भूकम्प पीडितलाई तत्काल उद्धार, राहत र पुनर्स्थापना गर्न कांग्रेसको आग्रह
२१ कात्तिक २०८० काठमाडौं । नेपाली कांग्रेसले भूकम्प पीडितलाई तत्काल उद्धार, राहत र पुनर्स्थापना गर्न आग्रह गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटरमा भेटेर यस्तो आग्रह गरेका हुन् ।
कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि तत्कालीन र अल्पकालीन उपायहरुबारे सुझाव दिँदै प्रभावित क्षेत्रमा त्रिपाल, खाद्यान्न, औषधि, लत्ताकपडाहरु युद्धस्तरमा उपलब्ध गराउन आग्रह गरेको छ ।
स्थानीय तहको नेतृत्वमा, सुरक्षा निकाय, निजी क्षेत्र, स्थानीय रुपमा कृयाशिल राजनैतिक दलहरु र संघसंस्था सम्मिलित ‘सहजीकरण साझा संयन्त्र’ निर्माण गर्न काँग्रेसको सुझाव छ ।
राहत, उद्धार र पुनर्स्थापनाको कार्यमा एकद्वार प्रणाली अनुशरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिएर संघीय सरकारको अनुगमन र सहजीकरण गर्नु उपयुक्त हुने कांग्रेसको राय छ ।
प्रदेश सरकारको नेतृत्वमा स्थानीय सरकारले नै पुनर्स्थापना तथा पुनर्निर्माण गर्ने कार्य योजना बनाउनु पर्ने भन्दै कांग्रेसले स्थानीय सरकारमा विपद् जोखिम व्यवस्थापनको स्थानीयस्तरबाटै नेतृत्व हुने गरी जनशक्तिको व्यवस्थापन गर्न पनि सुझाव दिएको छ । काँग्रेसले ५० लाखको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीले पनि भूकम्पपीडित र प्रभावितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरु बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई चेक हस्तान्तरण गरेका हुन् ।
मन्त्री, सांसद, जनप्रतिनिधि एवं राजनीतिक नियुक्ति भएका व्यक्तिबाट १५ दिनबराबरको पारिश्रमिकबाट राहत कोषमा रकम उपलब्ध गराइएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
प्रतिक्रिया