धादिङमा भाइमसलामा म्याद गुज्रिएका अखाद्य वस्तु फेला

२०८० कार्तिक २४ गते १७:१०
धादिङमा भाइमसलामा म्याद गुज्रिएका अखाद्य वस्तु फेला

२४ कात्तिक २०८० धादिङ । धादिङका बजारहरूमा होलसेल तथा खुद्रा पसलेहरूले बिक्रीका लागि राखेको विभिन्न प्याकेटहरूमा म्याद गुज्रिएका र अखाद्य सामग्री फेला परेको हो।

दीपावलीका लागि तयार गरिएको भाइमसलामा राखिएका सामग्रीहरूको म्याद गुज्रिएको र अखाद्य वस्तु भेटिएको बजार अनुगमन समितिका संयोजक एवं धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।

पराजुलीका अनुसार अनुगमन गरी व्यापारीहरूलाई अखाद्य वस्तु बिक्री नगर्न निर्देशन दिइएको छ। ‘रङ प्रयोग गरिएका मिठाई तथा म्याद गुज्रेका खानेकुरा बिक्री गरे कानुनअनुसार कारबाही गर्छौँ,’ उहाँले भन्नुभयो, ‘हामी निरन्तर रूपमा अनुगमन गरिरहेका छौँ। दसैँअगाडि पनि धेरैलाई कारबाही गर्‍यौँ। सुरुमा सचेत गराउने र निर्देशन दिने हो। अटेर गरे नियमअनुसार कारबाही गर्छौँ।’

सिजनल व्यापारको मौका छोपेर व्यापारीहरूले गुणस्तरहीन तथा अखाद्य वस्तुको बिक्री–वितरण गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालय धादिङका उद्योग अधिकृत मेघनाथ गौतमले बताउनुभयो ।

‘तिहारका लागि तयार गरिएका भाइमसलामा राखिएका वस्तु अखाद्य मात्र होइन बढी मूल्यमा बिक्री–वितरण गरेकोसमेत भेटिएको छ। बिल लिनेदिने नगर्ने, भाइमसलाहरू आफैँ तयार गरी महँगोमा बिक्री गर्ने, म्याद गुज्रिएका सामग्रीसमेत हालेर बिक्री गरिएको पाइयो,’ उहाँले भन्नुभयो, ‘सदरमुकाम धादिङबेँसीका पसलहरूको हालत त यस्तो छ । प्याकिङ गरेर ग्रामीण क्षेत्रका पसलहरूमा पुग्ने सामग्री झनै मिति गुज्रेका हुने गरेका छन्।’

उपभोक्ता आफैँ पनि सचेत हुन आवश्यक रहेको भन्दै गौतमले खानेकुरा किन्दा म्याद गुज्रेको छ–छैन भन्ने यकिन गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *