भूकम्प प्रभावित क्षेत्रमा भीभीआइपी र भीआइपीको लर्को, पीडितलाई दु:ख (भिडियो रिपोर्टसहित)
२१ कात्तिक २०८० काठमाडौं । शुक्रबार राति जाजरकोटको रामिडाडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी १५३ जनाको मृत्यु भयो । ३५ हजारभन्दा बढी घरमा क्षति पुगेको छ ।
प्रभावितले चिसो रात कटाउने उपायको खोजी गरिरहेका छन । तर अवस्था बुझ्ने नाममा अतिविशिष्ट र विशिष्टको भ्रमणले पीडितलाई ढाडस र राहतभन्दा आहत दिइरहेको छ ।
राहतको आशामा बसेका जाजरकोट भूकम्प पीडितलाई यतिवेला चिसोबाट जोगिन पाल चाहिएको छ, भोग मार्न खाद्यान्न चाहिएको छ । नेताका आश्वासन होइन । तर, पर्यटक झैं राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको जाजरकोट र रुकुमपश्चिममा लर्को नै लागेको छ । उनीहरु राहत लिएर गएका होइनन्, आफ्नो उपस्थिति देखाएर प्रभाव पार्न चाहन्छन् । तर, पीडित दिक्क भइसकेका छन् । केसम्म लजास्पद भएको छ भने राष्ट्रपति रामचन्द्र पौडेल चढेको हेलिकप्टर अवतरण गराउन पीडित बसेको पाल नै हटाइयो, पीडितलाई हुत्याइयो । योभन्दा नौटंकी के हुन्छ र ?
सोमबारमात्र युरोपको १० दिने भ्रमण स्थगित गर्नुभएका राष्ट्रपति पौडेलले वाहवाही बटुल्नुभएको थियो । तर, उहाँ भूकम्प क्षेत्रमा पुग्ने उच्चतहको अर्को पर्यटक बन्नुभएको छ ।
राष्ट्रपति पौडेलले शाही शासनमा झैं राजाले जानकारी लिएजस्तै जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभयो । घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन आग्रह गरेपछि राष्ट्रपति पौडेलले भन्नुभयो( ‘तपाईंहरूका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी त्यसको व्यवस्था हुन्छ। चिन्ता गर्न पर्दैन। म सरकारसँग कुरा गर्छु ।’
आलंकारिक राष्ट्रपतिले भन्ने यत्ति नै हो । राष्ट्रपतिको हातमा केही छैन, गर्ने सरकारले नै हो । राष्ट्रपतिको सवारीले पीडितलाई भावनात्मक भन्दा अर्को कुनै सहयोग मिल्ने वाला छैन ।
बरु उल्टै भूकम्प पीडितको उद्धार र राहतमा खटिएका सुरक्षाकर्मीदेखि लिएर समन्वय गरिरहेका प्रमुख जिल्ला अधिकारीसम्म राष्ट्रपतिको ताउरमाउरमा लाग्छन् । राष्ट्रपति अतिविशिष्ट मानेर त्यही अनुसारको सुरक्षादेखि हरेक प्रोटोकल बनाइएको हुन्छ । सुरक्षाकर्मीदेखि लिएर राज्यका संयन्त्र प्रोटोकल पूरा गर्न लाग्दा अन्य काम अलपत्र पर्छ । त्यही भयो, पीडितलाई विस्थापित गरेरै राष्ट्रपतिलाई स्वागत गरियो । यो दृश्य हेर्नुहोस् ।
राष्ट्रपतिमात्र होइन, शुक्रबार राति भूकम्प गएपछि शनिबार विहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रभावित क्षेत्र पुग्नुभयो । प्रधानमन्त्रीले शुरु गरेको स्थलगत अवलोकनको सिलसिला उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ, पूर्णबहादुर खड्का, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, उपसभामुख इन्दिरा रानामगर, पूर्वउपप्रधानमन्त्री रवि लामिछने, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासहित सबैजसो मन्त्री भूकम्प प्रभावित क्षेत्र पुगेका छन । भूकम्प प्रभावित क्षेत्रमा अतिविशिष्ट र विशिष्टको भ्रमण यो नै अन्तिम हुने देखिदैन ।
नेपालमा त काम भन्दा पनि हल्ला बढी पिटाउनु पर्नेछ । म पनि प्रभावित क्षेत्रमा पुगें है भनेर राष्ट्रप्रमुख, सरकार प्रमुख, मन्त्री, सांसद र संघसंस्थाका प्रतिनिधिलाई पनि देखाउनु छ । यसले पीडितलाई राहत भन्दा पनि घाउमा नुनचुक पो छर्किइएको भन्ने ख्याल कसैले गरेका छैनन । सरकार प्रमुखले विज्ञ टोली पठाएर बस्तुस्थिति बुझ्न लगाएर त्यस अनुसारको काम गर्ने थिति बसालेको भए प्रभावित क्षेत्रमा दिनहुँ जसो विशिष्ट भनिएकाहरुको ताँती लाग्ने अवस्थाको अन्त्य भइहाल्थ्यो ।
देशमा संघीयता आयो गाउँगाउँमा सिंहदरबार पुर्याइयो भनेर डंका पिट्ने प्रधानमन्त्री, मन्त्रीहरु, दलका नेतादेखि सांसदसम्म राहतका नाममा पीडितलाई पीडा दिन किन पुग्छन ? प्रभावित क्षेत्रमा काम गर्नका लागि स्थानीय सरकार छ, प्रदेश सरकार छ । त्यसलाई बलियो बनाएर प्रभावकारी रुपमा काम गर्न दिनुपर्छ । संघीय सरकारले नीति र कानूनी अप्ठ्यारा छन भने त्यसलाई फुकाउने हो । स्रोत र साधन अपर्याप्त भए दिने हो न कि आफू नै दलबलसहितको हुल बाँधेर उद्धार र राहतको काम प्रभावित पार्ने हुँदैहैन । नेताले हैन नीतिले काम गर्ने ठाउँ दिने हो । काम गरेको हल्ला गर्ने हैन कि कामले नै हल्ला गर्ने अवस्था बनाउने हो ।
प्रतिक्रिया