बिशेष

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय, सर्वत्र आलोचना

हिमालय टिभी
२०८० कार्तिक २७ गते १४:३७
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय, सर्वत्र आलोचना

२७ कात्तिक २०८० काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको भन्दै सर्वत्र आलोचना भएको छ ।

कांग्रेस महामन्त्री गगन थापाले सरकार टिकटक बन्द गरेर उल्टोबाटो हिडेको आरोप लगाउनुभएको छ । सामाजिक सञ्जाल एक्समा थापाले दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भएपनि बन्द गरिनु गलत भएको थापाको टिप्पणी छ ।

यस्तै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि सरकारको निर्णयप्रति रोष प्रकट गरेका छन् । नियमनमा ध्यान नदिएर बन्दै गर्ने निर्णय निरंकुशशैली भएको कतिपयले बताएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय भएको सरकारी तर्क छ ।

पत्रकार सम्मेलनमा मन्त्री शर्माले भन्नुभयो – ‘लगातार सामाजिक सञ्जाल टिकटकबाट लगातार रुपमा सामाजिक सद्भाव बिथोलिने गरेर र विभिन्न हाम्रो पारिवारिक संरचना, हाम्रो सामाजिक सम्बन्धलाई खलबल हुनेगरी लगातार प्रचारप्रसार भइरहेका छन् यस सन्दर्भमा अहिले तत्काललाई टिकटक बन्द गर्ने भन्ने निर्णय गरेको छ । यसको निम्ति हामीले निर्णय गरेर सञ्चार मन्त्रालयलाई निर्देशन गर्ने भन्ने निर्णय भएको छ । प्राविधिक रुपमा साथीहरु लागिरहनु भएको छ । प्राविधिक रुपमा यो आजैबाट पनि सम्भव हुनसक्छ । यसको लागि सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरण तयारीमा गइसक्नुभएको छ ।’

यसअघि सरकारले सामाजिक सञ्जाललाई कडाईंपूर्वक निगरानी गर्न कार्यविधि ल्याएको थियो । अहिलेसम्म भारत, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, नर्वे, न्यूजिल्याण्ड, डेनमार्क लगायतका देशले टिकटक बन्द गरेका छन् ।

भारतले २०२० मै टिकटकसहित ५८ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाएको थियो । चीन भारत सीमामा दुई देशबीचको सेनाबीच तनाव बढेपछि भारतले भारतको सम्प्रभुता, भारतको सुरक्षामा खतरा पैदा भएकाले टिकटक सहितका चिनियाँ एप बन्द गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्