देश शोकमा रहेका बेला मन्त्री र नेताको मोह विदेश भ्रमणमा (भिडियो रिपोर्टसहित)
२० कात्तिक २०८० काठमाडौं । मुलुक अहिले शोकमा छ। जाजरकोटको भूकम्पबाट १ सय ५३ जनाले ज्यान गुमाएका छन् भने ९५ जना उपचाररत छन् । तीन हजार भन्दा बढी घर तहसनहस भएका छन् । भूकम्पपीडित राहतको पर्खाइमा छन् ।
आठ वर्षको अन्तरमा नेपाल दोस्रो पटक प्राकृतिक प्रकोप भइरहँदा नेता र मन्त्री भने विदेश भ्रमणमा गइरहेका छन् । सुरक्षा प्रमुख विदेशमै छन् । जनदबाब थेग्न नसकेपछि राष्ट्रपतिको विदेश भ्रमण रद्द भएको खबर बाहेक अन्यको आएको छैन । राष्ट्रिय शोकको यो घडीमा के नेता र मन्त्रीलाई विदेश भ्रमण गर्ने नैतिकताले दिन्छ रु आम नागरिकले प्रश्न गरिरहेका छन् ।
जाजरकोट भूकम्पमा परी मृत्युवरण गर्नेको सामुहिक दाहसंस्कार गर्न लैजाँदै गरेको यो दृष्यमा सुनिएको यो क्रन्दन, सायद नेता र सरकारमा रहेका मन्त्रीसम्म पुगेको छैन होला । यदि पुग्थ्यो भने नेता, मन्त्रीदेखि सुरक्षा निकाय भ्रमणमा जान तयार हुँदैन थिए होलान् र गएका पनि भ्रमण छोट्याएर फर्किन्थे होलान् । जनदबाब र जनआक्रोश बढ्दै गएको देखेरै होला, राष्ट्रपति रामचन्द्र पौडेलले १० दिने लामो युरोप भ्रमण स्थगित गर्नुभयो । तर यो हिम्मत अन्य नेता, मन्त्री र सुरक्षा प्रमुखले देखाउन सकेका छैनन् ।
दुःखको यस घडीमा नागरिकमा मानवीयता, समवेदना देखिएको छ । एकले अर्कोलाई पर्दा सहयोग गर्नुपर्छ भन्ने भावना उभरेर आएको छ । शोकको यो घडीमा सरकारले अभिभावक भएको महसुस गराउन खोजिरहेको छ । तर, सरकारमा सहभागी मन्त्री, नेता भने भ्रमणमा जाँदै छन् ।
हुन त इजरायल–हमास द्वन्द्वमा १० नेपाली मारिएपछि शोक घोषणा गरेकै दिन प्रधानमन्त्री नाचगानसहितको कार्यक्रममा सहभागी भएर शोककै धज्जी उडाएको धेरै भएको छैन । प्रधानमन्त्रीकै क्याबिनेटका मन्त्रीले त्यो पदचाप किन छोड्थे र रु तत्कालीन प्रधानमन्त्री सुशील कोइराला एफ्रो एसियाली देशहरुको सम्मेलनमा भाग लिन इन्डनेसिया पुगेका बेला ७२ सालमा भूकम्पले क्षति पु¥याएको खबर पाएपछि भ्रमण छोट्याएर स्वदेश फर्कनुभएको थियो । तर यहाँ फर्कने भन्दा जानेको लर्को छ ।
कोको जाँदैछन् विदेश भ्रमणमा ?
–जाजरकोट भूकम्पको भोलिपल्टै शनिबार राति चीनको शाङ्हाईमा आइतबारबाट शुरू भएको छैटौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल चीन भ्रमणमा
–कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल कात्तिक २१ मा चीनको भ्रमणमा निस्किंदै
–नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगै मन्त्री भुसाल साताव्यापी लामो चीन भ्रमणमा जाँदै
–पेरिसमा हुने यूनेस्कोको महासभामा भाग लिन शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई पनि कात्तिक २० मा फ्रान्समा
–चीनको छोङ्छिङमा आयोजना हुने बेल्ट एन्ड रोड कन्फेरेन्स अन साइन्स एन्ड टेक्नोलोजी कार्यक्रममा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी पनि चीन भ्रमणमा
आर्थिक मन्दीले ग्रस्त भएको समयमा भूकम्पले जाजरकोट र रुकुम पश्चिम थङथिलो बनाउँदा अब पुनर्निर्माणमा धेरै खर्च लाग्छ । यो बेलामा खर्च कटौती गर्नुपर्नेमा मन्त्रीको भ्रमणमा थप खर्च हुन्छ । वैदेशिक सहयोग माग्न हतार गर्ने तर आफू भने ढुकुटी रित्याउन मन्त्री लागेका छन् ।
मन्त्रीको भ्रमण खर्च नियमावलीले दैनिक भत्तादेखि हवाई भाडासम्मको व्यवस्था गरेको छ । प्रधानमन्त्री, मन्त्रीले विजनेश क्लासको हवाइ टिकट पाउँछन् । सरकारले तोकेका बाहेकका बाँकी पदाधिकारी इकोनोमी क्लासमै यात्रा गर्नेछन् । त्यसबाहेक यही नियमावलीको अनुसूची ५ मा दैनिक भ्रमण भत्ता उल्लेख छ ।
तह रकम
विशिष्ट २२५ अमेरिकी डलर .दैनिक भत्ता)
प्रथम तह १७५ अमेरिकी डलर )दैनिक भत्ता)
द्वितीय तह १५० अमेरिकी डलर (दैनिक भत्ता)
त्रितीय तह १२५ अमेरिकी डलर (दैनिक भत्ता)
चौथो तह ९० अमेरिकी डलर (दैनिक भत्ता)
विशिष्ट श्रेणीमा रहने मन्त्रीले ११ सय २५ अमेरिकी डलरका दरले भत्ता पाउनुहुनेछ । एक जना बराबर १ लाख ४८ हजार रुपैयाँ राज्यको ढुकुटीबाट जानेछ । यी त माथिल्लो तहका मात्र भए अन्य दैनिक भत्ता औषतमा हेर्दा झण्डै ३ करोड राज्यकोषबाट खर्च हुन्छ। भूकम्पले क्षति पुगेको स्थानमा अहिले तीनै तहका सुरक्षा निकाय खटिएका छन् । तर सुरक्षा निकायका प्रमुख भने विदेशमा छन् ।
को को छन् विदेश ?
–सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल भारतको सीमा सुरक्षा बलको महानिर्देशक र नेपालको सशस्त्र प्रहरी बलका महानिरीक्षकबीच हुने वार्षिक बैठकमा भाग लिन भारतमा
–गृह मन्त्रालयका सचिव दिनेश भट्टराई विदेशमै
–राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल विदेशमा
देशमै ठूलो विपत्ति आउँदा समेत भूकम्पपछिको व्यवस्थापनको जिम्मा पाएको संस्थाको नेतृत्व गर्नुपर्नेहरूले फर्कनेतर्फ ध्यान दिएका छैनन् । इजरायल–हमास द्वन्द्व हुँदा नेपाल आउन तयार भएका कतारका राजाले भ्रमण नै स्थगित गरेका थिए । तर यहाँ त विदेश जानु नै ठूलो उपलब्धि ठान्ने नेता र मन्त्रीहरू देश शोकमा डुबेको बेला विदेश जान उद्दत छन् ।
यो बेलामा सरकारलाई राहत र पुनर्स्थापनामा ध्यान दिन झकझक्याउनुपर्ने हो । तर सत्ता गठबन्धनमै आबद्ध दलका नेता माधवकुमार नेपाल पनि विदेश मोहमा देखिनुभयो । देशले भोगेको शोकको समयमा पनि विदेश मोह त्याग्नै नसक्ने नेताहरूलाई के भन्ने ? के मन्त्रीहरू निर्देशन दिनैका लागि मात्रै हुन् ? के दलका नेता भनेको जनता सग्ला भएका बेला भोट माग्ने मात्रै हुन् ? के यो बेला नेताको दायित्व हुन्न ? यति पनि बुझ्न नसक्ने र विवेकहीन भएको संज्ञा दलहरू र मन्त्रीले कसरी दिन सकेका होलान् ? जनदबाब थेग्न नसकेर राष्ट्रपतिले भ्रमण स्थगित गरेपछि अब मन्त्री र नेतालाई त्यही निर्णय गर्न केले रोक्यो ? कृपया दुस्खको घडीमा जनताको घाउमा मल्हम लगाउन सक्नुहुन्न भने फेरि जनताको पक्षमा लडिरहेको गफ चाहिँ कृपया नदिएकै बेस् ।
प्रतिक्रिया