एक महिनामा भित्रिने रेमिट्यान्सको कीर्तिमान, असोजमा भित्रियो १ खर्ब ३६ अर्ब
१ लाख १३ हजारले लिए श्रम स्वीकृति
२४ कात्तिक २०८० काठमाडौं । असोजमा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो ।
चालुआर्थिक वर्ष २०८०–८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस महिनासम्म भित्रिएको रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ३० प्रतिशत धेरै हो ।
अघिल्लो वर्ष असोजमा विप्रेषण आप्रवाह १६।८ प्रतिशतले मात्र बढेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार असोजसम्म अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको छ ।
यो अघिल्लो वर्षको तुलनामा भने कम हो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १ लाख ४७ हजार ९३२ ले अन्तिम श्रम स्वीकृति र ५७ हजार ८६१ जनाले पुनः श्रम स्वीकृति लिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
चालु खाता तेस्रो महिना लगातार बचतमा छ।
गत असारमै ७२ अर्ब घाटामा रहेकको चालु खाता असोजमा ५९ अर्ब बचतमा पुगेको छ। शोधनान्तर बचत ९९ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। विदेशी मुद्राको सञ्चिति पनि निरन्तर उकालो लागेको छ।
असोजसम्म १६ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति छ। यो रकम भदौको तुलनामा ४४ अर्ब १९ करोड रुपैयाँले बढी हो।
समष्टिगत माग घट्दो दरमा रहेकाले मूल्य वृद्धि केही घटेको छ। भदौमा ८।५ प्रतिशत रहेको महँगीदर असोजमा ७।५ प्रतिशतमा झरेको छ। यो वर्ष महँगी साढे ६ प्रतिशतमा सीमित राख्ने सरकारको लक्ष्य छ।
प्रतिक्रिया