Main News

टिकटकमा अराजकता बढ्दो, नियमनमा तात्यो सरकार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० कार्तिक २० गते २०:४५
टिकटकमा अराजकता बढ्दो, नियमनमा तात्यो सरकार (भिडियो रिपोर्टसहित)

२० कात्तिक २०८० काठमाडौं । पछिल्लो समय मोबाइल प्रयोग गर्ने अधिकांश व्यक्ति टिकटकलगायत सामाजिक सञ्जाल चलाउँछन् ।

जसमा कतिपयले यसलाई अभिव्यक्ति प्रवाह गर्ने माध्यम बनाइरहेका छन् भने कतिपयले कमाइको माध्यम बनाइरहेका छन् । तर केहीले भने यी माध्यमको दुरुपयोग गरी सामाजिक सद्भाव विथोल्ने काम गरेका छन् । जसका कारण सरकारले टिकटक प्रयोगकर्तामाथि निगरानी बढाउन थालेको छ ।

गृह मन्त्रालयले शुक्रबार टिकटकको दुरुपयोगबारे प्रहरीको साइबर व्यूरोलगायत सरकारी निकाय र टिकटकको कार्यालय सिंगापुरका प्रतिनिधिसँग छलफल गरेको छ । उक्त छलफलबाट टिकटकमार्फत् सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेश फैलाउने, विशिष्टहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव विगार्नेहरुलाई कारबाहीको दायरामा ल्याउने निष्कर्ष निकालिएको छ । जसअनुसार अब प्रहरीले अश्लील खालका गतिविधि तथा सामग्रीहरु हटाउने र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाई कानूनी कारबाहीको दायरामा ल्याउने काममा प्रहरीले टिकटकको हेडक्वार्टरसँग समन्वय गर्नेछ ।

के हो टिकटक ?
चिनियाँ कम्पनी बाइट डान्सले सात वर्षअघि निर्माण गरेको सोसल मिडिया एप्लिकेसन टिकटक डाउनलोड नभएका स्मार्ट फोन अहिले सायदै होलान् । नेपालमा मात्र होइन, संसारभर टिकटकका प्रयोगकर्ता छन्, र ती बढिरहेका छन् । टिकटकका प्रयोगकर्ता जति बढ्दै गएका छन्, त्यति नै सुरक्षा र सामाजिक चुनौतीसमेत बढ्दै गएको छ । यसको पछिल्लो उदाहरण हो, टिकटकबाट सामाजिक सद्भाव बिगार्ने प्रयास भएको भन्दै गृह मन्त्रालयले त्यस्ता सामग्री रोक्नका लागि गरेको प्रयास ।

सन् २०२० मा जसरी विश्वभर कोरोना फैलियो र विश्वव्यापी लकडाउन भयो, त्यसै समयमा कोरोनाभन्दा तीव्र गतिमा टिकटक डाउनलोड भयो र यो तत्कालीन समयमा विश्वव्यापी महामारीबाट आक्रान्त बनेकाहरुको मन बहलाउने माध्यम बन्यो ।
तर त्यसपछि टिकटक मनोरञ्जनको साधन मात्र नभई कमाइको माध्यम पनि बन्यो र दुरुपयोगको गति पनि बढ्यो । अहिले आइपुग्दा कसैविरुद्ध आक्रोश, घृणा र अराजकतासमेत फैलाउने माध्यम बन्न थालेको छ । भारतलगायतका कयौँ देशमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ भने कतिपय देशले सुरक्षामा गम्भीर चुनौती निम्त्याएको भन्दै पटकपटक सचेत गराउँदै आएका छन् । आयरल्याण्डले त गत सेप्टेम्बरमा टिकटकलाई बालबालिकाको डेटाको गोपनीयता उल्लंघन गरेको भन्दै ३४ करोड ५० लाख युरो जरिवानासमेत गरेको थियो ।

नेपालमा चुनौती
टिकटकको माध्यमबाट पाइरेसी गरिएको वा मानहानी तथा सार्वजनिक बेइज्यती गिरएको भन्दै नेपाली प्रयोगकर्ताविरुद्ध केही सर्जकहरु उजुरी लिएर प्रहरीमा पुगेका उदाहरण छन् । यस्ता गुनासामा यथेष्ट कारबाही गर्न तथा ती सामग्रीलाई हटाउनसमेत नेपाल प्रहरीलाई मुस्किल पर्ने गरेको छ ।

तर नेपालमा साइबर क्राइमसम्बन्धी कानून नहुँदा यस्ता गतिविधि नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न सकिरहेको छैन । गम्भीर अपराधहरुमा विद्युतीय कारोबार ऐन २०६३ तथा मुलुकी अपराध संहिता ऐन २०७४ र मुलुकी देवानी संहिता ऐन २०७४ अन्तर्गत कारबाही हुने गरेको भए पनि अझै पर्याप्त हुन नसकेको गुनासो सुन्ने गरिएको छ । तर बालबालिका तथा महिलाहरुमाथि सोसल मिडिया लगायतबाट भइरहेका मन्द अपराध नियन्त्रणका लागि ठोस कानून छैन । जसका कारण कतिपय अवस्थामा जानी–जानी वा भूलवश हुने गतिविधिले यी बर्ग बढी पीडित हुने गरेका छन् ।

अर्कोतर्फ टिकटकलाई कमाइको माध्यम बनाइँदा जानीजानी अराजक गतिविधि गर्नेहरुको जमातसमेत बढ्दै गएको छ । योसँगै पदको दुरुपयोग गर्ने, कतिपय संवेदनशील क्षेत्र र सुरक्षाका दृष्टिकोणले गोपनियता कायम गर्नुपर्ने क्षेत्र समेत सार्वजनिक गरिदिने प्रवृत्तिले सुरक्षा चुनौतीसमेत बढाएको छ । नग्न तथा अर्धनग्न तस्वीरहरु पोष्ट गर्दा सामाजिक सद्भाव विथोलिन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *