बिशेष

जाजरकोट भूकम्पमा घाइते एक जनाको मृत्यु

हिमालय टिभी
२०८० कार्तिक २४ गते १३:०३
जाजरकोट भूकम्पमा घाइते एक जनाको मृत्यु

२४ कात्तिक २०८० जाजरकोट । जाजरकोट भूकम्पमा परेर घाइते भएका एक जनाको उपचारको क्रममा आज विहान मृत्यु भएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरोज विष्टको मृत्यु भएको हो । योसँगै रुकुम पश्चिमा भूकम्पबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ । जाजरकोटमा १०१ जनाको मृत्यु भएको थियो ।

कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्र भएर ६.४ म्याग्निच्यूडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या १५४ पुगेको छ । यस्तै रुकुम पश्चिममा भूकम्पका कारण मृत्यु भएकाका परिवारलाई आजदेखि राहत रकम वितरण गरिँदैछ ।

सरकारले भूकम्पमा परि मृत्यु भएकाका परिवारका लागि दुई लाख रुपैयाँ दिने घोषणा गरेको थियो । त्यही रकम आजदेखि वितरण गरिने रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो ।

आज सानीभेरी गाउँपालिकाबाट राहत रकम वितरण थालिनेछ । सानीभेरीमा भूकम्पमा परि १० जनाको मृत्यु भएको थियो । यस्तै, भोलि आठबीसकोट नगरपालिकामा राहत रकम वितरण गरिने छ । आठबीसकोटमा भूकम्पका कारण ४२ जनाको मृत्यु भएको थियो ।

जाजरकोटमा भने नगद राहत वितरणमा समय लाग्ने भएको छ । अहिले राहत वितरणमै ध्यान केन्द्रित भएकाले नगद राहत वितरणमा समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताउनुभयो ।

मृत्यु भएकाका कानुनी हकवालाको पहिचान, मृत्यु दर्ता, प्रहरी मुचुल्कालगायत प्रक्रिया पूरा गर्न बाँकी नै रहेकाले नगद राहतका लागि पीडितले अझै केही समय पर्खनु पर्ने उहाँको भनाइ छ । भूकम्प प्रभावित क्षेत्रमा राहत अभाव भएको छ । भूकम्प गएको एक हप्ता बितिसक्दा समेत धेरैजसो पीडितले राहत पाउन सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *