दा दायर

१ मंसिर २०८० काठमाडौं । नेपालमा टिकटकलाई प्रतिबन्धित गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दर्ता भएका छन् ।

तिहार बिदापछि आज सर्वोच्च अदालत खुलेसँगै टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध रिट निवेदन दायर भएका हुन् । मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार टिकटक बन्द गर्ने सरकारी निर्णयविरुद्ध १० वटा रिट निवेदन परेका छन् । ती रिटमाथिको सुनुवाइ मंसिर ४ गते सोमबारका लागि तय गरिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरिएको रिटमा टिकटकलाई नेपालमा प्रतिबन्धित गर्ने सरकारी निर्णयले संविधानप्रदत्त सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको हकको उल्लंघन गरेको जिकिर गर्दै उक्त निर्णय खारेज गर्न माग गरिएको छ । सरकारको निर्णयपछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा पहुँच दिने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने बताएको छ । सरकारले लगातार रूपमा सामाजिक सद्भाव बिथोलिएको, पारिवारिक संरचना तथा सामाजिक सम्बन्धलाई खलल पुर्‍याएको तर्क दिँदै टिकटक बन्द गर्ने निर्णय गरिएको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्