बिशेष

राहतका लागि वडा कार्यालय पुगेका जाजरकोटका भूकम्प प्रभावित रित्तो हात फर्किए (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक २४ गते २०:३७
राहतका लागि वडा कार्यालय पुगेका जाजरकोटका भूकम्प प्रभावित रित्तो हात फर्किए (भिडियो रिपोर्टसहित)

२४ कात्तिक २०८० जाजरकोट। संघदेखि प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरूले भूकम्पपीडितलाई चाँडोभन्दा चाँडो र व्यवस्थित रूपमा खाद्यान्नलगायत अत्यावश्यक राहत वितरण गर्ने वाचा गरेका थिए । तर, जाजरकोट भूकम्पको एक साता बित्दा समेत एक छाक खानाका लागि स्थानीय तहका कार्यालयमा घण्टौँ कुर्दा पनि प्रभावितहरू रित्तै फर्किन बाध्य भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने राहत वितरणमा कुनै कसर बाँकी नराखेको दाबी गर्नुहुन्छ । एकद्वार प्रणाली अपनाएको दाबी गर्ने सरकारले विभिन्न संघसंस्थाले मनलाग्दी राहत बाँडेको देखेको छैन ।

यो दृश्य, जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर २ को कार्यालय परिसरको हो । भूकम्पपीडितले आफू र आफ्नो परिवार भोकै रहेको याचना गर्दा पनि वडा कार्यालयका प्रतिनिधिले राहत नआएको भन्दै रित्तै फर्काए ।

भूकम्पका कारण घरबारविहीन बनेका पीडितलाई राहत लिन हरेक दिन यसरी धाउनुपर्ने बाध्यता छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने देश दौडाहामा निस्कँदै जाजरकोट र रुकुम पश्चिममा राहत पुगेको दावी गरिरहनुभएको छ । यतिसम्मकी प्रचण्डले शुक्रबार रोल्पामा राहत वितरणमा कुनै कसर बाँकी नराखेको दावी नै गर्नुभयो ।

प्रधानमन्त्रीले दावी गरिरहँदा बारेकोटमा भने पीडित यसरी कार्यालय परिसरमा राहतको पर्खाइमा थिए ।

कोही त्रिपालमा छन् । कोही खुला आकाशमुनि खाना पकाउँदैछन् । घर भत्किएको छ । माटोले लत्ता–कपडा र रासन पुरिएका छन् । अन्तर्राष्ट्रिय मुलुकबाट करोडौँ मूल्य बराबरको राहत सामग्री आएको छ । कुटनीतिक मर्यादा मिच्दै क्षणिक चर्चाका लागि उपप्रधानमन्त्रीहरु विमानस्थल नै पुगेर विदेशी सहयोग हाँसीहाँसी स्वीकार गर्ने क्रम रोकिएको छैन । तर, ती राहत कहाँ पुगे रु कतिले पाए र कति जनाको अनुहारमा उपप्रधानमन्त्री जस्तो मुस्कान देखियो पत्तो छैन । बारेकोटवासी भने बिहानदेखि बेलुकासम्म राहतको पर्खाइमा रहनुभएको विकल्प छैन ।

मन्त्रिपरिषदको निर्णय सुनाउँदै गर्दा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प पीडितका नाममा दुई पोका चाउचाउ लिएर सेल्फी खिच्न प्रतिबन्ध गरेको दावी गर्नुहुन्छ ।

सरकारले त राहत वितरणमा एक द्वार नीति अवलम्बन गरेको दावी गरेको थियो । तर, अहिले पीडितले पाएको राहत भनेकै संघसंस्थाले लगेर दिएको मात्रै हो । केही संघसंस्था त सरकारको दावीलाई झुटो सावित गरिरहेका छन् । र, यसरी ब्यानर हालेरै प्रभावित भएको स्थानमा पुगेर राहत बाँडेर फर्किएका छन् ।

विपत्‌का बेला जात, धर्म, लिंगका कुरा छोडेर पीडितलाई सहयोग गर्नुपर्नेमा राहतमा राजनीति भइरहेको छ । राहत आउने क्रम रोकिएको छैन । तर, राहत नपुग्नु भनेको फेरि गोरखा भूकम्पकै झैँ राहत थुपार्न खोजेको देखिन्छ ।

एकातिर चामल कुहिने र अर्कातिर पीडितले खान नपाउने अवस्था सिर्जना हुँदै जाँदा नागरिकले राहतको नाममा राजनीति भएको प्रष्ट्याइसकेका छन् । यस्तो समयमा सार्वजनिक कार्यक्रममा उद्धार र राहतमा कुनै कसर बाँकी नराखेको दावी गर्दै आत्मसन्तुष्टि लिनुभन्दा खानेकुरा, लुगाफाटो र अस्थायी आवास वितरणमा राजनीति गर्न नहुने नागरिकको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्